निर्वाचन आचारसंहिता

अर्बपति चौधरीको निर्वाचन प्रचारमा सहभागी भुवन केसीसँग स्पष्टीकरण माग

अर्बपति चौधरीको निर्वाचन प्रचारमा सहभागी भुवन केसीसँग स्पष्टीकरण माग

काठमाडौं : निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ। प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका उम्मेदवार अर्बपति विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले केसीलाई स्पष्टीकरण सोधेको जनाएको छ।

नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरीको निर्वाचन प्रचारप्रसारमा सहभागी भएको बारे प्रकाशित समाचारप्रति आयोगले ध्यानाकर्षण भएको उल्लेख गरेको छ। निर्वाचन आचारसंहिता, २०७९  को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” र ऐ. दफाको खण्ड (ख) मा “राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने” व्यवस्था छ। 

उल्लेखित कानुनी व्यवस्था रहेको सम्बन्धमा कुनै दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता, २०७९  को प्रतिकूल हुने भएकोले स्पष्टीकरण पेस गर्न अनुरोध गरेको आयोगले जनाएको छ। 

‘तपाई चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ?’आयोगले सोधेको छ,‘तपाईँ राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु भएको कार्य निर्वाचन आचारसंहिता,  २०७९  को दफा ७ को खण्ड (क) र (ख) को विपरीत देखिएकोले तपाईँलाई निर्वाचन आयोग ऐन,  २०७३  को दफा २३ को उपदफा (३) बमोजिम कारबाही किन हुनु नपर्ने हो?’

आयोगले सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान रूपमा निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचारप्रसार गर्नुभएको ठहर भएमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३  को दफा ४४ बमोजिम विभागीय कारबाही समेत हुनसक्ने भएकोले तपाईँ उपर उक्त कारबाही किन हुनु नपर्ने हो? भनेर स्पष्टीकरण माग गरेको छ। 

यस्तै दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ९ स्थित श्री गोकुलेश्वर उच्च माध्यमिक विद्यालय, गोकुलेश्वरमा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) समेत दलको आयोजनामा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना गरिएको विषयमा आयोगले विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशी,  त्यस क्षेत्रमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश सभाअन्तर्गत दार्चुला १ (१)मा नेपाली काँग्रेसका उम्मेदवार विक्रम सिंह धामी र प्रदेशसभा १ (२)मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई स्पष्टीकरण सोधेको छ।

आयोगले दार्चुलाका निर्वाचन अधिकृतलाई आवश्यक कारबाही गर्न निर्देशनसमेत दिएको छ। प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको आयोगले जनाएको छ। 

यस्तै निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगन्जमा निर्वाचन आचारसंहिता विपरीतका राखिएको दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ। 

यस्तै प्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशङ्कर यादवलाई आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.