काभ्रे (पहिचान) भदौ ५ – २०६६ चैत १५ गते । छोराको विवाह गरेको १५ दिनमै घर छाडेका व्यक्ति सम्पर्कमा नआउँदा परिवार पीडामा छ । छरछिमेक, साथीभाई, इष्टमित्रले बेलाबखत बुबा कहाँ हुनुहुन्छ भनेर सोध्दा छोराको मन रुन्छ ।
परिवारमा बुबाले घर छाडेपछि आमाले व्यवहार सम्हाल्दै आउनु भएको छ । बुबाले घर छाडेका सुरुका दिनमा परेका कठिनाई विस्तारै खाटा बस्दैछन् । कहिले काही खाटा लागिसकेको घाउ कोट्याइदिनेहरुका कारण आमाका आखाँबाट बलिन्द्र आँशु झर्छन ।
काभ्रे नमोबुद्ध नगरपालिका वडा नम्बर २ साविकको दाप्चा फुलवारीका अमन्ती दाहाल आजसम्म घर फर्केर नआउँदा परिवारको यो वेदना सुनेर कम गरिदिने कोही छैन । खोजी गरेर ल्याइदिन्छु भन्ने कोही छैनन् । त्यसैले सुप्रियादेवी दाहाललाई अमन्ती सरको कुरा नसोधे पनि हुन्थ्यो भन्ने लागिरहन्छ ।
अमन्तीले चैत १५ गते विहान बनेपा बजारमा एक जना अधिबक्ताको कार्यालयबाट फोन गरे । दिउँसो कलंकीको पेट्रोलपम्प नजिकबाट छोरासँग भएको फोन सम्वादपछि न अमन्तीले परिवारसँग सम्पर्क गरे न त परिवारले सम्पर्क गर्न सकेको छ ।
सुमनको परिवारले ३ बर्षसम्म अमन्तीको खोजी गरे । कहि कतै अत्तोपत्तो लागेन । देखेको, भेटेको सुनाउनेहरुले लगेर भेटाइदिएनन् । बुबाको खोजीमा लागेका सुप्रियादेवीको परिवारमा २०७७ साल साउन महिनामा घरमै आएका भुकम्प प्रतिरोधी घर निर्माण भए नभएको जाँच गर्ने प्राविधिक दुर्गा अधिकारीले अमन्तीसँग आधा घण्टा भेटेको भनेर जानकारी गराए ।
छोरा सुमनले दुर्गालाई फोन गरेर साच्चै बुबा भेट्नु भएको हो भनेर सोधे । अधिकारीले अमन्तीलाई झापा जिल्लाको चारआलीमा भेटेको मात्रै भनेनन््, घर परिवारको समेत कुराकानी भएको भनेपछि बुबा भेटिने आशा सुमनमा जाग्यो । अमन्तीलाई २०७५ साल चैत महिनामा भेटेको सुनाएका दुर्गाले ५ सय रुपैयाँ लिएर हिडेको हुँ, पीर चिन्ता लिनु पर्दैन भनेका छन है बुढाले भनेपछि अमन्तीलाई भेट्ने र सम्पर्कमा रहने विश्वास परिवारमा पलायो ।
यो विश्वास र झापाको धुले बिद्यालयले चिनिने स्वस्थानी प्राथमिक विद्यालय नजिकको घरबाट अमन्ती फुलवारी दाप्चा हुँदा नै आएको पत्रले झापा प्रति अमन्तीको मोह परिवारले विश्वास गर्ने अर्को आधार तत्कालै तयार भयो ।
कोरोना कहरले बिश्व आक्रान्त बनेका बेला छोरा सुमन बुबा खोज्न झापा हानिए । पहिचान मिडिया र नेपाल चित्र पनि सुमनको पिछा गर्दै हिड्यो । पहिलो रात सिन्धुलीको खुर्कोट, दोस्रो रात सप्तरीको कंचनरुप बस्दै तेस्रोदिन झापाको विर्तामोड पुगियो ।
झापा पुगेपछि स्वस्थानी बिद्यालय सुमनको पहिलो गन्तव्य बन्यो । स्वस्थानी बिद्यालय पुर्याउन झापा गाउँपालिकी स्वास्थ्यकर्मी अन्जु थपलियाले सहजिकरण गरिदिनु भयो । तर, त्यो घरमा सुमनका बुबा भेटिएनन् । त्यो घरमा बस्ने परिवारको नम्वर लिएर सुमन विर्तामोडको रामचोक पुगे । १५, १६ बर्षअघि ३ पटकसम्म अमन्ती धुले बिद्यालय नजिकको घर आउने जाने गरेपनि त्यसपछि कहिले सम्पर्क नभएको त्यो परिवारले सुनायो ।
