बद्री प्रसाद खतिवडाले बिर्सन नसकेको त्यो निरंकुशतावादी समाचार (भिडियो)

बद्री प्रसाद खतिवडाले बिर्सन नसकेको त्यो निरंकुशतावादी समाचार (भिडियो)

अहिलेको जस्तो पत्रकारिताको तालिम थिएन। नेपाली भाषामा पकड थिएन। रहर लाग्यो भने लेख, रचना लेख्ने गरिन्थ्यो। शिक्षक पनि भएको हुनाले पत्रपत्रिका पढ्ने गरिन्थ्यो। नेपालमा एउटा मात्रै थियो सरकारी रेडियो। टेलिभिजन पनि थिएनन्।
हेटौडाका वासुदेव रिजालले पत्रपत्रिका सेन्टर खोल्नु भएको थियो त्यति वेला। उहाँ पछि प्रधानपञ्च पनि बन्नु भयो। उहाँको पत्रपत्रिका सेन्टरमा गोरखापत्र बाहेक मातृभूमि साप्ताहिक पत्रिका पनि आइपुग्थ्यो। भारतीय र चाइनिज पत्रिका समेत आउँथे।
मातृभूमि नियमित पढ्न थालेको २०१८ सालदेखि नै हो। मातृभूमिका सम्पादक गोविन्द वियोगीसँग पनि चिनजान थियो त्यति वेलैदेखि।
भोटाहिटीका निरञ्जन गोविन्द वैद्यले चाइनिजसँगै सोभियत भूमिको रसियन पत्र पनि पठाउनुहुन्थ्यो। त्यो पनि हेरिन्थ्यो। पत्रपत्रिकामा कमै मान्छेको नाम आउँथ्यो त्यति वेला। मेरो सोचाइसँग रुचिकर थियो मातृभूमि पत्रिका।
मातृभूमिमा छापिने समाचार, बिचार समाजमा हुने शोषणविरुद्ध हुन्थ्यो। आफू पनि शोषणको विरोध गरिन्थ्यो। अलि चेतनामूलक समाचार र लेख मातृभूमिमा पठाउँथे। वियोगीको नामले चिनिन्थ्यो मातृभूमि।
अहिले चार पाँच वर्ष भयो टेलिभिजन हेर्न छाडेको। टेलिभिजन हेरेर आएका घटनाहरू अनावश्यक लाग्छ। अर्थहीन लाग्छ। त्यसको कुनै अर्थ छैन भन्ने लाग्छ। हरेक घटना थाहा पाउनु भन्दा मुलुक या विश्वको ट्रेन्ड थाहा पाए त भइहाल्यो नि। कता जादैछ मुलुक? भन्ने मोटामोटी थाहा पाए भइहाल्यो नि भनेर टिभी हेर्नै छाडिदिए।
आँखाले हेर्न नसकेको होइन, टिभी हेर्न मनै गएन। जीवनसँग नगाँसेका घटनालाई के हेरिरहनु। उदासीन लाग्यो टिभी हेर्नलाई। जिउँदो समाज र प्रकृतिसँग यथेष्ट ज्ञान छ। अब यो कृत्रिम चिजहरूमा बढी ध्यान दिन आवश्यक ठानिन।
भ्रष्टाचार बढिरहेको छ। आफैबाट भ्रष्टाचारको संरक्षण गरिरहेका छन्। राष्ट्र र जनताप्रति जिम्मेवारी बहन गरिरहेका छैनन्। अनि यस्ताका कुराहरू सुन्नु समयको बर्बाद  मात्रै हो। अहिलेका समाचार सतही मात्रै छन्।
पत्रकारिताको खास धर्म भनेको जनता र राष्ट्रलाई अगाडी बढाउनु हो। अहिले मुनाफाखोरी पत्रिका कम्पनी भएका छन्। त्यति वेला एक जना सम्पादकले आफ्नो रिस्कमा पत्रिका निकाल्नुपर्थ्यो। सत्ताको सेन्सरहरूबाट बच्नुपर्थ्यो। अहिले खुकुलो त भएको छ। लेख धेरै आउँछ। पत्रिकाका पन्नाहरू पनि ठुला र धेरै भएका छन्। तर, त्यसको सार चाहिँ फिक्का भएको छ।
