निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गुल्मी १

प्रदीप–चन्द्र चौथोपटक आमनेसामने, प्रतिनिधिसभा विघटनमा अन्धभक्त समर्थनले एमाले कार्यकर्ता रुष्ट

प्रदीप–चन्द्र चौथोपटक आमनेसामने, प्रतिनिधिसभा विघटनमा अन्धभक्त समर्थनले एमाले कार्यकर्ता रुष्ट

528
SHARES

गुल्मी : गुल्मी–१ मा काँग्रेस नेता डा. चन्द्र भण्डारी र एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली चौथोपटक आमनेसामने भएका छन्। यी दुई नेताबिच २०६४ सालदेखि चुनावी प्रतिस्पर्धी हुँदै आएको छ।

२०६४ मा ज्ञवाली र २०७० मा भण्डारी विजय भएका थिए। २०७४ सालमा माओवादी–एमाले गठबन्धनसँग भण्डारी झिनो मतले पराजित भए। यसपटक राजनीतिक परिवेश फेरिएको छ। त्यसबेला एमालेसँग मिलेको माओवादी यसपटक काँग्रेस नेतृत्वको गठबन्धनमा छ। भण्डारीको लोकप्रियता जिल्लामा अझै बढ्दो छ।

त्यसकारण ज्ञवालीलाई चुनाव जित्न सहज छैन। प्रदेशसभामा पनि गठबन्धनले प्रभावशाली व्यक्तिलाई उम्मेदवार बनाएका कारण भोट क्रस हुने सम्भावना नरहेको दाबी गठबन्धनको छ। मतदाताले २०६४ मा ज्ञवाली, २०७० मा भण्डारी र २०७४ मा ज्ञवालीलाई जिताएकाले अब जित्ने पाले भण्डारीको रहेको कालीगण्डकी गाउँपालिकाका हरि काफ्लेले बताए।

गुल्मी–१ मा कालीगण्डकी, सत्यवती, रुरु, छत्रकोट, गुल्मी दरबार र चन्द्रकोट गाउँपालिका तथा रेसुङ्गा नगरपालिकाको ७ देखि १४ नं वडासम्म पर्छन्।

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भण्डारी ४ हजार मतले अगाडि छन्। ज्ञवालीको आधार क्षेत्र मानिने रुरु गाउँपालिकामा गठबन्धनको सहयोगमा माओवादीले चुनाव जितेको छ।

चन्द्रकोट गाउँपालिकामा एमाले पछिल्लो समय कमजोर बनेको छ। ज्ञवाली जिल्लाबाट लगातार चुवान जित्ने र मन्त्री बन्ने नेतामा पर्छन्। उनी केन्द्रको राजनीतिमा सफल देखिए पनि जिल्लाको विकासमा अपेक्षित ध्यान दिन नसकेको आरोप लाग्ने गरेको छ। पार्टीको उच्च तह र सरकारमा रहँदा ज्ञवालीले जिल्लाको दीर्घकालीन योजनामा कुनै भूमिका नखेलेको आरोप लाग्ने गरेको छ।

केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गर्दा ज्ञवालीले अन्धभक्त रूपमा समर्थन गरेको र पार्टीमा आन्तरिक समस्या सुरु हुँदा ओलीकै साथमा रहेका कारण एमाले कार्यकर्ता रुष्ट बनेका छन्। ज्ञवालीमाथि पार्टी विभाजनका लागि भूमिका खेलेको समेत आरोप छ।

अघिल्लो चुनावमा पराजित भण्डारी भने जिल्लाको विकासमा निरन्तर सक्रिय रहेको बताउँछन्। संविधानसभा सदस्य निर्वाचित भएपछि भण्डारीको पहलमा सालझण्डी–खर्जयाङ–शान्तिपुर सडक सुरु भएको थियो।

बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा पहिरोका कारण बर्सेनि ठुलो जनधनको क्षति भएपछि विकल्पका रूपमा सालझण्डीबाट दुई लेनको सडक विस्तार भएको थियो।

रेसुङ्गा विमानस्थल निर्माण, रिडी–बुर्तीवाङ तथा चोरकाटे–शान्तिपुर सडक विस्तारमा भण्डारीको पहलकदमीलाई मतदाताले चुनावमा मूल्याङ्कन गर्ने बताएका छन्। भण्डारी नेतृत्वमा सुरु भएको अखण्ड लुम्बिनी आन्दोलनका कारण तराईबाट पहाडी जिल्ला अलग हुनबाट जोगिएको थियो।

राष्ट्रियताको सवालमा स्पष्ट दृष्टिकोण राख्ने र पार्टी राजनीतिभन्दा माथि उठ्न सक्ने भण्डारी भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा पनि परिचित छन्। प्रदेशसभा ‘क’ मा काँग्रेस नेता घनेन्द्र कार्की र एमालेका चिन्तामणि पाण्डेय तथा ‘ख’ मा माओवादी नेता सुदर्शन बरालसँग एमाले नेता परशुराम पाण्डेको भिडन्त छ।

समाचार शेयर गर्नुहोस्
528
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.