नेपालबाट विदेश जानेको सङ्ख्या बढिरहेको छ। विदेशी शिक्षा र विदेशकै काममा नेपालीको आकर्षण बढिरहेको छ। माध्यमिक शिक्षा उत्तीर्ण हुन नपाउँदै अधिकांश विद्यार्थीको चाहना विदेश जाने नै हुन थालेको छ।
रोजगारी, व्यापार व्यवसाय गर्ने विचार थोरै नेपालीमा मात्र छ। उच्च शिक्षा र राम्रो आम्दानी हुने देखेपछि अमेरिका, अस्ट्रेलियालगायत युरोपका विभिन्न मुलुक जाने नेपालीको सङ्ख्या बढिरहेको छ।
विदेशमा नेपाली पठाउन पाइलैपिच्छे खुलेका छन् कन्सल्टेन्सी। झुन्डाइएका छन् साइनबोर्ड। सरकारबाट अनुमति लिएका हुन् होइनन् अनुगमन शून्य छ। नियमन गरेको छैन सरकारले। विदेश जाने नेपालीको सङ्ख्या बढेसँगै कन्सल्टेन्सीको नाममा ठगी धन्दा मौलाएको छ। विदेश पठाउँछु भनेर पैसा लिने तर यही अलमलाएर राख्ने कन्सल्टेन्सीलाई कारबाही भएको कम मात्रै सुनिन्छ।
कन्सल्टेन्सीको ठगी धन्दामा परेकाहरू तनावमा परेका छन्। कन्सल्टेन्सीले विदेश पनि नपठाउने, पैसा पनि फिर्ता नदिने। पढे लेखेकालाई नै कन्सल्टेन्सीले ठगेको छ भने नपढेका, अक्षर नचिन्नेलाई म्यानपावर कम्पनीले कति ठगेको होला? उच्च शिक्षा हासिल गर्न जानेलाई कन्सल्टेन्सीका सञ्चालकले उल्लु बनाइरहेका छन्।
आज र भोलि भन्दै तिनलाई झुलाउने काम भइरहेको छ। ऋण धन गरेर, जायजेथा बेचेर २० देखि २५ लाख बुझाउनेहरू बिचल्लीमा परेका छन्। उनीहरूलाई बिचल्ली बनाएर कन्सल्टेन्सीका सञ्चालक भने दुला पसेका छन्। ऋण लिएको ठाउँमा व्याज तिर्दाको हैरानी छुट्टै छ। छोराछोरीले बाहिर गएर कमाउलान् भनेर बाबुआमाले ऋण त लिए तर, अहिले त्यो पैसा ‘निल्नु न ओकल्नु’ भएको छ।
सबै डकुमेन्ट र पैसा बुझाएको एक महिनामा उडाउँछु भनेर सञ्चालकले आश्वासन त दिए तर, तीन महिना बितिसक्दा पनि यही झुलाएर बस्न परेकाहरू भेटिन्छन्। एकातिर पढाइ बिग्रियो अर्कोतिर भएको जागिर पनि छुट्यो। विदेश जाने त हो भनेर कलेज भर्ना गरेनन्। खाइरहेको जागिर पनि छोडेर अहिले बेरोजगार भएर बस्नुपर्ने बाध्यता छ। विदेश जानका लागि पैसा दिइसकेका विद्यार्थीहरू मर्कामा परेका छन्।
कन्सल्टेन्सीले विदेश पठाइदिन्छु भनेर ७ अर्ब बढी रकम लिएको बताइए पनि सोधखोज गर्ने निकाय नभएको जस्तो देखिन्छ। पैसा बुझाएको एक वर्ष बितिसक्दासम्म नपठाएको विद्यार्थीहरूको गुनासो छ। दैनिक कन्सल्टेन्सीको चक्कर लगाउन बाध्य छन् विद्यार्थीहरू। आज, भोलि गर्दागर्दै वर्ष दिन बितिसक्दा पनि कन्सल्टेन्सीहरुले विदेश पठाउन चासो देखाएका छैनन्। जसले गर्दा विद्यार्थीहरू रन्थनिएका छन्।
