"/>
काभ्रे : बिपी राजमार्गमा पर्ने काभ्रेको नमोबुद्व नगरपालिका वडा नम्बर २ लाकुरीबोटमा गाडी चल्ने सडक पहिराले बगाएको छ। मुस्किलले मोटरसाइकल पार हुने सडकको छेउमा रहेको पोशाक लामाको घर पहिरोको जोखिममा परेको छ।
पहिरोले सडक भत्काएपछि गाडी चल्न बन्द भएको छ। सङ्कलित दुग्ध बजार पुर्याउन सकस परेको छ। ठुलो पानी पर्दा बग्ने भेलले सडक भत्काउने र गाडी बन्द हुने समस्या झन्डै तीन दशकदेखि कायम छ।
पहिरोमा ढुङ्गा चिनेर बनाइएको पर्खाल माथिबाट बग्ने भलको उचित व्यवस्थापन नहुँदा भत्किएर पैदल हिँड्नै डरलाग्दो भएको छ। लाकुरीबोटका स्थानीय हरेक वर्षाको समयमा पहिरोले सडक बन्द हुने समस्या भोगिरहेका छन्।
पञ्चायती शासन व्यवस्थासम्म साबिकको फूलबारी मथुरापाटी गाविसका स्थानीय धुलिखेलसम्म पैदल नै ओहोरदोहोर गर्थे। बहुदलीय व्यवस्थापछि नै बिपी राजमार्गमा गाडी चल्न थालेको हो।
राजमार्गको पात्लेगाउँबाट जम्मा चार किलोमिटरको दुरीमा रहेको लाकुरीबोटका स्थानीयले गणतन्त्र स्थापनाको एक दशकसम्मपनि कच्ची सडकमै चित्त बुझाउनु परेको छ। संविधान कार्यान्वयनको पहिलो चरण २०७४ मा स्थानीय तहका उम्मेदवारले पानी पर्दा पनि गाडी चलाउन मिल्ने सडक बनाउने आश्वासन दिए।
‘एक घर एक धारा’ को नारा नारामै सीमित गराइदिए जनप्रतिनिधिले। स्वच्छ पानी खाने स्थानीयको चाहना पाँच वर्षसम्म पुरा गरेनन्। जनप्रतिनिधिले कुखुरालाई कनिका छरेजस्तो बजेट वितरण गरेर जमिन भत्काउँदै डोजरे विकास गरे।
चुनाव जितेर गएका प्रतिनिधिले हरेक वर्ष कच्ची सडक मर्मत सम्भारका नाममा लाखौँ, करोडौँ बजेट विनियोजन गराए पनि पाँच वर्षसम्म सडकको अवस्था उस्तै छ। अब फेरी दोस्रो कार्यकालका लागि स्थानीय तहमा चुनाव हुँदैछ।
लाकुरीबोटका स्थानीयलाई पनि यो चुनावले मज्जैले लागेको छ। चुनावमा पक्ष विपक्षमा चर्काचर्की नै परे पनि चुनाव अगाडि गाडी चलाउन मिल्ने गरी पहिरोको व्यवस्थापन हुन भने कठिन रहेको वडा सदस्य मदन श्रेष्ठ बताउँछन्।
दोहोर्याएर सदस्यमै चुनाव लड्दै गरेका उनी पहिरोको समस्या समाधान चुनावपछि हुने बताउँछन्। उम्मेदवारहरूले घरदैलो गर्दा गाडी चल्ने सडक पहिरोले मोटरसाइकल पनि पार नहुने अवस्थामा पुग्दा जनप्रतिनिधिहरूलाई बाटो बनाउने भन्दा चुनाव जित्नकै ध्याउन्न छ। कार्यकर्तालाई जासुसी बनाएर टोलटोलमा खटाउन सक्ने उम्मेदवार तिनलाई जनश्रमदानमा लगाउन चुकिरहेका छन्।
मतदातालाई गुलिया आश्वासन दिएर चुनाव जितेका नगरका जनप्रतिनिधि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन्। अख्तियारले कागजपत्रको पोको नै बोकेर गएको वडा अध्यक्षका उम्मेदवार कविराज श्रेष्ठ बताउँछन्।
‘दल होइन, व्यक्ति र विकास हेरौँ’ उनले नारा नै बनाएका छन्। अघिल्लो पटक लोकतान्त्रिक फोरमबाट अध्यक्षको उम्मेदवार बनेका उनी अहिले गठबन्धनको साझा उम्मेदवार छन्।
उनीसँग वर्तमान वडा अध्यक्ष सञ्जीव ढकाल प्रतिस्पर्धामा उत्रिएका छन्। पुन अध्यक्षमा दोहोरिन खानेपानी र सडककै आश्वासन दिएका उम्मेदवारलाई लाकुरीबोटको यो पहिरोले भने गिज्याइरहेको छ।
स्थानीय यो पटक गाउँको विकास गर्ने प्रतिनिधि चुनिनेमा ढुक्क छन्। उनीहरू चुनावमा भोट माग्ने उम्मेदवारलाई सडक, खानेपानी, शिक्षा र स्वास्थ्यका योजना मागिरहेका छन्। आश्वासन दिने तर चुनाव जितेपछि काम नगर्ने उम्मेदवारका अध्ययन बिनाका योजनाले स्थानीय मतदातामा निराश पनि बनाएको छ।
२०३० सालदेखि कम्युनिस्ट राजनीतिमा लागेका काभ्रेकै बनेपा नगरपालिका नालाका लोकनाथ बजगाईँले यो पटकको चुनावमा दल बदलेका छन्। ७६ वर्षका बजगाईँ आशा भन्दा धेरै निराशाको बादल मडारिरहेको देख्छन्। बजगाईँले देखेको आशा र निराशाको भिडियो सुन्न यहाँ क्लिक गर्नुहोला।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.