मिष्टर ‘गे’ हेन्डसम अधिकारी रेष्टुरेन्ट व्यवसायमा (भिडियो)

मिष्टर ‘गे’ हेन्डसम अधिकारी रेष्टुरेन्ट व्यवसायमा (भिडियो)

काठमाडौं (पहिचान) माघ २४ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई अझै पनि महिला पुरुष सरह समान अधिकार छैन । संविधानमा पहिलो पटक अधिकार लेखिएको यो समुदायका व्यक्तिले क्षमता भएर पनि रोजगारीका अवसर पाउन सकेका छैनन् ।

यो समुदायको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाले पनि समुदायका सबै व्यक्तिलाई रोजगारी दिन सकेका छैनन् । दातृ निकायको सहयोगमा संचालित गैर सरकारी संस्थामा काम गर्नेहरु परियोजनाको अवधी सकिएपछि बेरोजगार बनिरहेका छन् ।

नील हिरा समाजको नर्वेजियन परियोजनामा मानवअधिकारकर्मीको रुपमा काम गरेका नेपालका पहिलो मिष्टर गे हेन्डसमको उपाधी विजेता विश्वराज अधिकारी एकबर्षदेखि रोजगारीका लागि भौतारिरहेका थिए । परियोजना आउने र फेरी अधिकारकर्मीकै रुपमा अभियानमा लाग्ने उनको चाहना दातृ निकायको सहयोग अनिश्चित भएपछि पुरा हुन पाएन ।

घर, परिवार र समाजबाट अपहेलित मात्रै भएर बस्नु पर्ने अबस्था अन्त्य गर्न राज्यका निकायले समेत यो समुदायका लागि चासो दिइरहेका छैनन् । दक्षता क्षमता भएरपनि कुनै अवसर नपाएका यो समुदायका व्यक्ति पछिल्लो समय आ आफ्नै पेशा व्यवसायमा संलग्न हुन थालेका छन् ।

जानेको सीप प्रयोग गरेर आफ्नै व्यवसाय संचालन गर्ने सूचिमा नेपालका पहिलो मिष्टर गे हेन्डसम विश्वराज अधिकारी थपिएका छन् । सन् २०१३ मा नील हिरा समाजले पहिलो पटक आयोजना गरेको समलिंगी पुरुषहरुको प्रतियोगितामा अधिकारीले पहिलो उपाधी चुमेका थिए । उनै अधिकारीले काठमाडौंको लाजिम्पाटमा इनक्लुसिव ग्यालेक्सी नामको रेष्टुरेन्ट संचालन गरेका हुन् ।

रेष्टुरेन्टमा यौनिक तथा लैंगिक अल्पसंख्यक मात्रै नभएर सबै समुदायका व्यक्ति आउने अधिकारीले बताए । पारिवारिक वातावरणमा रेष्टुरेन्ट संचालन गर्ने बताएका उनले सुरुमा झण्डै ६ लाख लगानी गरेको जानकारी दिए । अधिकारीसँगै उनलाई समुदायका अर्का एकजनाले पनि साथ दिएका छन् । समुदायका दुई जना मिलेर संचालनमा ल्याएको रेष्टुरेन्टमा विहान वेलुकाको खाना र दिउँसोको नास्ताको व्यवस्था गरिने अधिकारीले बताए ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि रेष्टुरेन्टमा पारिवारिक वातावरण पाइने आशा समुदायका व्यक्तिहरुले गरेका छन् । उनीहरुले संचालकलाई बधाई तथा शुभकामना पनि दिएका छन् । यसअघि तेस्रोलिंगी मोडल मेघना लामाले काठमाडौंको ठमेलमा पिंक टिफानी रेष्टुरेन्ट संचालनमा ल्याइसकेकी छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.