"/>
प्रदेश र प्रतिनिधि सभा चुनाव

तीज विशेष कार्यक्रममा उदय शमशेरले घोषणा गरे उम्मेदवारी, बाटो पिच गर्ने दिए आश्वासन

तीज विशेष कार्यक्रममा उदय शमशेरले घोषणा गरे उम्मेदवारी, बाटो पिच गर्ने दिए आश्वासन

19k
SHARES

काठमाडौं : नेपालमा चाडपर्वको मौसम चलिरहेको छ। साउन २७ मा जनै पूर्णिमा र गाईजात्रा पर्व सकिएको छ। नेपाली महिलाको विशेष पर्व तीज मङ्गलवार मनाउँदै छ।
कोरोना भाइरस सङ्क्रमणका कारण केही वर्ष घरघरमै सीमित थिए पर्वहरू। यो वर्ष सङ्क्रमणको जोखिम कम भएसँगै भिडभाड र गुचमुच्च भएर मनाइने पर्वले उमङ्ग भरेका छन्।
पार्टी प्यालेसदेखि स्कुल कलेजमा तीज विशेष कार्यक्रम भइरहेका छन्। महाङ्काल गाउँपालिकाले पनि तीज विशेष प्रतियोगितात्मक गायन एवं दर कार्यक्रम गरेको छ।
दर खाने निम्तो मान्न पुगेका काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थराज्यमन्त्री उदयशमसेर राणाले पाँच वर्षपछि गाउँ फर्किएको बताए। पालिकामा गठबन्धनका उम्मेदवार विजयी भएपछि उनी पुगेका हुन्। यसअघि पालिका प्रमुखमा एमाले विजयी भएको थियो।
मङ्सिर ४ मा हुन लागेको प्रदेश र प्रतिनिधि सभा चुनावको उम्मेदवार बन्ने घोषणा पनि उनले सुनाए। गठबन्धन दलले सिट बाँडफाँडको टुङ्गो नलगाए पनि राणा प्रतिनिधि सभा ललितपुर क्षेत्र नम्बर एकको उम्मेदवार बन्ने र सबै महिला दिदीबहिनीको माया पाउनेमा आशावादी छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका राणाले आफू चुनावमा निर्वाचित हुने दाबी समेत सुनाए। गाउँपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारी निर्वाचित भएसँगै आधा चुनाव जितिसकेको भन्दै जिम्मेवारी बढेको उनले बताए।
बाटो पिच गर्ने नारा
ललितपुरको दक्षिण भेगमा पर्छ गोटीखेल र चन्दनपुर। पञ्चायतकालमा केशरबहादुर विष्टको आधार इलाका मानिन्थ्यो दक्षिण ललितपुर। उनी त्यहीबाट पटक पटक चुनाव जितेर मन्त्री समेत बने। उनकै पालामा चाँपागाउँ लेलेदेखि गोटीखेल चन्दनपुरसम्म मोटर बाटो बन्यो। बहुदलीय व्यवस्थामा एमालेको आधार इलाका बन्यो दक्षिण ललितपुर। तर कच्ची बाटो पक्की बन्न सकेन।
संविधान सभाको पहिलो निर्वाचनमा वर्षमान पुन अनन्तले दक्षिण ललितपुरबाट चुनाव जिते र अर्थमन्त्रीसम्म बने। उनको पालामा ठाउँ ठाउँमा पिच भए पनि अहिले त्यो पिच भत्किएर खाल्डाखुल्डी परेको छ। त्यही बाटो हुँदै गोटीखेल पुगेका काँग्रेस नेता राणाले लेले चन्दनपुर बाटो पिच गर्ने आश्वासन दिए। ‘मध्यमार्गी बाटो बनेको छैन, लेले चन्दनपुरको बाटो मैले आँखाले देखेको छु,’राणाले भने,‘यहाँका नागरिकले दुख पाएको महसुस गरेको छु।’
उनले पाँच वर्षमा महाकांल गाउँपालिकाको विकास हुन नसकेको बताए। ‘अबको चुनावमा म लडे पनि नलडे पनि, जिते पनि नजिते पनि बाटो पिच गर्ने वचनबद्धता दिन चाहन्छ,’उनले भने,‘हामी सबै मिलेर यो बाटोलाई पिच गर्ने र मध्यमार्गी बाटोलाई व्यवस्थित गर्ने जिम्मेवारी भएको बचन दिन चाहन्छु।’
विकासमा महिला
नेपालको संविधानले महिला र पुरुषलाई समान अधिकार दिएको छ। महिला र पुरुष भन्दा फरक लैङ्गिक पहिचानका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले पहिलो पटक संवैधानिक अधिकार पाएका छन्। समानुपातिक समावेशी सिद्धान्त अनुसार ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ।
नेपालको कुल जनसङ्ख्यामा भने पुरुष भन्दा महिला धेरै छन्। काँग्रेस नेता राणाले महिला र पुरुष सँगसँगै मिलेर महाकांल पालिकाको मुहार फेर्नुपर्ने सुनाए। ‘महिला दिदीबहिनीले हामी पुरुषहरूको घर व्यवस्थित गरेर, बच्चाहरू व्यवस्थित गरेर बस्नु भएको छ,’उनले भने,‘कतिपय त विभिन्न अफिस, व्यापार गरेर पनि घरलाई आफ्नो परिवारलाई सपोर्ट र व्यवस्थित गर्ने महिला दिदीबहिनीहरूलाई यो तीजको समयमा हामी सबै पुरुषहरूले धन्यवाद दिनु पर्ने जरुरी छ।’
उनले तीज पर्व पुरुषका लागि पनि महत्त्वपूर्ण चाड भएको बताए। ‘महिलाको निम्ति मात्र होइन, हामी पुरुषको निम्ति पनि तीज अत्यन्तै महत्त्वपूर्ण चाड हो,’राणाले भने,‘केही वर्षदेखि नेपालका जिल्लामा, पालिकामा, टोलमा अत्यन्तै रमाइलो हिसाबले दर खाने मात्रै होइन, नाचेर मनोरञ्जन गर्ने एउटा चलन पनि चलेको छ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.