नेपालमा पछिल्लो समय देखिएको बेतिथि हो यो। जो कोही पनि विदेश जाने सपनाको पछि दौडिदिएका छन्। जति पैसा विदेश जान खर्च लाग्छ, त्यति नेपालमा लगानी गर्ने हो भने एउटा व्यवसाय सञ्चालन गर्न सकिन्छ। तर, त्यो सोच हाम्रा देशका विद्यार्थीमा छैन। अरू गएको देखेपछि आफूलाई पनि जानुपर्ने यस्तो चलन छ नेपालमा। देखासिकी गर्ने बानी व्यवहार अझै पनि हट्न सकेको छैन।
आफ्नो मातृभूमिलाई घृणित बनाउँदै विदेशतिर दौडाउनु कति लज्जास्पद विषय हो। नेपालमा रोजगारीको अवसर छैन, व्यापार व्यवसाय गर्न सकिदैन्, राजनीतिक ठिक छैन भन्ने आरोप लगायो तर, गरे त यहाँ पनि सबै कुरा सम्भव छ। कतिपयले विदेश छोडेर नेपाल आएर मासिक लाखौँ कमाएका पनि छन्। तर पढे लेखेकालाई त यी काम गर्न लाज लाग्छ।
बरु, विदेशमा गएर भाँडा धुन, पसलमा काम गर्न र खेती गर्न तिनलाई केही हुँदैन। आफ्नै मुलुकमा त्यति लगानी गरेर एउटा सानो उद्योग खोल्ने हो भने कतिले रोजगारी पाउँथे। उद्योग खोल्नलाई राजनीतिले रोकेको छ? जतिखेर पनि विदेश जाने लिढेडिँपीबाहेक अरू केही गर्न जान्दैनन् नेपाली। भनिन्छ नि,‘नानीदेखि लागेको बानी छुटाउन साह्रो गाह्रो हुन्छ।’ यो पनि त्यस्तै हो।
बाबुआमाबिच नै आफ्ना छोराछोरीलाई बाहिर पठाउन होडबाजी चल्ने गरेको छ। सानैदेखि विदेश जाने सपना देखाउने पनि अभिभावक नै हुन्। अक्षर चिन्दादेखि सोही कुरा सिकाएपछि उसले ठुलो भएर पनि त्यही नै गर्छ। पछिल्लो समय बाबुआमाहरू नै आफ्नो छोराछोरी विदेश छन् भनेर धाक लगाउने गर्दछन्। विदेशमा छोराछोरीले कति हन्डर ठक्कर खाइरहेका छन्, त्योचाहिँ थाहा छैन।
नेपालमा पनि ठूल्ठूला विश्वविद्यालय, कलेज, स्कुल खुलेका छन्। तर, पढ्नकै लागि भनेर वार्षिक ९० अर्ब बढी रकम बाहिरिने गरेको छ। त्योसँगै शिक्षित जनशक्ति पनि सबै बाहिरिन्छन्। त्यहाँ पढ्छन्, अनि उहीको पिआर पाएपछि त्यतै सेटल हुन्छन्। पिआर पाएपछि कतिपयले बाबुआमासहित यहाँ भएको सम्पत्ति पनि बेचेर लान्छन्। कमाएर नेपाल ल्याउनुको साटो उल्टो यहाँबाट लैजादैछन्।
यसरी त वर्षेनि खर्बौँ रकम यहाँबाट बाहिरिदैं छ। जन्मथलो छोडेर बाहिर जान नचाहने बाबुआमालाई साह्रो पीडा छ। छोराछोरी छ भनेर के गर्नु, मर्ने बेलामा एक घुट्की पानी खुवाउने कोही पनि हुदैंनन्। पहिले हाँसी खुसी पठाउँछन् पछि आफैँलाई बोझ बन्छ। बुढेसकालको सहारा नै आफूसँग नभएपछि बूढाबूढीको बिचल्ली हुन्छ। स्याहार सुसार गर्नका लागि अन्तिममा अर्कैको सहारा माग्नुपर्छ।
माध्यमिक शिक्षा भनेको ठुलो पढाइ हो। क्षमता भएकाले त्योभन्दा कम पढाइमा देश हाँकिरहेका छन्। देश र नेतालाई दोष लगाउनुको साटो तिनलाई चुनौती दिएर हिँड्नसक्नुपर्यो। पहिले आफूबाट सुरु गर्नुपर्यो। तर, आफू केही गर्न नसक्ने अनि देशलाई मात्र आरोप लगाएर हुदैन्। मासिक तीन–चार लाख कमाउने देखेपछि बाबुआमा पनि मक्ख पर्छन्।
