लोकतन्त्र, झोकतन्त्र, भोकतन्त्र र पानीतन्त्र

लोकतन्त्र, झोकतन्त्र, भोकतन्त्र र पानीतन्त्र

काठमाडौं (पहिचान) बैशाख ११ – आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरेर मनाइदैछ भनेर समाचार लेख्ने र सुनाउदै आएकाको ट्रयाक परिवर्तन भएको छ । जे हो त्यही भन्ने र अर्काको साभार गरेर बाचन गर्ने संचारकर्मी विल्लाधारीलाई परिवर्तित परिस्थितिमा समाचार पस्कन हम्मेहम्मे परिरहेको छ ।

नेपालमा चैत्र ११ गतेदेखि सुरु भएको एकान्तबासले एक महिना पार गरिसकेको छ । मातातिर्थमा पहिलो पटक मेला लागेन । कतिपय संचारमाध्यमले मेला लाग्दैछ भनेर समेत फुक्न भ्याए । लोकलाज टार्न कोरोना भाइरसका कारण मेला नलाग्ने समाचार पस्किए । हरेक घण्टा समाचार दिने एचबिसि एफएम तत्कालिन माओवादी द्धन्द्ध शान्ति प्रक्रियामा आउने वित्तिकै बन्द भयो ।

एचबिसि एफएमको फ्रिक्वेन्सी अहिले रेडियो अन्नपूर्णले संचालन गरिरहेको छ । तत्कालिन समयमा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा पहिलो सूचना दिने एफएमलाई बन्द गराउन जो जसले भूमिका निर्वाह गरे त्यो इतिहासको पानामा लेखिनै पर्छ । राजाले शासन सत्ता हातमा लिएपछि अर्धभुमिगत रहेका विरेन्द्र दाहाल पत्रकारसँगै कुटनीतिज्ञ समेत थिए ।

प्रेस काउन्सिलमा राजेन्द्र दाहाल अध्यक्ष हुँदा मिडिया स्वतन्त्र हुनुपर्छ भनेर अनसन बस्ने विरेन्द्र दाहाल एक्ला थिए । दारी र कपाल सेतै फुलेका बिरेन्द्रले प्रतिगमन विरुद्धको आन्दोलनलाई होइन, बाँझो खेतवारी खनेर आत्मनिर्भर बनेकाहरुको बिषयलाई समाचार बनाउन प्रोत्साहन गरिरहे । मिडिया स्वतन्त्र हुनुपर्ने उदाहरण पस्किरहे ।

नेपाल पत्रकार महासंघको धुलिखेलमा भएको बैठकमा (उजिर मगर र जगत नेपाल) केन्दीय सदस्यहरुले पत्रिकाको नाम नै नलिइ एफ एम रेडियोहरुले समाचार भनिरहेका छन् । पत्रकारले लेख्नु पर्दैन ? भनेर पहिलो पटक प्रश्न उठेको थियो । तोडमोड गरेर समाचार दिनेहरु त विश्वमै एकसे एक जन्मिरहेका छन् । तर, नेपालका एफ एम रेडियोहरुमा समाचार बाचन गर्नेहरु पत्रकार हुन कि होइनन् भन्ने गंभिर प्रश्न उठेको पहिलो र अन्तिम बैठक पनि त्यही नै हो ।

एक पत्रकारले मेहनत गरेर तयार पारेको सामग्री सित्तैमा साभार गरेर नाम चलाउनेहरुलाई पक्कै त्यो बैठकले एउटा गतिलो संदेश दिएकै हुनुपर्छ । अहिले अधिकांश रेडियोले विहान आफै समाचार उत्पादन गर्दैनन् । जसले उत्पादन गरेको हो त्यसको नाम लिन्छन् ।

त्यसैको जगमा टेकेर वेलुकासम्म फुकिरहन्छन् । आफ्नो स्रोत नेता ठान्ने पत्रकारले व्यवसायिक पत्रकारिताको दुहाई दिन सुहाउला ? अहिले मुलधारका मिडियाको पहिचान दिन खोज्नेले समेत नेताकारिता गरिरहेका छन् । २०६१ माघ १९ को कु लाई आत्मनिर्भरता तिर डोर्याउन प्रेरित गर्ने विरेन्द्र दाहालको संगत गरेकाहरु अहिलेको पत्रकारितालाई राम्रैसँग नियालिरहेका छन् । उनीहरुको बोली बन्द भएको छैन । तर, मुख थुन्न तिनै नेताकारिताको खोल ओडेकाहरु सक्रिय भएर लागेका छन् ।

