चुनावी रौनक

बागीलाई कारबाही, मन्त्रीलाई बर्खास्त, पूर्वमन्त्रीलाई थप्पड

बागीलाई कारबाही, मन्त्रीलाई बर्खास्त, पूर्वमन्त्रीलाई थप्पड

काठमाडौँ : चुनावमा गठबन्धन गरेका दलहरूमा भने भोट ट्रान्सफर हुने ढुकचुक देखिएको छ। गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकाहरूलाई अस्तिसम्म फकाइरहेका दलहरूले अब कारबाही गर्न थालेका छन्।

काँग्रेसले बागी, बागीका समर्थक र प्रस्ताव गरी ७४ जनालाई पाँच वर्षका लागि पार्टी सदस्यबाट निष्कासन गरेको छ। काँग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट निष्कासन गरेको जनाएको छ।

काँग्रेस केन्द्रीय अनुशासन समितिले मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा बागी उम्मेदवारी दिएका, उनीहरूको प्रस्तावक र समर्थक बसेका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निकालेको जनाएको छ।

काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएका ७४ जनालाई पाँच वर्षका लागि सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको छ।

मन्त्री बर्खास्त

गठबन्धनका उम्मेदवारविरुद्ध भोट माग्ने गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्य बर्खास्तमा परेका छन्। गठबन्धनको निर्णय विपरीत गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध भोट मागेको आरोप लागेका मन्त्री आचार्य बर्खास्तमा परेका हुन्।

मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री कार्यालयबाट प्रदेश प्रमुख कार्यालयमा पठाइएको जानकारी दिए। आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए। गोरखामा आचार्यले आफूविरुद्ध मत मागेको भन्दै प्रचण्डले गठबन्धनका शीर्ष नेतासमक्ष गुनासो गरेपछि मुख्यमन्त्री पोखरेलले हटाएका हुन्।

पूर्वमन्त्रीलाई थप्पड

सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने थप्पड खाएका छन्। गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खतिवडा चुनावी कार्यक्रमलाई सम्बोधन गर्न पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ पुग्दा स्थानीय पुरुषोत्तम खड्काले हातपात गरेका हुन्।

उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले उम्मेदवारमाथि दुर्व्यवहार गरेको आरोपमा खड्कालाई नियन्त्रणमा लिएको बताए।

हौसिएको गठबन्धन

गठबन्धनले बागी उम्मेदवारलाई डन्डा चलाएर थला पार्ने रणनीति लिएपछि आधिकारिक उम्मेदवारहरू हौसिएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनको अत्यधिक बहुमत आउने बताएका छन्।

चुनावी सभालाई सम्बोधन गर्न जुम्ला जाने क्रममा सवार हेलिकप्टर सल्यानमा आकस्मिक अवतरण भएपछि प्रचण्डले पत्रकारहरूसँग चुनावपछिको सरकार पनि गठबन्धनकै बन्ने दाबी गरे। अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमनबिचको लडाई भएको प्रचण्डले बताए। बहुमत पाउँदा केपी ओलीले सरकार चलाउन छोडेर संसद् विघटन गर्ने, संविधान मिच्नेलगायतका असंवैधानिक काम गरेकाले अहिलेको चुनाव हार्ने उनले दाबी सुनाए।

काँग्रेस महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले अन्य पार्टीमा चुनावपछि संसदीय दलको चुनाव नै हुने सम्भावना नरहेको बताएका छन्। उनले आफूले जिते मात्र काँग्रेसको नेतृत्व परिवर्तनका लागि सम्भव हुने सुनाए। त्यसका लागि आफ्नो प्रस्तावक विश्वप्रकाश शर्माले झापाबाट जितेर आउनुपर्ने र आफूले काठमाडौँ ४ बाट जितेर संसद् भवनमा पुग्नुपर्ने बताए।

मङ्सिर ४ गतेको निर्वाचन जिते १० वर्षमा देशको पुरै राजनीतिलाई सुधार गर्ने प्रतिबद्धता थापाले जनाए। काँग्रेस काभ्रे–काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौँ क्षेत्र नम्बर ४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा थापाले आफूलाई सांसद बनाउन २ दिन खट्न आफ्ना कार्यकर्तालाई आग्रह पनि गरे।

अबको निर्वाचन पछि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरूले नगरे मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै नरहने चेतावनी थापाले दिएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.