मतदानको दिन

भाडाका सवारी साधन सञ्चालन नहुने, अनुमति बिना चलाए कब्जामा लिने 

भाडाका सवारी साधन सञ्चालन नहुने, अनुमति बिना चलाए कब्जामा लिने 

काठमाडौं : मङ्सिर ४ गते मतदानका दिन भाडाका सवारी साधन सञ्चालन नहुने भएका छन्। निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्दै भाडाका सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको हो। 
मतदानका दिन अनुमति नलिएका, भाडा तथा कुनै पनि निजी सवारी साधन सञ्चालन गर्न नपाइने आयोगले जनाएको छ। मतदानका दिन बिहानै सबेरैबाट मतदान नसकिएसम्म अनुमति नलिएका सवारी साधन चलाउन पाइनेछैन। मतदाता ओसार पसार हुन सक्ने र सुरक्षा थ्रेट समेत बढ्न सक्ने भएकाले सवारी साधन चलाउन रोक लगाउने निर्णय आयोगले गरेको छ। 
मतदानका दिन कूटनीतिक नियोगका सवारी साधन, एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानी, फोहोरमैला, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारी साधन, दूध बोक्ने सवारी साधन, विदेशी पर्यटक बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन र सुरक्षा निकायको सवारी साधन भने चलाउन पाइने आयोगले जनाएको छ। यी सवारी साधन चलाउन आयोगबाट सवारी अनुमति पत्र लिनु पर्दैन। 
अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन तथा निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन चलाउन पाइने आयोगले जनाएको छ। सञ्चारकर्मी तथा पत्रकारका हकमा भने प्रेस पास वा प्रेस काउन्सिलबाट जारी परिचय पत्र देखाएर सवारी साधन चलाउन पाउने छ। यस्ता सवारी साधनहरूले मतदाता ओसारपसार गर्न भने नपाउने आयोगले जनाएको छ।
चलाए कारबाही
आयोगले स्वीकृत गरेको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ। उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले मतदानको दिन सवारी साधन प्रयोग गर्न सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम र सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुमति जारी गर्ने निकाय वा अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ।
स्वीकृत मापदण्डबमोजिम मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा वासस्थानदेखि विमानस्थलसम्म र विमानस्थलदेखि यात्रुको वासस्थानसम्मको आवागमनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्नेछ भने अपाङ्गता भई आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको लागि वासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि वासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपाङ्गता परिचयपत्रका आधारमा सवारी साधनको प्रयोग गर्न सकिने आयोगले जनाएको छ। अशक्तताको कारणले आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले तोकिएको ढाँचामा अनुमतिपत्र जारी गर्न सक्नेछ।
मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई आवश्यक कानुनी कारबाही गर्ने र मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिने व्यवस्था गरिएको आयोगले जनाएको छ। 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.