समानान्तर सम्मेलनले एनआरएनमा तरङ्ग, सत्ता गठबन्धन रबिनालाई समर्थन गर्ने तयारीमा    

समानान्तर सम्मेलनले एनआरएनमा तरङ्ग, सत्ता गठबन्धन रबिनालाई समर्थन गर्ने तयारीमा    

काठमाडौं : गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्व चयनका लागि चैत १० र ११ गते मतदान हुँदैछ। सङ्घको अध्यक्ष वर्तमान उपाध्यक्ष रबिना थापा र बद्री केसीले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन्। सरकारको नेतृत्व गरेको काँग्रेसको क्रियाशील समेत रहेकी थापा र प्रतिपक्षी एमाले निकटका केसी दुई जनाको अध्यक्षमा उम्मेदवारी परेको हो।
वर्तमान अध्यक्ष कुमार पन्तले एकलौटी प्रतिनिधि चयन गरेको भन्दै सङ्घका उपाध्यक्ष सोनाम लामाले समानान्तर सम्मेलनको धम्की दिएका छन्। पूर्वअध्यक्ष शेष घले, अध्यक्षमा पराजित कुल आचार्यसमेतको सहभागितामा उपाध्यक्ष लामाले समान्तर सम्मेलनको आयोजना गर्ने सूचनाले सङ्घमा तरङ्ग ल्याएको छ।
सङ्घका प्रवक्ता डिबी क्षेत्रीले विज्ञप्ति निकालेर गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष सोनाम लामाले सङ्घको विरुद्धमा समानान्तर सम्मेलनको आयोजना गरिएको भन्दै भ्रामक पत्राचार गर्ने र विभिन्न सञ्चार माध्यमलाई गलत सूचना प्रवाह गरेको देखिएकाले त्यस्ता गतिविधि प्रति सचेत रहन सङ्घका सम्पूर्ण सदस्यहरूलाई अपिल गरेका छन्।
विज्ञप्तिमा सङ्घको १० औँ महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तीव्र रूपमा भइरहेको लेखिएको छ। सङ्घको नयाँ नेतृत्व चयनको लागि निर्वाचनका अधिकांश प्रक्रियाहरू सम्पन्न भएर आगामी २४ र २५ तारिख मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिएका छन्।
यस्तै लामालाई सङ्घको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरूको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराइएको विज्ञप्तिमा लेखिएको छ। संस्थालाई अहित हुने कुनै पनि गतिविधिमा संलग्न भएमा सङ्घको विधान बमोजिम कारबाहीको प्रक्रिया समेत अघि बढाइने चेतावनी सङ्घले दिएको छ।
सङ्घले सम्पूर्ण प्रतिनिधिलाई आगामी मार्च २४ र २५ मा हुने निर्वाचनमा उत्साहपूर्ण सहभागिताको लागि अनुरोध पनि गरेको छ। चुनावको मिति नजिकिँदै जाँदा प्रतिनिधि विवादलाई समान्तर सम्मेलनको धम्की आइरहेका छन्।
नेपालका राजनीतिक दलहरू सङ्घको नेतृत्व चयन गर्न हुने १० औँ महाधिवेशनबारे मौन बसेका छन्। विवाद समाधान भएर मतदान हुने अवस्थामा सत्ता गठबन्धनले रबिनालाई सघाउने देखिएको एक नेताले बताए।
सङ्घमा अहिले पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ। अध्यक्षमा उम्मेदवारी दिएका थापा, केसी र चुनावी प्रक्रियामै सहभागी नभएका कुल आचार्यबीच एकएक वर्षे कार्यकाल सम्हाल्ने र विवाद समाधान गरेर एनआरएनएलाई विदेशमा बस्ने सबै नेपालीको साझा संस्था कायम राख्ने प्रयास भइरहेको सङ्घका वर्तमान पदाधिकारीहरूले बताएका छन्।
चुनाव नै हुने अवस्थामा थापा र केसीबीच प्रतिस्पर्धा हुने निश्चित छ। अन्तिममा सत्ता गठबन्धनले आफ्नो टिमलाई समर्थन गर्ने दाबी थापा नेतृत्वको समूहले गरेको छ। एमालेबिरोधी सत्ता गठबन्धन समर्थक प्रतिनिधिहरूले चुनावमा भाग लिएर आफूलाई अध्यक्षमा विजयी गराउने थापाको विश्वास छ।
थापा अमेरिकाबाट प्रतिनिधित्व गर्छिन्। केसी रसियाबाट प्रतिनिधित्व गर्छन्। थापाले नेपाली काँग्रेस जनसम्पर्क मञ्चमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन्।
उनले सङ्घभित्रको असन्तुष्टि भित्रै बसेर समाधान गर्नु पर्ने बताएकी छन्। पोखरी फोहोर भयो भनेर छोडेर हिँड्न नहुने र सफा गरेर सबैको साझा बनाउने पर्ने आफ्नो अभियान जारी रहेको थापाले बताइन।
सरकार, राजनीति दलहरूले साझा संस्थामा विग्रह आउन दिन नहुने काम गर्नु पर्ने थापाको सुझाव समेत छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.