जेम्सले युट्यूबमा पोस्ट गरेको भिडियोलाई लिएर विवाद

जेम्सले युट्यूबमा पोस्ट गरेको भिडियोलाई लिएर विवाद

काठमाडौं (पहिचान) असोज ४ – सामाजिक सञ्जालले विशेष गरी किशोर किशोरी तथा सीमान्तकृत वर्गका व्यक्तिहरुको मनोसामाजिक स्वास्थ्यमा गम्भीर असर पर्ने विभिन्न अध्ययनहरुले बारम्बार भन्दै आएका छन् ।

नेपालमा अहिले सामाजिक सञ्जालमार्फत भएको दुर्व्यवहार तथा बुलीङको विषय केन्द्रमा छ कम्तीमा निश्चित वर्ग र समुदायमा ।
हालै बेलायत बस्दै आएका जेम्स श्रेष्ठ नामका नेपाली युट्यूबरले आफ्नो च्यानलमा पोस्ट गरेको भिडियोलाई लिएर विवाद भइरहेको हो । जेम्सले रियाक्सन अर्थात प्रतिक्रिया दिने भनि बनाएको भिडियोमा हाल टिकटकमा चर्चित रहेकी निकिशा श्रेष्ठमाथि बुलीङ गरेको भन्दै निकिशाको समर्थन र जेम्सको विरोधमा सामाजिक सञ्जालमा टिकाटिप्पणीहरु भइरहेका छन् ।

निकिशा श्रेष्ठ आफूलाई ट्रान्सजेन्डर महिलाका रुपमा परिचित गराउँछिन् । पुरुषका रुपमा जन्मिएकी उनले आफ्नो वास्तविक पहिचान महिला रहेको र महिला नै भएर बाँच्ने भनी आँट गरेर निकेश श्रेष्ठबाट नाम परिवर्तन गरी निकिशाका रुपमा आफूलाई स्थापित गरेकी छन् ।

निकिशा टिकटकमा उनले पोस्ट गर्ने नृत्यका भिडियो र ती भिडियोमा आउने प्रतिक्रियामा दिएको जवाफका कारण चर्चा र ट्रोलको विषय बन्ने गरेकी छन् ।

युट्यूबर जेम्स श्रेष्ठले हालै पोस्ट गरेको भिडियो मानिकिशालाई उनले चाहेको पहिचान भन्दा निकेशकै रुपमा प्रस्तुत गरिएको छ भने उनले रियाक्सनभन्दा निकिशाको मजाक उडाएको भन्दै आलोचना भइरहेको छ ।

निकिशाले अंग्रेजी तथा रोमनमा लेखिएको कमेन्टहरु पढ्दा वात्यसलाई बुझ्ने क्रममा गल्ती गरेको उनका केही भिडियो हेर्दा देखिन्छ । तर जेम्सले उनको सोही कमजोरीलाई मजाकको विषय बनाएर भिडियो बनाएको र सो अस्वीकार रहेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा ह्यासट्याग सपोर्ट निकिशा ट्रेन्डिंगमा आएको पनि थियो । र अहिले पनि यो विषय चर्चामै छ ।

जेम्सको भिडियो कुनै पनि रुपमा स्वीकार्य नरहेको र यसले सीमान्तकृत समुदायको व्यक्तिमाथि दुर्व्यवहार तथा बुलीङ गरेको भनी सामाजिक सञ्जालमार्फत निरन्तर आवाज उठाइरहेकामध्ये एक हुन् पराक्रम विक्रम राणा । पराक्रमले लगातार निकिशाको पहिचान स्वीकार गरिनु पर्ने र जेम्सले बनाएको भिडियोले निकिशा वा उनीजस्तै सीमान्तकृत समुदायका तथा पहुँचबाट पर रहेका व्यक्तिको मनोसामाजिक स्वास्थ्यमा गम्भीर असर पार्ने भनि विरोध गरिरहेका छन् ।

तर जेम्सका समर्थकहरुले भने निकिशा आदर वा सम्मान हकदार नरहेकाले उनको मजाक उडाइनु वा खिल्ली गरिनु सामान्य रहेको भन्दै बचाउ गरिरहेका छन् । जेम्सले पनि आफूले कुनै त्यस्तो असामान्य कमेन्ट नगरेको भनी दाबी गरेका छन् । तर उनले पोस्ट गरेको भिडियोको कमेन्टमा धेरैले भिडियोको विषयवस्तु गम्भीर आपत्तिजनक र दुर्व्यवहार पूर्ण रहेको भन्दै आलोचना गरिरहेका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.