यूएनएफपिएको सहयोग

‘अस्थायी टहरा तथा आश्रयस्थलमा लैङ्गिक हिंसाको जोखिम’

‘अस्थायी टहरा तथा आश्रयस्थलमा लैङ्गिक हिंसाको जोखिम’

काठमाडौँ : अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा गएको बाढी पहिरोले जनधनको क्षति हुनुका साथै धेरै मानिस विस्थापित भएका छन्।
विस्थापितहरूका लागि सहयोग स्वरूप संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए) ले प्रदेश तथा स्थानीय सरकारहरूसँगको साझेदारीमा महिला तथा किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यकता सम्बोधन गर्न अत्यावश्यक प्रजनन स्वास्थ्य सामग्रीका साथै डिग्नीटी किट र किशोरी किटहरू वितरण गरेको जनाएको छ।
यूएनएफपिएले दार्चुला जिल्ला अस्पताललाई पाँच सेट र महाकाली नगरपालिकाको वडा नम्बर २ मा पूर्णत क्षति भएको एक स्वास्थ्य चौकीलाई दुई सेट प्रजनन स्वास्थ्य सामग्री (आर.एच. किट्स) प्रदान गरेको जनाएको छ। प्रजनन स्वास्थ्य सामग्री (आर.एच. किट्स) मा यौनजन्य सङ्क्रमणहरूको उपचार गर्न, सुत्केरी गराउन र प्रसूति सम्बन्धी जटिलताको व्यवस्थापन गर्न र बलात्कार भएको अवस्थामा उपचारका लागि आवश्यक औषधी तथा सामग्री रहेको यूएनएफपिएले जानकारी दिएको छ। आर.एच. किट्समा परिवार नियोजनका साधनहरू समेत राखिएको छ।
जिल्ला अस्पताल दार्चुलाका मेडिकल सुपरिटेन्डेन्ट आदर्श लिम्बुले विपत्का बेला महिला तथा किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवालाई निरन्तरता दिन यूएनएफपिएको सहयोगले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी एजेन्सीको रूपमा यूएनएफपिएले सुदूरपश्चिम प्रदेशका दार्चुला, अछाम र कैलाली जिल्लामा विपत्का कारण विस्थापित महिला तथा किशोरीहरूका लागि ४ सय ६२ डिग्नीटी किट्स र २ सय ७० किशोरी किट्स पनि वितरण गरेको जनाएको छ।
गर्भवती र सुत्केरीसहित महिला तथा किशोरीहरूको महिनावारी लगायत आधारभूत स्वच्छता तथा सुरक्षाको सुनिश्चितताका लागि डिग्नीटी किट्स र किशोरी किट्स वितरण गरिएको हो। उक्त किट्सहरुमा विपत्का बेला महिला तथा किशोरीका लागि चाहिले अत्यावश्यक सामग्रीहरू राखिएका छन्। उक्त सामग्रीहरू वितरणसँगै यूएनएफपिएले यौन तथा अन्य हिंसाको जोखिम सम्बोधन गर्न हिंसा रोकथाम सम्बन्धी सन्देश तथा त्यससम्बन्धी सेवा प्रवाह गर्ने निकायहरूको नाम, टेलिफोन नम्बर तथा जानकारी समेत प्रदान गरेको छ।
यूएनएफपिए नेपाल प्रतिनिधि योङ्ग होङ्गले मानवीय विपत्का बेला विद्यमान लैङ्गिक विभेद तथा यौन तथा प्रजनन स्वास्थ्यमा गरिने बेवास्ताका कारण महिला तथा किशोरीहरू सबैभन्दा बढी प्रभावित हुने बताइन। ‘अझ प्रभावितहरूका लागि व्यवस्था गरिएका अस्थायी टहरा तथा आश्रयस्थलमा लैङ्गिक हिंसाको जोखिम बढी हुन्छ,’उनले भनिन्,‘सुदूरपश्चिममा मात्र होइन मुलुकका अन्य भागमा समेत मानवीय विपत्का बेला महिला तथा किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी आवश्यकतालाई प्रभावकारीरुपमा सम्बोधन गर्नका लागि सरकार तथा प्रमुख सरोकारवालाहरूलाई तयारी अवस्थामा रहुन् भनेर सुनिश्चित गर्न यूएनएफपिए प्रतिबद्ध छ।’
मानवीय विपत्का बेला महिला तथा किशोरीहरूले यौन तथा प्रजनन स्वास्थ्य तथा लैङ्गिक हिंसा सम्बोधन गर्ने सेवाहरू निरन्तररुपमा पाईरहुन भनेर सुनिश्चितता गर्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मध्य तथा दीर्घकालीन आवश्यकताहरू पहिचान गर्नका लागि सरकारलाई सहयोग पुर्‍याउन साझेदार संस्थाहरूसँग कार्य गरिरहेको यूएनएफपिएले जनाएको छ।
यूएनएफपिएले मानवीय विपत्लाई प्रभावकारीरुपमा सम्बोधन गर्न अस्ट्रेलिया र बेलायत सरकार तथा युरोपियन युनियनको सहयोगमा विभिन्न किसिमका ७० सेट यौन तथा प्रजनन स्वास्थ्य सामग्री (आर. एच. किट्स्) एवं १० हजार भन्दा बढी डिग्नीटी र किशोरी किट्सहरु तयारी अवस्थामा राखिएको जानकारी पनि दिएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.