गैरआवासीय नेपाली सङ्घमा झगडियाहरूले गरे पालैपालो अध्यक्ष बन्ने सहमति, पहिलो अध्यक्षमा रबिनाको दाबी  

गैरआवासीय नेपाली सङ्घमा झगडियाहरूले गरे पालैपालो अध्यक्ष बन्ने सहमति, पहिलो अध्यक्षमा रबिनाको दाबी  

काठमाडौँ : गैरआवासीय नेपाली सङ्घ एनआरएनएमा सहमति प्रणालीबाट नेतृत्व चयन गर्ने सहमति भएको छ। अध्यक्षमा उम्मेदवारी दर्ता गराएका र समानान्तर सम्मेलनमा लागेका गैरआवासीय नेपाली १० औँ महाधिवेशनमा विधान संशोधन गरेर सहमति प्रणालीबाट नेतृत्व गर्न सहमत भएका हुन्।
पालैपालो अध्यक्ष बन्ने सहमति गरेका रबिना थापा, कुल आचार्य र बद्री केसीले गैरआवासीय नेपाली सङ्घलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने सार्वजनिक सङ्कल्प पनि गरेका छन्।
उनीहरूले चैत १० र ११ गते हुने महाधिवेशनमा सबै डेलिगेट्सहरुलाई अनुरोध पनि गरेका छन्। थापा, आचार्य र केसीले निकालेको संयुक्त विज्ञप्तिमा ‘गैरआवासीय नेपाली सङ्घलाई एक स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रूपमा अक्षुण्ण राख्दै थप गरिमामय, प्रभावकारी, कार्यमूलक र सेवामुखी बनाउनका लागि प्रमुख राजनीतिक दलहरू एवं सम्बन्ध पक्षहरूलाई प्रतिबद्धता जाहेर गर्न अनुरोध गर्दछौ’ लेखिएको छ।
विधानमा संशोधन गरेर बहुपदिय व्यवस्था गर्ने सहमति तीन जनाले गरेका छन्। पहिलो पटकका लागि भन्दै विधानमा संशोधन गरेर एकएक वर्ष कार्यकाल सम्हाल्ने सहमति गरेका अध्यक्षका तीन उम्मेदवारले पहिलो, दोस्रो र तेस्रो कार्यकाल कसले सम्हाल्ने भनेर छलफल गरिरहेका छन्।
अमेरिकाबाट प्रतिनिधित्व गर्ने रबिनाले पहिलो कार्यकाल अध्यक्ष सम्हाल्न गरेको दाबीमा केसी र आचार्यले मुख खोलेका छैनन्।
सहमतिबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले सङ्घको अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको जानकारी दिएका छन्। ‘गैरआवासीय नेपाली सङ्घ एक रहन्छ, एकताबद्ध रहन्छ,’उनले भने, ‘यसले नेपालको सामाजिक तथा आर्थिक समृद्धिका लागि झनै प्रभावकारी र महत्त्वपूर्ण भूमिका खेल्दै जानेछ।’
त्यस्तै अध्यक्ष पदकी प्रत्याशी रबिना थापाले संस्थामा भएका विवाद समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताइन्। उनले अहिलेको एनआरएनएको अवस्थालाई सहमति, सहकार्य बेगर अघि लैजान नसकिने बताइन्। ‘यो संस्थाको विभिन्न किसिमको समस्या, झैझगडा, विवादहरू थिए। यी विवादलाई अन्त्य गरी संस्थालाई बलियो बनाउन इमानदारितापूर्वक काम गरिरहेका छौँ’,अध्यक्षकी प्रत्याशी थापाले भनिन्,‘अहिलेको एनआरएनएको अवस्था सहमति, सहकार्यबेगर यसलाई अघि लैजान गाह्रो छ।’
यो महाधिवेशनपछि सहमति प्रणालीबाट नेतृत्व गर्ने निर्णय भएको पनि अध्यक्षकी प्रत्याशी थापाले बताइन्।
त्यस्तै अध्यक्षका प्रत्याशी डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा वृहत् आम सहमति गर्नुबाहेक विकल्प नभएको बताए। उनले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको उल्लेख गरे। तीनै जना अध्यक्षका प्रत्याशी मिलेर संस्थालाई अघि बढाउने उनले बताए।
त्यस्तै अध्यक्षका प्रत्याशी कुल आचार्यले पदका लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए। ‘हामी सबै पदको लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेका छौँ। हामी राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेका छौँ’,अध्यक्षका प्रत्याशी आचार्यले भने,‘पहिला भएका कमी कमजोरीलाई नियालेर सबैलाई समेट्दै अघि बढ्न चाहन्छौँ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.