अन्तत : यौनिक अल्पसंख्यकको गणना गर्न केन्द्रीय तथ्यांक विभाग सहमत (भिडियो कुराकानी)

अन्तत : यौनिक अल्पसंख्यकको गणना गर्न केन्द्रीय तथ्यांक विभाग सहमत (भिडियो कुराकानी)

काठमाडौं (पहिचान) माघ २२ – अन्तत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गणना गर्न केन्द्रीय तथ्यांक विभाग सहमत भएको छ । विभागले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नमुना जनगणनामै समेट्ने गरी प्रश्नावली फाराम नै सच्याएको छ ।

जनगणनाबाट वास्तविक तथ्यांक नआउने बताउँदै आएको विभाग अन्नत प्रश्नावली फाराम सच्याएर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गणना गर्न सहमत भएको हो । विभागले घर तथा परिवार सूचीकरण फाराममा पुरुष, महिलासँगै अन्य यौनिक तथा लैंगिक भनेर उल्लेख गरेको छ ।

राष्ट्रिय जनगणना २०७८ को तयारीस्वरूप २०७६ फागुन र चैतमा हुने नमुना गणना फाराममा पुरुष महिलासँगै अन्य यौनिक लैंगिक पहिचान भएका व्यक्तिको पनि गणना गर्न लागिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । घरमूलीले मात्र प्रश्नावलीको जवाफ दिने भएकाले अझै पनि वास्तविक तथ्यांक आउनेमा भने विभाग विश्वस्त नभएको लामिछानेले बताए ।

विभागले २०६८ मा गरेको राष्ट्रिय जनगणनामा पुरुष र महिलासँगै तेस्रोलिंगीको पनि गणना गरेको थियो । त्यसबेला आएको तथ्यांकलाई सरोकारवाल संघसंस्थाले सहमति नजनाएकाले सार्वजनिक नगरिएको बताएको विभागले २०७८ मा हुने राष्ट्रिय जनगणनामा भने अन्य यौनिक लैंगिक पहिचान भएका व्यक्तिको गणना गर्ने भएको हो ।

छुट्टै गणना गर्न सम्वन्धित समुदायसँग पटक पटक छलफल भएपनि नमानेकाले प्रश्नावली फाराम सच्याएर गणनामा राखिएको निर्देशक लामिछानेले बताए । ‘पहिले संविधानमा उल्लेख थिएन उनले भने अहिले संविधानमा नै यौनिक तथा लैंगिक अल्पसंख्यक उल्लेख गरिएकाले राष्ट्रिय जनगणनामै समावेश गर्न लागिएको हो ।’

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट यौनिक तथा लैंगिक अल्पसंख्यकको गणना लिदाँ राम्रो हुने सुझाव आएकाले प्रश्नावली फाराम सच्याएर पुरुष महिलासँगै अन्य यौनिक लैंगिक शब्द थप गरिएको उनले जानकारी दिए । उनले मुल प्रश्नावलीबाट अन्य यौनिक लैंगिक समुदायको जस्तो नतिजा आउँछ त्यसमा सन्तोष मान्नुपर्ने बताए । यो पटक गणनामा आएका समुदायको संख्या सार्वजनिक गरिने लामिछानेको भनाई छ ।

नमुणा गणना आन्तरिक प्रयोजनका लागि मात्रै गर्न लागिएको हो । गणकहरुलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे बुझाउने विभागका निर्देशक लामिछानेले बताए । उनले सही तथ्यांक ल्याउन सम्बन्धित समुदाय नै अग्रसर हुनुपर्ने सुझाव दिए । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे आमजनमानसमा बुझाउन उनीहरु आफै लाग्नुपर्ने निर्देशक लामिछानेले बताए ।

‘तेस्रोलिंगी संवेदनशिल भएकाले छुट्टै ट्रिटमेन्ट गर्नु जरुरी छ’

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.