त्यति वेला पत्रकार भनेपछि आदर गरेर हेरिन्थ्यो। पत्रकारले पनि रिस्क मोलेका थिए। आफूसँग भएको बुद्धि, श्रम र धनलाई पत्रिकामा लगाएका थिए त्यति वेला। अहिलेका सञ्चारमाध्यम नाफामुखी भए। पहिलेको गुरुकुलका शिक्षक र विद्यार्थीमा जस्तो आत्मीयता अहिलेका शिक्षक र विद्यार्थीमा पाइँदैन। किनकि अहिले पैसा लिएर पढाइन्छ। त्यस्तै यो पत्रकारिता पनि नाफामुखी भएको हुनाले समाजबाट श्रद्धा नै पाएका छैनन् पत्रकारले।
यो सबैमा बिकृतिको आउनुमा राजनीति गर्नेहरूले ठिकसँग गरेनन्। शिक्षकलाई राजनीति गर्नेहरूले तिमीहरू एउटै शिक्षक सङ्गठनमा रहूँ, फुटेर हरेक राजनीतिक पार्टीका पछाडि नलाग। बरु तिमिहरूले हामीलाई चाही यसो गर भनेर राज्य चलाउनेलाई सुझाव देऊ। आफ्नो पढाइको कर्ममा दत्तचित्त देऊ भनेर कुनै पनि राजनीतिक पार्टीका नेता वा संस्थाले भनेका छैनन्।
यो बहुदलीय व्यवस्थामा शिक्षक एउटा राजनीतिक पार्टीमा लागिदिँदा आफ्नो पक्षका बाहेकका अर्को पक्षका बिद्यार्थीहरुबाट श्रद्धा पाउँदैन। त्यो शिक्षकले श्रद्धा पाउँछ जसले चाहिँ पढाइलाई प्राथमिकता दिएको छ र राजनीतिको झोला बोक्दैन। त्यसले अभिभावक र विद्यार्थीको ममता पाउँछ। अहिले शिक्षकमा जस्तै पत्रिकाहरूमा पनि विचलन आएको छ।
कोही बनारस गए, कोही काठमाडौं आए 
मकवानपुर गढीको गढी गाउँमा १९९१ सालमा भएको हो जन्म। चिठी लेख्न सक्नेसम्मको भाषा शिक्षा हेटौँडामै लिए। भाषा कक्षा पढेका सहपाठीहरु अध्ययन गर्नका लागि कोही बनारस गए। २०१२ सालमा काठमाडौं नक्सालमा रहेको नन्दी रात्रि स्कुलबाट म्याट्रिक पास गरे।
म्याट्रिक पास गरेर २०१६ सालसम्म त्रिचन्द्र क्याम्पसमा कमर्स विषय लिएर अध्ययन गरे। अहिले जस्तो केटा केटीसँगै बस्ने नै हुँदैनथ्यो। अलिअलि साइन्स विषय पढ्ने केटी थिए।
कमर्स लिएर पढ्ने पुष्पलालकी बहिनी पुष्पलता मेरो कक्षाकी साथी हुनुहुन्थ्यो। २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयको पहिलो ब्याची भए पनि सर्भिसको खोजीमा लागे। केही समय हेटौँडाको त्रिदेशीय रिजनल ट्रान्सपोर्ट कम्पनीमा काम गरे। तलब धेरै पाउने भएपछि वीरगन्जको मलेरिया इर्याडिकेसन सेन्टरमा पुगे। त्यहाँ प्रमोसनमा पक्षपात गरेपछि जागिर त्यागे।
वीरगन्जबाट पुन हेटौँडा फर्किएर भुटनदेवी माध्यमिक विद्यालयमा पढाउन थाले। पढाउँदा पढाउँदै पञ्चायतविरुद्ध शिक्षकको नेतृत्व गरेको भन्दै रसुवा सरुवा गरियो। सरुवा गरिएको २०४२ सालतिर सरकारलाई जवाफ पठाए। ‘यहाँ विद्यार्थी, अभिभावक र जनताले मन पराएका छन्, सकारका मान्छेलाई मन नपरेको हुँदा सरुवा भएको ठाउँमा जाँदिन र राजीनामा पनि दिन्न,’ भनेर पत्र पठाएको दुई वर्षपछि २०४४ सालमा राजीनामा स्वीकृत भएर आयो।