सहकर्मीलाई पाखा लगाउन यो या त्यो प्रपंच रचेका छन् । श्रमजिविको श्रम माथि बेइमान गरेका छन् । एकान्तबासमा समेत चाटुकारिताको खोल ओडिरहेका छन् । खोई कहिलेसम्म ? उनीहरु आफै अनविज्ञ छन् । तर, व्यवसायिक पत्रकारिता उनीहरुमा पलाएकै छैन । श्रमको सम्मान कुन चराको नाम हो पत्तो छैन । श्रमको कुरा नेताको चाकडी गर्नलाई मात्रै हो भन्ने लगभग स्थापित हुँदै गएको छ । यस्तोमा श्रमको कुरा पनि एकान्तबास (लकडाउन) चलिरहँदा विदेश केन्द्रीत भइरहेको छ ।

आफू अनुकुल समाचार लेख्ने बाहेक अरुलाई पत्रकार नदेख्ने कलाकार देशका प्रधानमन्त्री छन् । राती खिचेको भिडियो विहान अपलोड भएको भनेर सरकारी संचारमाध्यमबाट अफवाह फैलाइरहेका छन् । के देशका प्रधानमन्त्रीले बोल्ने यस्तै हो ? गाउँ गाउँमा चर्चा भइरहेको छ । यहाँ त सिडियो आउँदैनन्, देखेका पनि छैनन् । सिडियोले दिने सूचनालाई आधार मानेर बालुवाटारमा राज गरेका केपी शर्मा ओलीलाई जनताको दैनिकी कसरी चलेको छ सूचना दिएका होलान त ?

सूचना लुकाउने र सूचना नदिने दुवै राष्ट्रघाती हुन् । त्यसैले राष्ट्रघात गर्ने छुट कसैलाई छैन । मातातिर्थ औंशी र लोकतन्त्र दिवस दुवैलाई कोरोना नामक भाइरसले अत्याइरहेको छ । न आत्तिनु र नमात्तिनु भनेर लोकतान्त्रिक आमाले भनिरहेकी छन् । त्यसैले शासन सत्तामा पुगेका र पुग्नेहरु सबैले अरु थाहा भएन भोक मेटाइदेउ । तिम्रो त्यसैमा कल्याण होला । भिड जम्मा गरेर लुटेको सम्पत्ती अहिले खर्च गरिदेउ ।

कागजमा भोक मेटाएकाहरु गाउँ गाउँमा आएर बास्तविकता पत्ता लगाउ । महलमा बसेर मलम लगाउनेहरुको दुख नलेख । त्यही दुखमा आफ्नो टपरी नभर । जनता अहिले त्यही भनिरहेका छन् । पानी खान नपाएका जनतालाई चामल खान दिन्छौ भन्ने आशा त छैन तर, पनि प्रश्न गर्ने हिम्मत भने हराएको छैन ।

कोरोनाले ल्याएको दुखद घटना कोरोना विरुद्ध एकान्तबास (लकडाउन) घोषणा भएपछि घर पुगेका युवा कच्ची सडकमा मोटरसाइकलमा ओहोर दोहोर गर्दै थिए । उनले चलाएको मोटरसाइकल पल्टियो र अण्डकोषमा धक्का लाग्यो । दुखाई कम गर्ने पेन किलर खाएर उनले झण्डै एक हप्ता घरमा आराम गरे ।

शरीरका सबै अंगमा लाग्ने धक्का र दुखाई एकै नासको हुँदैन । अण्डकोषको दुखाई कम गर्ने औषधी सेवन गरेर घरमा आराम गरेर बस्दा ललितपुर चन्दनपुरका ती युवाको अण्डकोषको शल्यक्रिया गर्नु परेको छ । कोरोना भाइरस कोभिड १९ को त्रासका कारण उनलाई अल्का अस्पताले शल्यक्रिया गरेकै भोलीपल्ट डिस्चार्ज गरिदियो ।

घर नजिक अस्पताल नहुँदा उपचारका लागि दुध बोक्ने गाडीमा राजधानी आउनु पर्ने बाध्यतामा रहेका उनी एक्ला विरामी भने होइनन् ।

