पाँच दलको चुनावी तालमेल

प्रधानमन्त्री देउवाले ओलीसँग फोन गर्न प्रयास गरे, तर संवाद भएन

प्रधानमन्त्री देउवाले ओलीसँग फोन गर्न प्रयास गरे, तर संवाद भएन

काठमाडौँ : प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतदान गर्ने दिन आउन १०६ दिन बाँकी छ। चुनावको मिति तोक्ने निर्णयसँगै सत्ता गठबन्धन दलले चुनावी तालमेल गर्ने निर्णय गरेका छन्।
प्रतिपक्षी नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बैठकमा अध्यक्ष केपी ओलीले जसरी पनि चुनाव जित्ने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। चुनावको मिति तोक्ने निर्णय गर्नु अगाडि प्रतिपक्षीसँग छलफल गर्ने परम्परा तोडिएको आरोप एमालेले लगाएको छ।
परम्परा तोड्न नखोजेको जवाफ सरकारले दिएको छ। सत्ता गठबन्धन पाँच दलको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचन आयोगको परामर्श अनुसार नै सरकारले चुनावको मिति तोकेको बताए।
निर्वाचनको मिति घोषणा गर्न मन्त्रीपरिषद् बस्नुभन्दा पहिला प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी दलका नेतालाई टेलिफोन गर्न खोजेको तर कुराकानी हुन नसकेको उनले बताए। ‘प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीसँग फोन गर्नलाई कोसिस गर्नु भएको थियो, त्यसबेला म पनि उपस्थित छु,’प्रवक्ता कार्कीले भने, ‘तर संवाद हुन सकेन।’
मङ्सिर ४ मा चुनाव : दसैँ लगत्तै उम्मेदवारको मनोनयन, आइतबारदेखि दल दर्ता
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गरेको छ। निर्णयमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।
तालमेलका लागि आगामी दिनमा निरन्तर छलफल गरी टुङ्गोमा पुग्ने सरकारका प्रवक्ता कार्कीले बताए। उनले सिट बाँडफाँडको टुङ्गो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदल बन्ने जानकारी दिए। मन्त्रीपरिषद्को बिहीबारको बैठकले मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको थियो।
प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली भने सत्ता गठबन्धन दलविरुद्ध उत्रेका छन्। उनले गठबन्धनलाई गन्तव्य विहीन भनेर आरोप लगाए। मोहनविक्रम सिंहको गन्तव्य प्युठानसम्म मात्रै हो भनेका ओलीले शेरबहादुर देउवाको गन्तव्य आ‘रजु’म्याडम साइ बादेखि प्रचण्डलाई सुपुत्रीसम्मको गन्तव्यको आरोप लगाए।
भक्तपुरमा भएको कार्यक्रममा ओलीले पार्टी फुटाएर एकीकृत नेकपा समाजवादी गठन गरेका माधव नेपालको कुनै गन्तव्य नै नभएको आरोप पनि लगाए। ‘माधव नेपालको कुनै गन्तव्य छैन, छटपटीमै बित्छ,’ओलीले भने,‘गठबन्धनका नेताहरूको कुनै गन्तव्य छैन,गलत उद्देश्यका लागि लुटपाट मच्चाउन गठबन्धन बनेको हो।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.