मातृभूमिसँगको सामिप्यता 
मातृभूमि पत्रिका नियमित पढ्थे। नियमित जस्तै समाचार पठाउँथे हेटौँडाबाट। पैसा सैसा लिने हिसाबले नभई भोलियन्टिएर समाचार पठाउँथे।
पत्रिकाले पनि धेरै कमाउन सकेका छैनन् भन्ने लाग्थ्यो। उनीहरूले पनि सेवा गरेका हुन मोटामोटी। व्यापार बिजनेस गरेको होइन। सोखको लागि नै हो त्यति वेला पत्रिकामा समाचार पठाएको।
त्यति वेलाको मातृभूमि प्रगतिशील बिचारधारबाट प्रभावित निरङ्कुशता विरोधी लाग्थ्यो। वीरगन्जबाट मातृभूमिमा खबर पठाउने गोपालचन्द्र गौतम ‘गोतामे’ को कोलम नछुटाई पढ्थे। निरंकुशताको विरोधमा अफगानिस्तानका राजाको बेलायत भ्रमण हुँदाको उदाहरण प्रस्तुत गर्दै लेखिएको तानासाहको सोच सम्बन्धी लेख अहिले पनि स्मरणमा ताजै छ।
अफगानिस्तानका राजा बेलायत जाँदा बेलायतको संसद्मा बजेट पास गर्न नदिन विपक्षी सांसदको प्रवक्ताले हाउस अवरुद्ध गरिरहेको थियो। बजेट पास हुन सकेको थिएन। बेलायत सरकारको निम्तोमा गएका अफगानिस्तानका राजा क्लबमा विपक्षी नेताको प्रवक्तासँग प्रधानमन्त्रीकी श्रीमती नाचिरहेको देख्थे।
हाउसमा विरोध गर्ने विपक्षी दलको नेता क्लबमा प्रधानमन्त्रीकी श्रीमतीसँग नाचेको देखेपछि राजाले बेलायतका प्रधानमन्त्रीलाई विपक्षी नेता सिद्ध्याइदिऊँ भनेछन्। वादविवादबाट सल्टाउनु पर्ने समस्या अफगानिस्तानका राजा गोली ठोकेर अझै बल्झाउन चाहन्छन् भने जस्तै निरंकुशताबादी सोच नेपालको शासनमा देखिन्छ भनेर लेख्नुहुन्थ्यो गोतामे।
गोविन्द वियोगीसँग राम्रो सम्बन्ध थियो। परिवारसँग राम्रो थियो। मातृभूमि पढ्न थालेदेखि नै वियोगीसँग चिनाजान भएको हो। २०१८ सालदेखि जस्तो लाग्छ प्रिय पत्रिका थियो मातृभूमि। हेटौडाबाट वीरगन्ज गइरहन्थे गोतामेसँग छलफल गर्न।
मातृभूमिले जनता र राष्ट्रप्रति भूमिका निभाएको लाग्थ्यो। निरकुंशता विरोधी, प्रजातन्त्रको पक्षपाती लाग्थ्यो मातृभूमि पत्रिका। अलिकता लेफ्ट जस्तो पनि। लेफ्ट धारको हुनाले बढी मन पर्थ्यो मातृभूमि। गोपालचन्द्र गौतम मातृभूमिमा खबर पठाउने खम्बा हुनुहुन्थ्यो। आफ्नो लागेको कुरा घुमाई फिराई दिनुहुन्थ्यो गोतामे।
गोविन्द वियोगीका जेठा छोरा किरणलाई पछिल्लो समय भेट गरे। आफ्नो पुस्तक प्रकाशित हुनुअघि किरणसँग भएको भेटमा पत्रिका निस्केको या बन्द भएको केही कुराकानी भएन। पुस्तक विमोचनमा निम्तो दिन गएको थिए।