यत्रो आम्दानी हुने भएपछि बाबुआमाले नै ऋण खोजेर छोराछोरी पठाउनतिर लाग्छन्। तर, पछि छोराछोरीले पैसा नपठाउँदा मात्र तिनले सबक सिक्छन्। छोराछोरी बाबुआमा बिर्सिएर उही सेटल हुन्छन्। घर किन्छन्, गाडी किन्छन्, आरामको जिन्दगी बिताउँछन्। अभिभावकलाई यहाँको ऋणले सताउनु सताउँछ। भएको जायजेथा बेचेर ऋण तिर्नुपर्ने अवस्थासमेत बन्छ।
पहिले पहिलेका बुढापाकाले भन्थे,‘चोक्टा खान गएको बुढी झोलमै डुबेर मरी’ यहाँ पनि त्यस्तै भएको छ। विदेशमै सेटल हुनेले नेपालको सम्पत्ति बेचेर लैजान नपाउने भनेर सरकारले नियम बनाउनुपर्छ। कसैले नेपाली नागरिकता त्याग्छ भने उसले नेपालमा भएको सम्पत्ति पनि त्याग्न सक्नुपर्छ। यो नियम लागु गर्यो भने कसैले पिआर नै लिँदैनन्। जसरी भए पनि नेपाल फर्किन्छन्।
पढ्ने नाममा विदेश जाने चल्तीले गर्दा नेपालको अर्थतन्त्रमा ठुलो क्षति पुगेको छ। पढ्न जाने क्रम सरकारले बन्द गरिदिए पनि हुन्छ। के नेपालको पढाइ राम्रो छैन? नेपालमा पढाउन सक्ने शिक्षक छैनन्? यसले त नेपालको शैक्षिक गुणस्तरमाथि औला उठाएको छ। माध्यमिक शिक्षासँग यहाँको पढाइ राम्रो हुने त्यसपछि चाहिँ नराम्रो हुने। यही भूमिमा जन्मिने अनि यही मुलुकको बेइज्जत गर्ने?
अर्काको देशमा पुगेर नेपालमाथि दाग दगाउन यिनलाई लाज लाग्दैन। सरकारले जथाभाबी कन्सल्टेन्सी खोल्ने काममा प्रतिबन्ध लगाउनुपर्छ। राजनीतिक दलको झोला बोकेर, गुन्डा पालेर, प्रहरी प्रशासनलाई हाता लिएर ठग्ने काम भइरहेको छ। विज्ञापनको माध्यमबाट सिधासाधी जनता फसिरहेका छन्। नेपालको पढाइ गुणस्तरीय छ। यहाँ पनि रोजगारीको अवसर छन्।
जुन रोजगारी गरेर खान्छु भने पनि सरकारले रोकटोक लगाएको छैन। काम सानो ठुलो हुँदैन बस इमानका साथ गर्यो भोलि अवश्य पनि ठुलो ठाउँमा पुगिन्छ। सानोबाट नगरी सिधै ठुलो खोज्नेहरू कहिल्यै सफल हुँदैनन्। अब पनि सरकारले यसतर्फ ध्यान नदिने भने नेपालको सक्षम जनशक्ति सबै बाहिर जान्छन्। मुलुकको विकास कहिल्यै सम्भव हुदैन्। नेपाली पैसा सबै बिदेसिन्छ।
काम गर्न जानेलाई रोक लगाउनुहुँदैन। किन कि उनीहरूले कमाउँछन्, नेपाल पठाउँछन्। आफ्नो भिसाको म्याद सकिएपछि पुनः नेपाल फर्किहाल्छन्। पढ्न भनेर गएकामध्ये पाँच प्रतिशत पनि फर्किँदैनन्। त्यहाँ कमाएको पैसा नेपाल पनि पठाउँदैनन्। यता, खाडी मुलुक तथा मलेसिया जान फ्री भिसा, फ्री टिकट भने पनि साढे तीन देखि चार लाख असुलिरहेका छन्। श्रम मन्त्री शेरबहादुर कुँवर म्यानपावरको ठगी धन्दामा रमिते बनेर बसेका छन्।
लेखिकाको इमेल ठेगाना : [email protected]
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.