बुबा भेटिने कुनै छेकछन्दो नपाएपछि सुमनको अनुहारको चमक क्षणभरमै हरायो । निराश जस्तै बने । तर, पनि अर्को एउटा आशा भने जिवितै थियो । दुर्गा अधिकारीले भेटेको ठाउँमा सुमन पुगेका थिएनन् । उनी भोलीपल्ट झापाकै चारआलीका पसल पसल, होटल होटलमा सोधखोज गर्न लागे । सुमन दुर्गा अधिकारीले नाम लिएका मध्ये एक कृष्ण बोलखेको झापाकै बुद्धशान्ति गाउँपालिकामा रहेको निवासमै पुगे ।
अमन्तीलाई देखेपनि चिन्दिन भन्ने उत्तर कृष्णबाट पाएपछि बुबालाई भेट्ने सुमनको आशाको महत्वपूर्ण खुट्किलो भत्कियो । दुईदिन लगातार खोजी गर्दा अमन्ती झापामा रहेको कुनै गन्ध नपाएपछि तेस्रो दिन सुमन झापाको भद्रपुरमा रहेको नेपाल रेडक्रस सोसाइटीको परिवार वेपत्ता सम्बन्धी सर्कुलर गराउन पुगे । भद्रपुर शाखाले झापाको बुधवारे उपशाखाका कर्मचारीलाई फोन लगाए र हुलिया बताए । रेडक्रस झापाका केदार महतलाई बुधवारे उपशाखाका कर्मचारीले शिक्षण पेशाबाट अवकाश प्राप्त, दोस्रो विवाह गरेका, श्रीमती नेपाल रेडक्रसको सदस्य भएका दाहाल सर बस्नुहुन्छ भन्ने जानकारी दिएपछि सुमन बुधवारे उपशाखा पुगे ।
उपशाखाका कर्मचारीले लगेको घरमा सुमन पुगे तर, बुबा पाएनन् । अरु नै दाहाल सर पाए । सुमनले झापाको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुलाई फोटो दिएर खोजिगरिदिन आग्रह गरे । तेस्रोदिन पनि सुमनले झापामा बुबा भेटाउन सकेनन् ।
चौथो दिन सुमन आफू एक्लैले खोजेर नभेटिने निष्कर्षका साथ नेपाल प्रहरीको सहयोग लिन झापाको चारआली प्रहरी चौकी पुगे । सुमनले तस्विर सहित बुबाको खोजी गरिदिन झापाको चारआली प्रहरी चौकीमा निवेदन दिए । चौकीका किरण राइबाट तत्कालै खोजीका लागि स्थानीय टोल समुहलाई खवर भयो । त्यसपछि सुमन झापाका सहायक प्रमूख जिल्ला अधिकारीलाई फोन गरेर झापाबाट नागरिकता बानाएको रेकर्ड हेर्न जिल्ला प्रशासन कार्यालय भद्रपुर पुगे । नागरिकता र पासपोर्ट दुवै बनाएको प्रशासनको रेकर्डमा देखिएन । सुमनले भ्याएसम्मको उपाय लगाएर बुबाको खोजी गरे ।
बुबाले झापाको बेलडागी शरणार्थी शिविरमा खाद्यान्न ढुवानी गर्नुहुन्छ भन्ने पनि सुनेका सुमन झापाबाट घर फर्कने अघिल्लो दिन शिविर पनि पुगे । एक रात शरणार्थी शिविरमा रात विताए । यो चाजोपाजो शरणार्थी युवा संचहाङ राईले मिलाइ दिए । झापाको आरआलीमा रहेको नेपाली सेनाको गणमा काम गरेका गाउँकै सैनिक जवानले सुमनको बुबा झापाको बेलडागी शिविरमा खाद्यान्न पुर्याउने काम गर्थे भन्ने जानकारी दिएकाले सुमन शरणार्थी शिविर पुगेका हुन् ।
झण्डै ७ हजार भुटानी शरणार्थी रहेको शिविरका संचहाङ राईलाई कतै देखे भेटेमा खवर गर्नु होला भनेर सुनम बुबाको तस्विर छोडेर घर फर्किए । झापामा बुबा हुनुभएको भए अब नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, झापाका राजनीतिक दल सामाजिक अभियन्ता लगायतको सहयोगमा ढिलोचाडो बुबासँग भेट हुने आशामा छन् सुमन । देशको कुनै पनि ठाउँमा बुबालाई देख्नेले खवर गर्नेछन भन्नेमा पनि सुमन बिश्वस्त छन् । उनको बुबालाई कतै देखेभेटेमा अमन्ती दाहाल परिवारका एक्ला छोरा सुमनलाई खवरगरिदिनु हुन हामी पनि तपाई सबैलाई अनुरोध गर्छौ ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.