निर्वाचन आचारसंहिता

उम्मेदवारलाई बधाई तथा शुभकामना दिने कर्मचारी र शिक्षक निलम्बनमा पर्ने

उम्मेदवारलाई बधाई तथा शुभकामना दिने कर्मचारी र शिक्षक निलम्बनमा पर्ने

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारबाही सुरु गरेको छ। आयोगले विज्ञप्ति निकालेर कतिपय कर्मचारी तथा शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाइ बधाई र शुभकामना दिएको पाइएकाले कारबाही सुरु गरेको जानकारी दिएको हो।
राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्रीहरूको शेयर र लाइक गरेको समेत पाइएकाले उनीहरूमाथि आवश्यक कारबाही थालेको आयोगले जनाएको छ। आयोगका अनुसार निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरू राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको अनुगमनका क्रममा पाइएको छ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम आचारसंहिताको अनुगमन र कारबाहीको प्रबन्ध रहेको छ। आयोगले त्यस्ता कर्मचारीलाई स्पष्टीकरणको मौका दिई दोषी देखिएमा सचेत, विभागीय कारबाही वा निलम्बनसम्मको कारबाहीका लागि सम्बन्धित निकायलाई आदेश दिन सक्ने उक्त दफामा उल्लेख छ।
निर्वाचन आचारसंहिता : हेट स्पिच जस्ता भ्रामक टिप्पणी गर्न नहुने
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता अनुगमनका क्रममा कर्मचारीले पालन गर्नुपर्ने आचरण उलङ्घन गरेको पाइएको आयोगले जनाएको छ। आचारसंहिताको दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ।
उक्त दफाको (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ। सोही दफाको (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारमा सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ।
आचारसंहिताको दफा ९ मा निर्वाचनको काममा संलग्न कर्मचारीले पालना गर्नुपर्ने आचरण, दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण, दफा, ११ मा सरकारी वा गैरसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचरण र दफा १२ मा गैरसरकारी संस्था, विकास साझेदार संस्था, सम्बद्ध पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ती कर्मचारीले आचारसंहिताको प्रतिकूल हुने गरी कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार नगर्न ध्यानाकर्षण गराएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.