सामाजिक सुरक्षा

विदेशमा रहेका आबद्ध हुने, ८४ जनालाई छात्रवृत्ति

विदेशमा रहेका आबद्ध हुने, ८४ जनालाई छात्रवृत्ति

काठमाडौँ : सरकारले विदेशमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यविधि तयार गरेको छ। ११ मङ्सिरमा काेषले बनाएको कार्यविधि अनुसार विदेशमा रहेका नेपाली श्रमिकलाई कोषमा आबद्ध गराउने घोषणा गर्ने तयारी छ।
गैरआवासीय नेपाल सङ्घ एनआरएनएको माग अनुसार तयार भएको कार्यविधि अन्तिम स्वीकृतिका लागि कोषको सञ्चालक समितिको बैठक भने बस्न बाँकी रहेको सामाजिक सुरक्षा कोषले जनाएको छ।
कोषले अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यविधि पनि ११ मङ्सिरमा नै घोषणा गर्ने तयारी गरेको जनाएको छ। कोषका उपनिर्देशक एवं प्रवक्ता विवेक पन्थीले सामाजिक सुरक्षा कोषको बार्षिकउत्सवका दिन विदेशमा रहेका नेपाली श्रमिक र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई कोषमा आबद्ध गराउने घोषणा हुन सक्ने बताए। ‘कार्यविधिलाई सञ्चालक समितिको बैठकले फाइनल गर्न बाँकी छ,’पन्थीले पहिचानसँग भने,‘सम्भवतः ११ मङ्सिरमा घोषणा हुन्छ।’
गैरआवासीय नेपाल सङ्घ एनआरएनएले वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र सुव्यवस्थित गर्नका लागि वैदेशिक रोजगार बोर्डसँग सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ। वैदेशिक रोजगारमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सामाजिक सुरक्षा कोषसँग सहमति पत्रमा हस्ताक्षर भएर यससम्बन्धी आवश्यक कार्ययोजनाहरु अघि बढाइएको सङ्घकी कार्यकारी अध्यक्ष रबिना थापाले जानकारी दिइन।
८४ जनालाई छात्रवृत्ति
सामाजिक सुरक्षा कोषले ६ पुसबाट लागु हुने गरी योगदानकर्ताले मात्रै पाउने स्वास्थ्य सुविधा योगदानकर्ताका पती या पत्नीले पाउने व्यवस्था लागू हुने जनाएको छ। योगदान कर्तालाई घातक रोगको उपचारमा १० लाख रुपैयाँसम्म कोषले व्यहोर्ने व्यवस्था पनि गर्न लागेको प्रवक्ता पन्थीले जानकारी दिए।
कोषले अर्को शैक्षिक सत्रदेखि लागु हुने गरी योगदान कर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि बनाएको छ। कार्यविधि स्वीकृत भइसकेको प्रवक्ता पन्थीले बताए। ‘आउने शैक्षिक सत्रदेखि स्नातक तहमा मेडिकल, इन्जिनियरिङ लगायत ६ वटा विषयमा छात्रवृत्ति प्रदान हुनेछ,’उनले भने,‘प्रत्येक प्रदेशबाट एक जना महिलासहित दुई/दुई जनाका दरले जम्मा ८४ जनालाई बढीमा पाँच लाखसम्म छात्रवृत्ति दिइनेछ।’ सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताका सन्तति मध्ये वर्षमा ८४ जनाले छात्रवृत्ति पाउनेछन्।
एनआरएनएको लबिङ

गैरआवासीय नेपाली सङ्घले वैदेशिक रोजगार र सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि थालेको पहल टुङ्गो पुग्न लागेको बताएको छ। ‘गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी, मेघा प्रोजेक्ट, ब्लड बस, संस्थागत विकास तथा आन्तरिक व्यवस्थापनलाई प्राथमिकताको रूपमा अघि बढाइरहेका छौँ,’सङ्घकी अध्यक्ष थापाले भनिन्,‘सरकारसँग भइरहेको लबिङ अनुसार विदेशमा काम गर्ने नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सक्नु एउटा उपलब्धि हो।’
‘नेपालीका लागि नेपाली’ भन्ने मुलमन्त्रलाई मध्यनजर गर्दै स्थापना कालदेखि उठाउँदै आएका मुद्दाहरूलाई निष्कर्षमा पुर्‍याउन वर्तमान कार्यसमिति कटिबद्ध रहेको अध्यक्ष थापाले बताइन। आगामी दिनमा सङ्घले उठाएका मागहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपाल सरकार तथा सरोकारवालाहरूसँग व्यापक छलफल गर्ने उनले बताइन्।
वार्षिक साधारण सभाबाट सर्वसम्मत अनुमोदन भएको सङ्घको विधान परराष्ट्र मन्त्रालयमा पेस गर्नको लागि आवश्यक प्रक्रिया चलिरहेको सङ्घका कार्यकारी अधिकृत रवि किरण अधिकारीले जानकारी दिए। ‘सर्वसम्मत अनुमोदन भएको विधानमा केही भाषागत त्रुटि सच्याउने काम भइरहेको छ,’अधिकारीले भने,‘फाइनल गरेर परराष्ट्र मन्त्रालयमा बुझाउँछौ।’
संविधानमा भएको व्यवस्था अनुरूप गैरआवासीय नेपाली नागरिकता विधेयकबारे विभिन्न राजनीतिक दलका पूर्व सांसद तथा कानुनविद्ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बन्ने नयाँ सरकारले नागरिकताको मागलाई पूरा गर्ने प्रतिबद्धता जनाएका सङ्घले जनाएको छ।

गैरआवासीय नेपालीको सिप, ज्ञान र लगानीलाई सुरक्षित गर्ने उद्देश्यले सङ्घले सरोकारवालाहरूसँगको छलफल तीव्रता दिएको जनाएको छ। लगानीका विषय र लगानीमा देखिएका कानुनी जटिलतालाई सहजीकरणको लागि नेपाल सरकारका सम्बन्धी मन्त्रालय तथा निकायहरूसँग भएको छलफलपछि वैदेशिक लगानीमा न्यूनतम ५ करोड लगानीको दायरालाई हटाएर २ करोड रुपैयाँ कायम भएको एनआरएनएकी कार्यकारी अध्यक्ष थापाले जानकारी दिइन।
गैरआवासीय नेपालीको लगानीलाई नेपाली सरह लगानी गर्ने वातावरण बनाउन नेपाल सरकारसँग नियमित रूपमा छलफल जारी रहेको उनले बताइन। ‘मेघा परियोजना अन्तर्गत मोबाइल ब्लड बस, शौचालय परियोजना, लगानी, वृद्धाश्रम लगायतका परियोजनामा आवश्यक कार्यहरू भइरहेका छन्,’उनले भनिन्,‘मोबाइल ब्लड बस प्रदेश नम्बर १, मधेस प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशमा सञ्चालनको लागि ती प्रदेशहरूमा संयोजक नियुक्ति गरी आवश्यक कामहरू अघि बढिसकेको छ।’
पोखरा महानगरपालिकाले महेन्द्र पुल क्षेत्रमा शौचालय निर्माणको लागि अनुरोध एनआरएनएसँग अनुरोध गरेको छ। यसका लागि आवश्यक जग्गा महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता आएको अध्यक्ष थापाले बताइन। गाईघाटबाट पनि मोबाइल शौचालय सञ्चालन गर्न अनुरोध आए अनुसार यसका लागी आवश्यक पहलहरू भइरहेको उनले बताइन्।
नेपालसँग जोड्ने

गैरआवासीय नेपाली सङ्घ एनआरएनएले विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालसँग जोड्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी जनाएको छ। पोखरामा सम्पन्न ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सङ्घको टोलीले १० स्वर्ण, ९ रजत र ७ कास्य गरी कूल २६ पदक हासिल गर्न सफल भएको छ। खेलकुदको माध्यमबाट विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालसँग जोड्ने प्रयासमा यो कोसेढुंगा साबित हुने अध्यक्ष थापाले बताइन।
विगत केही महिनादेखि बन्द रहेको गैरआवासीय नेपाली सङ्घको मुख पत्र ग्लोबल एनआरएनएको प्रकाशन सुरु गरिएको सङ्घले जनाएको छ। सङ्घका अनुसार नेपालमा पर्यटक भित्र्याउन सोमबार वृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading