यौनिक तथा लैंगिक अल्पसंख्यकलाई तालिम दिन १० लाख विनियोजन

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई तालिम दिन १० लाख विनियोजन

सुदुरपश्चिम प्रदेश (पहिचान) पुस २३ – सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले राज्यको नजरमा सम्पुर्ण नागरिक समान रहेको बताएका छन् । उनले कुनै पनि नागरिक माथि अन्याय हुन नदिने र अरु समुदायझै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई काखा पाखा नगर्ने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले महेन्द्रनगरमा यौनिक तथा लैंगिक अल्पसंख्यकसंग विकासमा सहभागिता विषयमा गरेको अन्तरक्रियामा मन्त्री सुवेदीले लोक सेवा आयोगको विधेयकमा यो समुदायका व्यक्तिका लागि रोजगारी लगायतको सहभागिता र समावेशीतामा प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले यो समुदायको हितका निमित्त ४५ दिने सीपमुलक तालिम संचालन गर्न १० लाख बजेट विनियोजन गरेको जानकारी दिए । व्यवसायिक सीप विकास तालिम केन्द्र धनगढी कैलालीलाई अख्तियारी समेत पठाएको उनले बताए । यो समुदायको हितका लागि विगत १२ वर्ष देखि सामाजिक कार्य गर्दै आएको सुदूरपश्चिम समाजलाई सहभागि छनोट गर्ने जिम्मेवारी समेत दिइएको उनको भनाई छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद एवं संसदीय सामाजिक विकास समिती सदस्य लाल बहादुर खड्काले कृषि उत्पादन तथा व्यवसायिक क्षेत्रमा संलग्नता गराउन र दीर्घकालीन आत्मनिर्भर कार्यक्रममा विशेष जोड दिनु पर्ने बताए । उनले यो समुदायका लागि एकिकृत भइ कृषि सहकारीमा आधारित रहि आर्थिक गतिविधिमा संलग्न हुनुपर्ने बताए । यो समुदायको कानूनी विषयहरु सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाए ।

सामाजिक विकास मन्त्रालयका कानून अधिकृत दान बहादुर सुनारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कानूनी प्रावधान सम्बन्धि जानकारी तथा कार्यक्रमबारे जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयको सुदूरपश्चिम प्रदेश कैलालीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय सम्बन्धि कानूनी व्यवस्थाबारे जानकारी गराउने तथा यो समुदायलाई विकास प्रक्रियामा सहभागितामा अभिवृद्धि गराउने र राष्ट्रिय मुलधारमा ल्याउनुका साथै पहिचान गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको सुदुरपश्चिम समाजकी अध्यक्ष करुणा नेपालले जानकारी दिइन ।

कार्यक्रममा सहभागी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले हक अधिकार तथा रोजगारीको सुनिश्चितता र प्रदेश लोक सेवा विधेयक समानुपातिक र सहभागीताको आधारमा बन्नु पर्ने माग राखेका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.