‘घरपरिवारले त स्वीकार गरेन गरेन राज्यले पनि विभेद गरेको छ’

‘घरपरिवारले त स्वीकार गरेन गरेन राज्यले पनि विभेद गरेको छ’

काठमाडौं (पहिचान) मंसिर १९ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले राज्यका नीति तथा कार्यक्रममा आफ्नो समुदायलाई समेट्नु पर्ने बताएका छन् । उनीहरुले राज्यका नीति तथा कार्यक्रम यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री हुनुपर्नेमा जोड दिएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक भएकै कारण घर परिवारबाट टाढा बस्नु परेको भन्दै उनीहरुले आफ्नो समुदायमाथि हुँदै आएको विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । प्रस्तुत छ इन्सेक अनलाईनले तेस्रोलिंगी महिला र तेस्रोलिंगी पुरुषसँग लिएको प्रतिनिधिमुलक विचार :

शिल्पा चौधरी

मेरो जन्म दाङको राजापुर गाउँपालिकामा बालक(छोरा)को रुपमा भएको हो । हुर्कँदै जाँदा छोरीको अनुभूति गर्न थालेँ । म जन्मिएपछि  खुशियाली छाएको परिवारमा छोराको स्वभाव हाउभाउ फरक देखेपछि मलाई हेर्ने नजर परिवारबाटै फरक हुन थाल्यो । बाबुआमा छोरा जन्मिएकोमा खुशी थिए । जब म हुर्कनथालेँ छोरीको पहिचान चाहन थालेँ तब परिवारले विभिन्न किसिमका भेदभाव र लाञ्छना लगाउन थाल्यो । परिवारबाटै विभेद हुन थाल्यो । घरपरिवारले हेला गर्न थालेपछि घर छोडेर हिँड्न बाध्य भएँ । घरबाट हेपिएपछि मलाई समाजले पनि छिःछि र दुरदुर गर्न थाल्यो । मलाई बुझ्ने र मेरो भावना बुझ्ने मेरो कोही पनि थिएन । अहिले पहिलाको तुलनामा धेरै फरक र परिवर्तन भएको छ । तर, सन्तोष मान्ने ठाउँ आज पनि छैन । सबै भन्दा दुखद् कुरो संविधानले व्यवस्था गरेका अधिकारहरू पनि हामीले उपभोग गर्न पाएनौँ । मलाई सबैले शिल्पा भनेर चिन्छन् । मैले ‘अन्य’ भनेर नागरिकता त लिएँ तर मेरो नागरिकतामा नाम बलबहादुर चौधरी छ । मेरो पहिचानको नाम शिल्पा हो मलाई शिल्पाको नाममा किन नागरिकता नदिने ? पहिचानको आधारमा ‘अन्य’ लेख्दैमा मेरा डकुमेण्टले त त्यो झुट लुकाउन सक्दैनन् नी ! खै हाम्रो मानव अधिकार कहाँ छ ? संविधानको मौलिक हकमा गरिएका व्यवस्थालाई किन कार्यान्वयन गर्न नसकेको कि इच्छाशक्ति नभएको ? हामी जति पढेलेखेको भएपनि रोजगारीबाट वञ्चित हुनु परेको स्थिति छ । लोक सेवा आयोगमा हरेक समुदायका लागि आरक्षणको व्यवस्था गरेको हुन्छ हाम्रो लागि आरक्षण खै ? के लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू यो देशका नागरिक होइनन् ? यो प्रश्नको  जबाफ कहिले मिल्छ हाम्रो समुदायलाई ?