अहिले कान्तिपुर, नयाँ पत्रिका हिमाल खबर पत्रिका पढ्छु। पञ्चायत शासनकालमा डराई डराई लेखिने समाचार जति पनि पढौँ पढौँ लाग्थ्यो अहिले त्यस्ता समाचार र विचार आउँदैनन्।
त्यति वेला लेखकहरूलाई गारो थियो। लेखे बापत जेल जानु पर्ने थियो। अहिले देशमा गणतन्त्र आएको छ। स्वतन्त्रता छ, लेखे बापत जेल नै जानु पर्दैन। तर, पनि पहिले जस्तो निखारिएको समाचार र विचार आउँदैन।
शिक्षक आन्दोलनको सम्झना 
२०१५ सालको चुनावपछि बिपी कोइरालाको नेतृत्वमा बनेको सरकार २०१७ सालमा महेन्द्रले खोसिदिँदा नराम्रो लागेको थियो। विश्लेषण गर्ने क्षमता त थिएन तर, महेन्द्रले सत्ता हातमा लिएको मन परेको थिएन।
२०१६ सालमा पुष्पलालको हातबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएको थिए। पञ्चायती विरोधी आन्दोलनमा शिक्षकको नेतृत्व समेत गरे। २०२६ साल असारमा पहिलो जेल परे। त्यति वेला नारायणी अञ्चलमा दामोदर शमशेर अञ्चलाधीश थिए। १५ महिना जेल परेर छुटे।
२०३० सालमा अर्को पटक जेल परे। २०३६ साल जेठ ४ गतेबाट शिक्षक सर्घष भयो। मैले मात्रै जस किन लिने अगुवा साथीहरू थियौँ। पञ्चायती व्यवस्थामा स्नातकबाट राष्ट्रिय पञ्चायतमा सहन सकेन। तर, हामीले राष्ट्रिय रूपको शिक्षक सङ्गठन माग्यौ र लिएरै छाड्यौ। पञ्चायतलाई घुँडा टेकाएरै छाड्यौ। स्नातकको आफ्नै व्यवस्थामा गरेको त खप्न नसक्नेलाई हामीले राष्ट्रिय रूपको शिक्षक आन्दोलन शिक्षककै बलमा, आन्दोलनकै बलमा पञ्चायतसँग लिएरै छोड्यौ।
शिक्षकलाई पेन्सनको व्यवस्था थिएन, अवकाश हुँदा रित्तो हात फर्कनु पर्थ्यो त्यसबेला। शिक्षक आन्दोलनको उपलब्धि नै मान्नु पर्छ शिक्षकले पेन्सन लगायतका सुविधा पाएकोलाई।
२०३६ सालमा देशभर ४०/४५ हजार शिक्षक थिए। शिक्षक आन्दोलनको नेतृत्व गर्दा नै सरुवा भएको हो। २०४२ सालमा राजीनामा मागिएको थियो। मैले राजीनामा दिइन। २०४४ सालमा त राजीनामा स्वीकृत नै भएर आयो। त्यसपछि मैले पढाउने काम छाडे।
अहिले शिक्षाको विकास होइन विस्तार भएको छ। पढे लेखेकालाई राख्दा फटाइ गरेर राज्य चलाउनेहरूलाई सजिलो नहुने। फटाइ गरेर राज्य सञ्चालन गर्ने जुन छुट लिइरहेका छन् उनीहरूले जानिबुझी युवाहरूलाई बाहिर धकेल्ने गरिरहेका छन्।
मुलुकलाई आयातित सामानको सो रुम बनाउने, आयातित सामानतिर लैजाने। परनिर्भरतातिर लैजाने काम गरिरहेका छन्। त्यसैले अहिलेका नेताहरूले ठिक गरिरहेका छैनन् भन्ने लागिरहेको छ।
(बद्री प्रसाद खतिवडासँग पहिचानले गरेको कुराकानीमा आधारित)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading