निर्वाचन आचारसंहिता

नचाहिने हावाहावा कानुन बनाएको छ, राम्रो बनाउनुपर्‍यो नि : मनाङे

नचाहिने हावाहावा कानुन बनाएको छ, राम्रो बनाउनुपर्‍यो नि : मनाङे

काठमाडौं : मङ्सिर ४ को चुनाव आउन अब २१ दिन मात्रै बाँकी छ। चुनावका उम्मेदवारहरू यतिवेला मतदाता भेट्ने चटारोमा छन्। कार्यकर्ताको लावालस्कर लगाएर टोलदेखि वडा भेलामा व्यस्त उम्मेदवार निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा बाँधिएका छन्।
आचारसंहिता विपरीत चुनाव प्रचारप्रसार गर्ने उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधिरहेको छ। स्पष्टीकरण सोधेकै आधारमा उम्मेदवारी नै रुद्ध भने भएको छैन। आयोगले आचारसंहिता उल्लङ्घन गर्ने ५७ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आचारसंहिता विपरीत कार्य गर्ने प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई उजुरीमा उल्लेख आरोपको छानबिन गरी कानुनअनुसार कारबाही गरिने बताए। सामाजिक सञ्जाल फेसबुक, टेलिफोन, सञ्चारमाध्यममा आएका समाचार र लिखित उजुरी लगायतका आधारमा स्पष्टीकरण सोधिएको उनले बताए।
आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित दीपक मनाङे उर्फ राजीव गुरुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आयोगले तोकेको खर्चमा चुनाव जित्न नसकिने बताएका मनाङेलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
आइतबार झापाको काँकडभिट्टा पुगेका मनाङेले स्पष्टीकरणको सूचना नपाएको बताए। उनले निर्वाचन कानुन नै संशोधन हुनुपर्ने बताए। उनले चुनावमा आयोगले तोकेको खर्चको सीमा नपुग्ने भन्दै निर्वाचन कानुनलाई हावा कानुनको संज्ञा समेत दिएका छन्। ‘खर्चको सीमा कम भयो, रक्सी किन्न नै १५ लाख रुपैयाँ खर्च हुन्छ,’मनाङेले भने,‘नचाहिने कानुन बनाएको छ हावाहावाको, राम्रो कानुन बनाउनुपर्‍यो नि।’
गुरुङले निर्वाचन खर्चका सम्बन्धमा ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार, मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनेर दिएको अभिव्यक्ति र श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.