कोरोना महामारीमा एनजिओलाई भटुरेको व्यङ्ग्य 

कोरोना महामारीमा एनजिओलाई भटुरेको व्यङ्ग्य 

मिलेर गरौँ भन्ने पैसा नदिने खालका कार्यक्रम कति गर्नु?

काठमाडौँ : कोरोना महामारीको समयमा गैरसरकारी संस्था एनजिओ/आइनजिओ सहयोग गर्न अग्रसर नभएको आरोप लागेको छ। केही एनजिओ /आइएनजिओ बाहेक अधिकांश यो आरोपसँग मेल खाने गरी कोरोना सङ्क्रमितको हेरचाह र उपचारमा संलग्न भइरहेका छैनन्। त्यस्तैलाई मेल खाने गरी भटुरेले एनजिओको विज्ञप्ति निकालेका छन्।
उनले निकालेको विज्ञप्ति यस्तो छ :
हामी विपदमा काम गर्ने भनी खोलिएका सामाजिक संस्था (गैसस) हौँ। बर्षौ वर्ष देखि हामी क्रियाशील छौँ। अहिलेको कोरोना जस्तो विपद् नत भूकम्पमा थियो, नत बाढी पैरो जाँदा थियो, नत २०७७ चैत्र वैशाखको कोरोनाको बेलामा थियो।
त्यसैले गर्दा अहिलेको विपदमा हामी काम गर्न सक्ने अवस्थामा छैनौँ, पहिले पनि हामीले प्रोजेक्ट हुँदा काम गरेका हौँ। अहिले चाहिँ हामीलाई खासै दाताहरूले सहयोग पनि गरेका छैनन्, प्रोजेक्ट पनि लोभ लाग्दा छैनन्, केही कर्मचारीलाई तलब, बैठक, भत्ता र घर भाडा मात्र छ। मिलेर गरौँ भन्ने पैसा नदिने खालका कार्यक्रम कति गर्नु? काम गर्दा हामीलाई पनि केही हुनु पर्‍यो, काम गरेको जस्तो पनि हुनु पर्‍यो।
अहिले सरकारले नै अरबौँ रकम खर्च गरेको र स्थानीय प्रतिनिधिले पनि गरेका छौँ भन्ने समाचार आइरहेकोले चासो दिएर काम गरिहाल्नु पनि जरुरी देखिंदैन् ।
महामारीले आक्रान्त भएकाहरू प्रति गच्छे अनुसार श्रद्धाञ्जली, छिटो निको हुनुहोस् र सुरक्षित रहनुहोस् भन्न चाहन्छौँ। अस्ति हाम्रै एक जना सदस्यको मामा कोरोनाले बित्नु भयो। हामीले त्यस बखत फेसबुकमा फोटो हालेर श्रद्धाञ्जली अर्पण गर्‍यौँ। अहिले घर बाहिर जाने अवस्था छैन, सरकारले पनि जान दिंदैन्। अत्यावश्यक परेर तरकारी किन्न सम्म जान सदस्यहरूलाई अपिल गर्दछु।
कोरोना सकिए पछि हाम्रो साधारण सभा र अधिवेशन गर्ने सोच छ। सहमतिमा अहिलेकै समितिलाई अर्को कार्यकाल काम गर्न दिंउँ। यो समितिमा १५ वर्ष देखि अनुभवी साथीहरू हुनुहुन्छ। यस्तो महामारी चली राख्दा अनुभवी साथीहरू भएमा प्रोजेक्ट ल्याउन पनि सजिलो हुन्छ। मेरो र साथीहरूको अहिलेको सरकारमा पनि पहुँच भएकोले आगामी दिनमा हुने राजदूत र राजनैतिक नियुक्तिमा समेत बल पुग्दछ।
अघिल्लो पल्ट हाम्रा अध्यक्ष राजदूत नियुक्ति भए, सचिवले परिषद्को सदस्य सचिव पाउनु भयो। त्यसले समितिमा पनि २ जना साथीले स्थान पाउनु भयो। त्यसैले यो महामारीमा हामी सुरक्षित रहूँ। सुरक्षित रहेन पद, प्रतिष्ठा र नियुक्ति पाइन्छ।
हामीले एउटा डोनरलाई प्रस्ताव पेस गरेका छौँ। त्यो करिब २२ करोडको छ। त्यसमा धेरै सामान खरिद छ। त्यसैले खरिदलाई छिटो गर्नका लागि यसअघिका नियम निलम्बन गरी अध्यक्षमा १५ करोड सम्मको खरिद अधिकार रहने समितिले निर्णय गरेको छ।
म र महासचिवले यो प्रोजेक्टमा क कसलाई जिम्मेवारी दिने टुङ्गो लगाउने छौँ। हामीले सबैलाई भूमिका हुने गरी व्यवस्था मिलाउने छौँ। भूमिका पाउनुहुने साथीहरूलाई महामारीको अवसरमा राम्रो पारिश्रमिक र सुरक्षा व्यवस्था गरिने छ। जसका लागि करिब १४ करोड प्रस्ताव छ।
३ वटा सवारी साधन र कार्यालय व्यवस्थापन गरी करिब ४ करोड, जुम बैठक र अनलाइनमा सङ्क्रमित मोटिभेशनल कक्षाको कन्सल्ट्यान्टलाई २ करोड र कोरोना पीडितलाई राहत सामाग्री खरिद करिब २ करोड गरी २२ करोड बजेट प्रस्ताव छ। यो प्रोजेक्ट हामीले पाएमा राम्रोसँग सञ्चालन गर्ने सम्बन्धित डोनरलाई प्रतिबद्धता यसै विज्ञप्ति मार्फत गर्न चाहन्छौँ।
सरकारले आफ्नो प्रयास जारी राखेको छ र केही कमजोरी भएमा सरकारको कत्ति आलोचना गर्नुहोला। सरकारलाई हौसला दिन वा क्या गजब, बधाई छ, शुभकामना, हामी साथमा छौँ, अगाडी बढ्नुस्, जस्ता प्रतिक्रिया दिन र बुईमा बोक्न सदस्यहरूलाई अनुरोध गर्दछौँ।
महामारीको बेला सुरक्षित रहौँ, घर मै बसौँ।
धन्यवाद ।
भटुरे
अध्यक्ष
हाम्रो नेपाल सामाजिक संस्था
(यो एक काल्पनिक विज्ञप्ति हो। कहीँ कतै मेल खान गएमा संयोग मात्र हुने छ।)
तस्बिर : इन्टरनेट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.