चुनाव

पूर्वमन्त्री त्रिपाठीलाई अर्बपति चौधरीको टक्कर

पूर्वमन्त्री त्रिपाठीलाई अर्बपति चौधरीको टक्कर

नवलपरासी : प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा रोचक प्रतिस्पर्धा हुँदैछ। निर्वाचन क्षेत्रका खेलाडी मानिएका हृदयेश त्रिपाठीलाई टक्कर दिन काँग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई मैदान उतारेपछि प्रतिस्पर्धा रोचक हुन लागेको हो।
चौधरी पहिलो पटक प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार बनेका हुन्। यसअघि विभिन्न दलमा पुगिसकेका त्रिपाठी अहिले नयाँ दल लिएर चुनावी मैदानमा छन्। यसपटक त्रिपाठीले सूर्य चिह्नमा चुनाव लड्न नमानेपछि मनोनयन दर्ता गराउने दिनको अन्तिम समयमा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको थियो।
त्रिपाठीले एमालेका शीर्ष नेतामार्फत बुढाथोकीको उम्मेदवारी फिर्ता गराउन सफल भए पनि अघिल्लो पटक सूर्य चिह्नमा मतदान गरेका एमाले मतदाताले यसपटक फेरि मत हाल्नेमा त्रिपाठी विश्वस्त देखिएका छैनन्। अर्कोतर्फ सूर्य चुनाव चिह्न लिन नचाहेको चर्चाले पनि त्रिपाठीलाई ‘ब्याक फायर’ को त्रास छ । एमालेको साथ पाउँदा पनि स्थिति जटिल बनिरहेको उनले विश्लेषण सुनाउने गरेका छन्।
२०४८, २०५१ र २०५६ मा भएको संसदीय निर्वाचनमा नेपाल सद्भावना पार्टीको चुनाव चिह्नबाट विजयी भएका उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा भने तराई मधेस लोकतान्त्रिक पार्टीबाट लडेका थिए। त्रिपाठी अहिलेसम्म ६ पटक मन्त्री भइसकेका छन्।
उनी २०६४ सालमा वन मन्त्री, २०६३ सालमा उद्योग वाणिज्य तथा आपूर्ति, २०६८ मा भौतिक योजना, २०७६ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन र २०७७ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका बनिसकेका छन्।
दुई पटक समानुपातिक सांसद बनेका चौधरी तेस्रो पटक सांसद बन्ने प्रयासमा छन्। उनी निर्वाचन क्षेत्रको विकास आफ्ना लागि प्रतिष्ठाको विषय भएको बताउँछन्। नाम र पैसाका लागि आफूले राजनीति नगरेको चौधरीको दाबी छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित भइसकेको व्यक्ति भएकाले आफू पैसाका लागि राजनीतिमा नआएको उनी बताउँछन्। क्षेत्र परिवर्तन भए पनि नवलपरासी पश्चिम–१ को समस्याबारेमा आफू जानकार रहेको र समाधान गर्न सक्ने दाबी उनको छ। उनी ६ पटक चुनाव लडेका त्रिपाठीसँग भिड्दै गर्दा जित निकाल्ने आत्मविश्वासमा देखिन्छन्।
बलिया चौधरी
गत स्थानीय तहको निर्वाचनमा काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा चौधरी बलिया देखिन्छन्। यो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहका वडामा काँग्रेसले ३० हजार ३४२ मत प्राप्त गरेको थियो। एमालेले २६ हजार ७७९ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ६८७, माओवादीले ५ हजार ३४७, जनता प्रगतिशील पार्टीले ४ हजार ६९० मत पाएको थियो। जसपाले ३ हजार ५५९, नेकपा एकीकृत समाजवादीले १ हजार १४१ र लोसपाले १०० मत प्राप्त गरेको थियो। २०७४ सालको निर्वाचनमा एमालेको सूर्य चिह्न लिएर चुनावमा उत्रिएका त्रिपाठीसँग यो पटक एमालेको चिन्ह छैन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading