काठमाडौं : बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्।
शर्माले प्रतिनिधि सभाको रोष्टममा उभिएर अर्थमन्त्रीबाट राजीनामा दिएका हुन्। शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन्।
राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाको सिफारिसमा देउवालाई नै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको जानकारी दिएको छ।
प्रतिनिधि सभाको बैठकमा शर्माले आफूमाथि भ्रम फैलाएको भन्दै सच्चाइको गहिराइमा नपुगी आरोप लगाएको गुनासो गरेका छन्। शर्माले आफूमाथि लागेको आरोपको छानबिन गर्न गठन भएको समितिको स्वागत गर्दै समितिको छानबिनमा आफ्नो सहयोग रहने बताए। छानबिनबाट आफू निर्दोष साबित हुने बताउँदै शर्माले फेरी अर्थमन्त्रीमै फर्कने दाबी समेत गरेका छन्।
प्रतिनिधिसभाले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेका प्रश्नको छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको छ।
सभामुख अग्नि सापकोटाले गठन गरेको ११ सदस्यीय समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव छन्।
समितिले आवश्यकताका आधारमा सभापति चयन गर्न सक्ने व्यवस्था गरिएको छ। समितिलाई १० दिनको समय दिइएको छ। समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ।
बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सिसिटिभी फुटेज मेटाएको आरोप समेत शर्मालाई लागेको छ। उपभोक्ता हित संरक्षण मञ्चले जेठ १४ गतेको फुटेज माग गर्दा अर्थ मन्त्रालयले १३ दिनको मात्र फुटेज क्षमता भएको जवाफ दिएको थियो।
अर्थ मन्त्रालयको सिसिटिभी फुटेज गायब भएपछि प्रतिपक्षी एमालेले मात्रै नभएर नागरिक समाजबाट समेत अर्थमन्त्री शर्माको राजीनामा माग भएको हो। सिसिटिभी फुटेज गायब गरेर गैर जिम्मेवार काम गरेको भन्दै शर्माको चौतर्फी आलोचना भएको थियो।
अर्थमन्त्री र मन्त्रालय विवादमा तानिएपछि अर्थ सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्। सचिव मरासिनी बिदामा बसेपछि शर्मालाई पदबाट राजीनामा दिन नैतिक दबाब समेत पर्यो र संसद्को रोष्टममा उभिएर राजीनामाको घोषणा गर्नु पर्यो।
शर्माको दल नेकपा माओवादी केन्द्रले पनि छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने भएको छ। छानबिन नसकेसम्मका लागि माओवादीले अर्को व्यक्तिलाई अर्थमन्त्री नबनाउने माओवादी नेता वर्षमान पुनले बताए।
संसद्मा राजीनामा दिँदै जनार्दन शर्माको दिएको अभिव्यक्ति
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.