निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बच्चा चोरेको आरोपमा लैङ्गिक अल्पसङ्ख्यकमाथि कुटपिट

बच्चा चोरेको आरोपमा लैङ्गिक अल्पसङ्ख्यकमाथि कुटपिट

672
SHARES

सिराहा : बच्चा चोरको आरोपमा सिराहाको विष्णुपुर गाउँपालिका– ५ लक्ष्मीपुर चोकमा दुई जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकमाथि निर्घात कुटपिट भएको छ। जिल्लाको कल्याणपुर नगरपालिका– ९ डुमरीका ४३ वर्षीया मुन्नी किन्नर र धनुषा हंसपुर मलहनियाका–४७ वर्षीया चन्दा राउतलाई स्थानीय केही व्यक्तिले निर्घात कुटपिट गरेका हुन्।
‘सिराहाको थलहामा दिदी बिरामी रहेको खबर पाएपछि लहानबाट साथी (चन्दा)सँग गएकी थिएँ,’ मुन्नीले भनिन्, ‘लक्ष्मीपुर चोकमै दिदी भेटिएपछि लहानबाट लगेको तरकारी र स्याउ दिएर फर्किन लागेका थियौँ। एक्कासि कुटपिट भयो।’ उनीहरू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको पक्षमा काम गर्दै आएको नील हिरा समाजमा आबद्ध छन्।
मुन्नीका अनुसार सुरुमा लक्ष्मीपुर चोकमा कपडा पसल चलाउँदै आएका स्थानीय मञ्चन यादवले केरकार गरे। आफ्नो भिजिटिङ कार्ड देखाउँदै परिचय दिँदा पनि यादवको नेतृत्वमा स्थानीय १५–२० जनाको समूहले कुटपिट गरेको उनले बताइन्। कुटपिटबाट मुन्नीको शरीर, हात र अनुहारका विभिन्न भागमा चोटपटक लागेको छ भने चन्दाको टाउको र ढाडलगायतका अङ्गमा चोटपटक लागेको छ। मुन्नी राम्ररी हिँडडुलसमेत गर्न नसक्ने भएकी छिन्।
‘अस्तित्वमाथि धावा, मानव अधिकारको हनन’
घटनापछि लहानस्थित नील हिरा समाजले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भएकै कारण बच्चा चोरको आरोप लगाएर निर्घात कुटपिट गरिनु आफूहरूको अस्तित्वमाथि धावा र मानव अधिकारको हनन भएको जनाएको छ।
‘आफ्नो परिचय, आबद्धताको प्रमाण देखाउँदा देखाउँदै त्यसरी कुटपिट गरिँदा हिँडडुल गर्नसमेत असुरक्षित महसुस हुन थालेको छ,’ आइतबार बिहान लहानमा आयोजित पत्रकार सम्मेलनमा समाजका कार्यक्रम संयोजक लक्ष्मेश्वर प्रसाद यादवले भने, ‘त्यसको विरुद्ध कानुनी उपचार खोज्छौँ।’
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भएकै कारण विना कारण कुटपिट भइरहेको खबर पाएपछि प्रहरीले नै उद्धार गरी जोगाएर सिराहा ल्याएको बताए। पीडितहरूले कानुनी उपचारका लागि लिखित उजुरी दिए त्यसका लागि प्रहरीले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बुढाथोकीले बताए।

समाचार शेयर गर्नुहोस्
672
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.