निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अजिता हत्याले तेस्रोलिंगी त्रसित, अनुशन्धानमा प्रहरीको बिशेष टोली खटिदै (भिडियो)

अजिता हत्याले तेस्रोलिंगी त्रसित, अनुशन्धानमा प्रहरीको बिशेष टोली खटिदै (भिडियो)

557
SHARES

काठमाडौं (पहिचान) माघ १३ – अजिता भुजेलको हत्या भएछ । हेटौडामा पनि हत्याका घटना हुन थाले । असुरक्षा बढ्दै गयो । मकवानपुर गढी गाउँपालिकाकी स्नातक तह अध्ययन गरिरहेकी बिद्यार्थी भन्छिन्, ‘हत्याको घटनाले त्रास भएको छ ।’ अजिता हत्याले यतिवेला वागमती प्रदेशको राजधानी हेटौडाका वासिन्दामा त्रास बढेको छ । ‘हेटौडामै मान्छेको हत्या हुन थाल्यो अब सुरक्षाको महसुस कसरी गर्ने ?’ गढी गाउँपालिकाकी ति विद्यार्थी प्रश्न गर्छिन ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले अजिताको हत्यापछि सुरक्षाको माग गर्दै जनपथ र सशस्त्र प्रहरीलाई पत्र बुझाएका छन् । हेटौडाका तेस्रोलिंगी अधिकारकर्मी सुरज थापा किरणले अजिताको हत्यापछि त्रासमा बाच्नु परेको बताउँदै पत्र बुझाएर सुरक्षा माग गरेको बताइन ।

२०४७ साल भदौ ७ गते सिन्धुपाल्चोकको बतासेमा बुबा अजुर्न भुजेलको कान्छि श्रीमतीले अजितालाई जन्म दिएकी थिइन । उनी जन्मदा छोरा हुन् । अजिताका हजुरबुबा भक्तबहादुर भुजेल र हजुरआमा कृष्णमाया भुजेल अजितालाई अजय भनेर बोलाउँथे । हजुरबुबा र हजुरआमाले अजितालाई तेस्रोलिंगीको रुपमा स्वीकार नगरी गाली गर्थे । उनीहरुले गाली गरेपछि अजिताले घर छाडेकी थिइन ।

अजिताले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अन्य लैंगिक पहिचानमा नागरिकता लिएकी थिइन । उनै अजिताको माघ ४ गते विहान हेटौडाको क्याम्पाडाँडामा हत्या गरेर फालेको अबस्थामा शब फेला परेको हो ।

अजिताको हत्या अनुशन्धानका लागि नेपाल प्रहरीको विशेष टोली भोली मंगलवार हेटौडा जादैछ । अपराध अनुशन्धान महाशाखालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुरोध गरेपछि अनुशन्धानमा सहयोग गर्न बिशेष टोली हेटौडा पठाउन लागिएको महाशाखाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले पहिचानलाई जानकारी दिए । सिंहका अनुसार टोलीले अजिता हत्याको अनुशन्धान गरिरहेको मकवानपुरको टोलीलाई सहयोग गर्नेछ ।

अजिता करिब दुई महिनादेखि एक युवकसँग लिभिङ टुगेदरमा बस्दै आएकी थिइन् । ति व्यक्ति अजिताको शव भेटिएपछि फरार छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–५ को क्याम्पाडाँडामा मृत फेला परेकी तेस्रोलिंगी भुजेलको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले अजिता हत्या प्रकरणलाई प्रहरीले गम्भीरतापूर्वक लिएको र केही दिनमा अपराधी पक्राउ पर्ने बताए । राठौरले मुख्य अभियुक्तको पहिचान भइसकेकाले छिट्टै पक्राउ पर्ने बताए ।

अजिताकी ७० वर्षीया हजुरआमा कृष्णाकुमारी भुजेलले अपराधी पक्राउ परे आफूहरुलाई न्याय हुने बताइन् । आफूलाई महिला बताउन चाहने अजिता परिवारसँग संघर्ष गरेर घरै छाडेर हिडे पनि बेलाबेलामा घर पुगेर हजुरबुबा र आमालाई सहयोग गर्थिन । उनको हत्यापछि परिवार र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले हत्यामा संलग्नलाई पक्राउ गरेर कारवाही गर्न माग गरिरहेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले अजिताको हत्या व्यक्ति हत्या मात्र नभई तेस्रोलिंगीहरुको इच्छा चाहना र स्वतन्त्रताको हत्या गरिएको बताइन । गुरुङले एकपछि अर्को गर्दै तेस्रोलिंगीको हत्या हुनुले गम्भीर प्रश्न उठाएको बताइन ।

अजिताको शव हेर्दा बलात्कार पछि हत्या गरिएको देखिने बताउँदै उनले दोषीलाई कुनै पनि हालतमा उम्कन दिन नहुने बताइन । अजिताको कोठाबाट सुनका गहना समेत हराएकाले लुटपाट समेत भएको हुनसक्ने उनको भनाई छ । गुरुङले अजिताको हत्यापछि देशभरका समुदायका व्यक्तिमा त्रास बढेको बताइन ।

तेस्रोलिंगीहरु समाजमा अपहेलित भइरहेको भन्दै उनीहरुको समस्या बाहिर नआइरहेको उनको भनाई छ । उनले तेस्रोलिंगीको अधिकारका विषयमा संवेदनशील हुन आग्रह समेत गरिन् ।

 

समाचार शेयर गर्नुहोस्
557
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.