५ करोडमा बुद्ध धर्म ग्रन्थका पाना विक्रि गर्न खोज्ने पक्राउ

५ करोडमा बुद्ध धर्म ग्रन्थका पाना विक्रि गर्न खोज्ने पक्राउ

काठमाडौं (पहिचान) असार २६ – सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरु भन्दै विक्री गर्न खोज्ने ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलिले ६ जनालाई पक्रेको हो ।

चन्द्रागिरि नगरपालिका वडा नं. १५ ढुंङ्गेअड्डामा केही मानिसले लामा भाषामा लिखित पुरानो बुद्ध धर्म ग्रन्थको खरिद बिक्रि गर्न मोलमोलाई गरिरहेको अवस्थामा ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार पक्राउ परेका मध्य जनक गिरीको साथबाट तिव्वेतीयन लिपिमा सुनौलो अक्षरले लेखिएको बुद्ध धर्म ग्रन्थको १६ पाना बरामद भएको छ । उक्त पानाहरू पाँच करोड रुपैँयामा खरिद विक्रिको लागि मोलमोलाई गरीरहेको अवस्थामा गिरी सहित ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा खोटाङ दिक्तेल न.पा वडा नं. ४ घर हुने बर्ष ३२ को गेहेन्द्र सिंह आत्रय, काभ्रे पाँचखाल न.पा वडा नं. ३ घर हुने बर्ष ४२ को जनक गिरी र ओखलढुंगा मानेभन्ज्याङ गा.पा वडा नं. १ घर हुने बर्ष ३१ को सुबास कुमार बस्नेत रहेका छन् ।

यस्तै ओखलढुंगा सुनकोशी गा.पा वडा नं. २ घर हुने बर्ष ३३ को हरी बहादुर लामिछाने, काठमाडौँ तारकेश्वर न.पा वडा नं. ११ घर हुने बर्ष ६४ को राजेन्द्र बहादुर जोशी र जिल्ला नुवाकोट ककनी गा.पा वडा नं. ८ घर हुने बर्ष ३४ को रोशन तामाङ पक्राउ परेका छन् ।

उनीहरुलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्राचीन स्मारक संरक्षण ऐनमा गरिएको सजाय सम्बन्धी व्यवस्था

यस ऐन बमोजिम नेपाल सरकारको कब्जामा रहेको वा दफा५ बमोजिम जिम्मेवारीको कागज भएको कुनै प्राचीन स्मारकको सम्बन्धमा वा कुनै पुरातात्विक वस्तुको सम्बन्धमा देहायको कुनै काम गरेमा देहाय बमोजिम सजाय हुनेछ :–

(क) कुनै प्राचीन स्मारकलाई नष्ट गरेमा, भत्काएमा, हटाएमा, परिवर्तन गरेमा, विरूप पारेमा वा चोरी गरेमा त्यस्तो प्राचीन स्मारकको बिगो बमोजिमको रकम असुल उपर गरी पच्चीस हजार रूपैयाँ देखि एक लाख रूपैयाँसम्म जरिबाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय,

(ख) कुनै प्राचीन स्मारकलाई अनधिकृत काममा लगाएमा वा अरू कुनै किसिमसँग हानी नोक्सानी पु¥याएमा त्यस्तो प्राचीन स्मारकको बिगो बमोजिमको रकम असुल उपर गरी पच्चीस हजार रूपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवैसजाय,

(ग) कुनै पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.