काभ्रे कुशादेवीमा आलुमा हाल्ने औषधी (प्वाइजन) सेवन गरेकी महिलालाई धुलिखेल अस्पताल र शिर मेमोरियल बनेपामा उपचार नहुँदा नर्भिक अस्पताल पुर्याउनु पर्यो । उनी चारदिनको उपचारपछि घर फर्किएकी छन् । अल्का र नर्भिक अस्पतालका स्वास्थ्यकर्मी आवश्यक सुरक्षा सामग्री बिना नै उपचारमा खटिरहेका छन् ।

विरामीको प्रत्यक्ष सम्पर्कमा हुने चिकित्सकहरुले एकान्तबास चलिरहँदा अपवाद वाहेक उपचारमा हेलचेक्राई गरेका समाचार आएका छैनन् । टाढैबाट मौखिक जानकारी लिएर औषधी मात्रै दिने गरेको गुनासा भने आइरहेका छन् ।
त्यसो त एकान्तबास बसेर कोरोनालाई परास्त गर्नुपर्ने यो समयमा गर्दै आएको काम बन्द हुँदा भोक भोकै जन्मघर फर्किरहेका छन् । उनीहरुलाई यतिवेला रोग भन्दा भोक ठूलो भएको छ । कामसँगै माम बन्द हुँदा जन्म घर फर्किन बाध्य उनीहरु पैदलै गन्तव्य तय गरिरहेका छन् ।

सात समुन्द्र पारी पुगेकाहरु चाहेर पनि घर फर्किन पाइरहेका छन् । जो जहाँ छन, त्यही एकान्तबास (लकडाउन) मा छन् । कामका लागि कुवेतमा रहेकी मिरा भने फरक फरक नामबाट खोलिएका फेसबुक एकाउन्टबाट आउने म्यासेजका कारण तनावमा परेकी छन् ।

गाली गलौजदेखि अश्लिल शब्द लेखेर आउने म्यासेजले मिरालाई मानसिक तनाव दिएको छ । पटक पटक अश्लिल शब्द लेखेर म्यासेज गर्नेको उनले विभिन्न संचारमाध्यमबाट सार्वजनिक समेत गरिदिएकी छिन् । एक संचारमाध्यमले भिडियो नै बनाएर तनाव दिने व्यक्तिको नाम सार्वजनिक नै गरिदिएको छ । तर, पनि ति व्यक्तिले मिरालाई अश्लिल शब्द लेखेर म्यासेज पठाउन छाडेका छैनन् ।

अविवाहित मिरा विवाहित जोडीले तनाव दिइरहेको बताउँछिन् । विभिन्न संचारमाध्यम मिराले उपलब्ध गराएको नम्वरमा घण्टी बजाउँछन् । तर, उनले उपलब्ध गराएको नम्वरबाट नभइ अरु नै नम्वरबाट म नेपाल प्रहरी हुँ, त को होस ? भन्दै कल ब्याक आउने गरेको छ । मिरालाई कोरोनाको त्राससँगै फेसबुक मार्फत चरित्र हत्या गराउने गिरोहका कारण दोहोरो तनाव र त्रास छ ।

एकान्तबासमा बसेका सामाजिक संजाल प्रयोगकर्ता महिला मिराको जस्तै पीडा भोग्न बाध्य त भइरहेका छैनन् ? पीडा दिनेको पहिचान भएर कारवाही होला । मिरा अहिले यही आशमा छिन् । महिला भएकै कारण दिने पीडा र गरिने हिंसाजन्य व्यवहार कहिले अन्त्य हुनु पर्छ ।

नेपालको संविधानले पहिलो पटक स्वीकार गरेको तर, घर, परिवार र समाजले स्वीकार गर्न संकोज मानेको यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, द्धिलिंगी र अन्तरलिंगी) पनि एकान्तबास (लकडाउन) मा छन् । महिला माथि हुने हिंसाका घटना जस्तै उनीहरु माथि हुने हिंसाका घटना सार्वजनिक हुने गरेका छन् ।

देशको संविधानले सबै नागरिक समान भने पनि लैंगिक पहिचान हरेर व्यवहार भइरहेको छ । कोरोना विरुद्ध सरकारले घोषणा गरेको एकान्तबास (लकडाउन) देशको मुल कानून संविधान जस्तै मानेका नागरिकलाई सरकारले समान व्यवहार गर्ला ? अहिलेसम्म उनीहरुको बास्तवित तथ्यांक समेत लिन नसकेको सरकारले लैंगिक विभेद नगर्ला भनेर पत्याउने आधार छैन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading