निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आइसिटी स्कलरसिप

क्यान महासङ्घको १ करोड ९५ लाख ५८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति

क्यान महासङ्घको १ करोड ९५ लाख ५८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति

469
SHARES

काठमाडौं : कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले प्राविधिक शिक्षा तर्फ विगत चार वर्ष देखि प्रदान गर्दै आइरहेको छात्रवृत्तिको ‘नेसनल आइसिटी स्कलरसिप– २०७९’ को लागि आवेदन खुल्ला गरेको छ।
क्यान महासङ्घले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरूको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीहरूको लागि छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। क्यान महासङ्घका अनुसार यो छात्रवृत्ति काठमाडौँको मैतीदेवीमा दुई दशकभन्दा बढी समय देखि सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंगको सहकार्यमा सुरु गरिएको हो। यो छात्रवृत्ति मार्फत यस वर्ष ४९ जना विद्यार्थीहरूलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको महासङ्घले जनाएको छ।
‘नेसनल आइसिटी स्कलरसिप– २०७९’ मा देशका सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिनेछ।
क्यान महासङ्घले विगत चार वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरू अध्ययनरत रहेका जनाएको छ। यो वर्ष पनि फिमेल मेरिट आइसिटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने आइसिटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिने क्यान महासङ्घले निकालेको विज्ञप्तिमा लेखिएको छ।
क्यान महासङ्घ र कलेजबिच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले १ करोड ९५ लाख ५८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन्। छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिर्भसिटि अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह अन्तर्गत वि.एस.सी.आइटिको अध्ययन गर्न पाउनेछन्।
नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अङ्कसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अङ्क ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्। छात्रवृत्तिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरूले पनि आवेदन दिन सक्नेछन्।
छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासङ्घले केन्द्रीय स्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दीपेन्द्र कुमार सिंह तथा केन्द्रीय सदस्यद्वय सरिता सिंह र भीम मल्ल रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ ।
छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासङ्घको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org मार्फत २०७९ साल भदौ ९ गतेभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्म दर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिस पत्र पेस गर्नुपर्नेछ। छात्रवृत्तिका निम्ति प्राप्त आवेदकहरूको अनलाइन परीक्षा २०७९ साल भदौ १० गते हुनेछ भने २०७९ साल भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा हुने गरी कार्यक्रम मिलाइएको क्यान महासङ्घले जनाएको छ।
छात्रवृत्ति मार्फत देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरूले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई आफ्नो पेसा र व्यवसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने क्यान महासङ्घका अध्यक्ष नवराज कुँवरले बताए।
क्यान महासङ्घसँगको सहकार्यले देश भित्र रहेको डिजिटल डिभाईड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थाहरूलाई पनि सार्वजनिक-निजी साझेदारीको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई. पङ्कज जालानले बताए।

समाचार शेयर गर्नुहोस्
469
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.