काठमाडौं (पहिचान) पुस ७ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि २०६४ साल पुस ६ गते सर्वोच्च अदालतले दिएको आदेश ऐतिहासिक मानिन्छ । यो आदेशपछि नै हामी जस्ता समलिंगी, तेस्रोलिंगी समुदायले नेपाली समाजमा पहिचान पाउन थालेका हौ । पहिचान पाउन थालेको दिनको स्मरणमा मैले यो कविता लेखेको हुँ । मैले यसअघि नै मेरो आफ्नो बारेमा यसै पहिचान अनलाइनमा लेखिसकेको छु ।
……………………
१, मौजुद भए सन्जोग भ्रुण कोखमा, के दोष नासमझको,
देख्न एउटा जननेन्द्रीय नजरमा, यो मन अर्को थियो ।
२, मेरो बुझ बिनै जहान मुलुकले, शिश्न भिराइ दियो,
बालक सानु अज्ञानी मगज यो, सामान्य बित्तै थियो ।
३, अयन प्रकृतिको प्रवीण हुँदैगए, बोध भयो स्वत्व को,
थाले काट्न कुरो निकेत ग्रामेले, जहान पृथक भयो ।
४, सखा स्कूलीका चिनापर्ची सबै, पराई हुँदै गए,
पार्थक्य अविभुर्त बुझेर मनको, अकटिलो मान्दा भए ।
५, हिड्दा पथ माहा नराधम सरी, अप घुइरो हुने,
बिद्वान हो वा नजाती मनुज, सिंगारु कुनाम दिने ।
६, हैन मनुज यो भनेझैं मनले, दिगमिगी मान्दछन,
मुखमा चिल्लो घसेर पेट चित्तमा, छुरा लुकाउदछन ।
७, तर खोट यो हैन स्वयम्हरुको, सोच्दैन कोही पनि,
थिए सत्यमा पनि त यी सबै, सृष्टि देवताको भनी ।
८, बिज्छ मुटुमाहा भनेका तिमीले, लाजभांड शब्दहरु,
सिक श्रुति ग्रन्थ खोजेर जनहो, बुझ्छौ पर मन बरु ।
९, कति तुजुक गर्छौ समाजीहरुहो, अहमत्याइं गर्छौ कती,
त्यति नै दिगीमिगी गर्छु तिमीलाई, गर्छौ तिमीले जती ।
१०, खुसी हो मनमा इच्छाको गांसपो, निलिन्छ निल्दा पनि,
जानी फकारछौ किनत तिमी यो, छिपाउछौ अबुझ बनी ।
११, बेइन्साफ किन हे सरकारियाहरु, अपकृत गर्छौ किन,
तिम्रो मर्जी हुने अर्कोको चाहमा, के गार्हो नियां दिन ।
१२, तुल्याउ अधिनियम शासकीयहरु हो, हुर्मत देउ यो देशमा,
तिमी झैं जन्म सिद्द हुं मुलुकको, स्वतत्व खोजौ कांहा ।
१३, भन्छन भन्न त कर्म गतिले, बनिन्छ ठूलो भनि,
कर्मकै पथ बन्द यो मुलुकमा, के गर्नु इलम पनि ।
१४, कस्तो चित्त तगदिर लेख्नेहरु हो, ममत्व परत्व यो,
किन भाग्य तुल्य सदृश भएन, जगत्मा मनुजको ।
१५, बन्छौ सत्कार परिणाम जति तिमी, हुर्मत उहीँ अन्सारको,
सदाचार सधै मनुजको असलियत , काईदा संसारको ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.