काजल चौधरी

बर्दियाको बाँसगढी नगरपालिका–३ मा जन्मेको मलाई तेस्रोलिङ्गी भएकै कारण घरपरिवारले  विभेद ग¥यो । समाजले पनि तिरस्कार ग¥यो । पटक–पटक मरेर बाँचिरहनु परेको छ । म जन्मँदा छोरा भएर जन्म लिएकाले घरमा धेरै खुशीयाली छाएको थियो । विस्तारै हुर्कँदै जाँदा मेरो हाउभाउ, प्रस्तुती केटीको जस्तो लाग्न थालेछ । यसरी मलाई केटीको जस्तो स्वभाव र व्यवहार देखेपछि इज्जत जाने डरले मलाई चार वर्षको कलिलो उमेरमा बर्दिया बाँसगढी घरबाट गुलरिया ल्याएर अरूको घरमा काम गर्नको लागि राखिदिए । काम गर्दै स्कुल जान्थेँ । पढाइमा म सधैँ पहिलो हुन्थे । तर, मेरो आर्कषण समलिङ्गी प्रति बढदै जान थाल्यो । त्यसपछि मलाई विद्यालयमा पनि साथीहरूले विभेद गर्न थाले । ‘हिँजडा, छक्का’ जस्ता विभेदजन्य शब्द ममाथि प्रहार हुन थाल्यो ।  मेरो यौनाङ्ग देखाउन भन्थे त्यत्ति बेला एकदमै पीडा हुन्थ्यो । शिक्षकहरूले पनि तिमी केटा हौ की केटी हौ भनेर बारम्बार सोध्थे । सबै साथीहरूका सामु यस्ता प्रश्न गर्दा असाध्यै पीडा हुन्थ्यो । मेरो यही फरकपनाकै कारण मलाई विद्यालयमा पनि विभिन्न अवसरबाट वञ्चित गरिन्थ्यो । संविधानले पहिचानको आधारमा नागरिकता दिने व्यवस्था गरेको भएपनि अहिलेसम्म प्राप्त गरिएको छैन । मलाई सबैले काजल नामले चिन्छन् । तर, मेरो नागरिकताको नाम अभिनाश चौधरी हो ।सबैले धेरै दुःखका बाबजुद अहिले मलाई तेस्रोलिङ्गी अभियान्ताका रूपमा धेरैले चिन्छन् । अहिले घरमा पनि राम्रै व्यवहार भएको छ । सरकारले हाम्रो पहिचानलाई सुरक्षित गराइदिएर हाम्रो सुरक्षित साथ बाँच्न सक्ने गरी मानव अधिकारको प्रत्याभूति गराइ दिनुपर्छ । हाम्रा मुद्दाहरूका विषयमा हरेकको मेडिकल रिपोर्ट लिएर आउ प्रमाणको रूपमा भन्छन् हामी कसरी प्रमाण ल्याउने ? त्यसकारण सरकारले हाम्रो अधिकारको सम्बोधन यथाशीघ्र गर्नुपर्छ । र, हाम्रो समुदायलाई आर्थिक सशक्तिकरणका कार्यक्रम र सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्नुपर्छ ।

प्रेणा विष्ट

तेस्रोलिङ्गी भएर जन्मनु मेरो अपराध हो र ? किन हाम्रो पीडालाई घरपरिवार र समाजले अहिले पनि बुझ्न र स्वीकार गर्न सक्दैन ?  हामीहरू मानव अधिकारको आधारभुत अवसरबाट समेत वञ्चित हुनु परेको छ । खै कस्ले बुझ्छ हाम्रो पीडा ?किन हाम्रो पीडाका विषयमा कसैले बोल्दैनन् ? हामीलाई पलपलमा भेदभाव र लाञ्छना किन लगाइन्छ ?  राज्यले पनि हाम्रो समुदायलाई समेटेर लैजान सकेको छैन चाहे त्यो शिक्षामा होस् चाहे स्वास्थ्य र रोजगारीमा होस् हामीमाथि ठुलो विभेद छ । यी प्रश्नका जबाफ हामीले कहिले पाउँछौ ?

रेशम न्यौपाने

तेस्रोलिङ्गी भएर जन्मनु मेरो दोष थिएन । घर परिवार र समाजले मलाई स्वीकार गरेन । अरु सन्तान एकछिन नदेख्दा बाबुआमा छटपटिन्छन् । तर हामी तेस्रोलिङ्गी सन्तानलाई माया गर्ने बाबु आमा पाउन हाम्रो भाग्यमै छैन । जति ढिला गरेपनि जहाँ गए पनि बिरामी परेर मर्न लागे पनि हामीलाई माया गर्ने घरपरिवार र समाज भेटिन गार्‍हो छ । मलाई गर्ने व्यवहार र अन्य सन्तानलाई गर्ने व्यवहार धेरै फरक हुँदो रहेछ । कहिलेकँही त लाग्छ म पनि नौ  महिना गर्भमा बसेर जन्मेको हुँ, किन मलाई यस्तो व्यवहार ? यस्तो पीडाले मलाई पटक पटक जिउँदो लास बनाउँछ । घरपरिवार हेला, दुव्र्यवहार, समाजको छिःछि र दुरदुर विभिन्न किसिमका लाञ्छना लगाउन छाड्ने समाज निर्माण गर्नु आवश्यक छ । समाजले जे जस्तो गरेपनि केही सहन सकिँदोरहेछ । घरपरिवार, जन्मदिने बाबु आमाले गरेको व्यवहार सहन र खप्न गार्‍हो हुँदोरहेछ । घरपरिवारले दिएको चोटठूलो हुँदो रहेछ । अहिले पनि हामीले चाहे अनुसार आफ्नो पहिचान पाउन सकेका छैनौ । राज्यले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई अपनाउन सकेको छैन । यो दुखद् पक्ष हो । राज्यका हरेक नीति तथा कार्यक्रम बनाउँदा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकमैत्री बनाउनुपर्छ ।

विनोद विसी

छोरीको रूपमा स्याङ्गजामा जन्म भयो । पछि पुरुषको रूपमा प्रस्तुत गर्न थालेँ । परिवारले सहजै स्वीकार गरेन । मेरो बहिनी पनि म जस्तै छिन् । मलार्ई घरपरिवारले बहिनीको तुलनामा केही माया गर्थे । तर, अन्य सन्तानलाई जति माया भने परिवारबाट पाइएन । हामी घरपरिवार, समाज र राज्य सबैपक्षबाट ठगिएको हेपिएर बस्नुपरेको छ । घरपरिवारको लाञ्छनाले सधैँ मुटु चसक्क पार्छ । तेस्रोलिङ्गी भएकै कारण पैत्रिक सम्पत्तिबाट म वञ्चित भएँ । बाबु आमाले दुई जना दाजुभाइलाई सम्पति दिए । हामी दुई जना यही समुदायको भएका कारण सम्पत्तिबाट पनि वञ्चित भयौँ । घरपरिवारले त हामीलाई स्वीकार गरेन गरेन राज्यले पनि हामीलाई विभेद गरेको छ । देशमा रहेका तीनै तहका सरकारले लिङ्गको महल परिवर्तन गरेर नागरिकता दिएर मात्र पहिचान सहितको इच्छाइएको नाम राख्न पाउने स्पष्ट व्यवस्था हुनुपर्छ । त्यस्तै समलिङ्गी विवाहलाई मान्यता तथा वैवाहिक समानता कायम गर्नुपर्छ । समलिङ्गीले राख्ने धर्म सन्तानका लागि स्पष्ट कानुन हुनुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा समान अधिकारको व्यवस्था हुनुपर्छ । राज्यका हरेक तहमा हाम्रो समुदायको अर्थपूर्ण सहभागितालाई जोड दिनुपर्छ ।

मनिला न्यौपाने

तुल्सीपुर उपमहानगरपालिकामा बालकको रूपमा जन्मेँ । मेरोे नागरिकताको नाम धर्मराज शर्मा हो । फरक भएकै कारण घरपरिवार र समाजबाट धेरै पीडा खेपेको छु । सहाराविहीन जस्तै पीडा खेप्नु परेको छ । घरपरिवार बाबाआमा सबैले छोरा भएर हिँड भनेर दबाब दिए । तीन वर्षसम्म बोलाचाल केही भएन । मानव अधिकारको विषय त हाम्रा लागि आकाशको फल आँखा तरी मर जस्तै भएको छ । हामीलाई प्रहरी प्रशासनले पनि त्यत्तिकै दुःख दिने गर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा हामीलाई बन्देज लगाइएको जस्तै छ । हरेक विज्ञापन खोल्दा महिला र पुरुष भनेको हुन्छ हाम्रो समुदायको पहिचान खै ? यस्तो अवस्थामा मानव अधिकारको प्रत्याभूति कसरी गर्न सकिन्छ र ? तिनै तहका सरकारले नीति तथा कार्यक्रम ल्याउँदा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकमैत्री बनाउनुपर्छ । रोजगारीको श्रृजना गर्दा आरक्षणको व्यवस्था गर्नुपर्छ  ।

आनिक राना

म जन्मँदा बालक भएर जन्मेँ । विस्तारै हुर्कँदै जाँदा मेरो स्वाभाव महिलाको हुन थाल्यो । यसरी महिलाको स्वभाव देखाएकै कारण धेरै हिंसा खेप्नुपर्‍यो ।  म अभागी भनौँ या मेरो र्दुभाग्य १० वर्षको उमेरमा आमालाई गुमाएँ । त्यसपछि मेरो झनै दुःखका दिन सुरू भए । एकतातिर सौतेनी आमाको व्यवहार र अर्कोतिर मेरो चरित्र महिलाको जसले गर्दा एउटै घरमा बास बस्न सक्ने अवस्था रहेन । जब म १६ वर्षको भएँ तब मलाई घरबाट निकालिदिए । जीवनमा धेरै हण्डर र ठक्कर खाएँ । लिङ्ग एउटा लिएर जन्मेको चरित्र अर्कै मेरो भेषभूषा अर्कै देखेपछि समाजले पनि मलाई प्रश्न गर्न थाल्यो । मलाई अनैकौँ उपनाम जोडेर मेरो खिल्ली उडाउन थालियो । म निरीह थिएँ । समाजमा एक्लो थिएँ । तर, अहिले यही समुदायको हितका लागि काम गर्ने अभियन्ताका रूपमा समाजमा प्रस्तुत भएको छु । देशमा तीन तहका सरकार छन् । राज्यका हरेक तहमा हाम्रो समुदायको अर्थपूर्ण सहभागिता बनाइनुपर्छ । राज्यका हरेक नीति तथा कार्यक्रम बनाउँदा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मैत्री बनाइनुपर्छ । शिक्षा, स्वास्थ्य तथा रोजगरीको सृृजना गर्दा आरक्षणको व्यवस्था गरिनुपर्छ । यति कुरामा राज्यले ध्यान दिन सके यो समुदायले मानव अधिकारको अनुभूति गर्न सक्नेछ । यसका लागि सबैले साथ दिन जरूरी छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading