चुनाव

आफ्ना उम्मेदवारलाई जिताउन दलहरूको अन्तिम अपिल

आफ्ना उम्मेदवारलाई जिताउन दलहरूको अन्तिम अपिल

काठमाडौं : चुनाव प्रचारको अन्तिम दिन दलहरूले संविधान रक्षा र राष्ट्रवादका नाममा भोट मागेका छन्। सत्ता गठबन्धनले संविधान रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेको छ।

गठबन्धनका शीर्ष नेताहरूले अपिल जारी गर्दै निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरूको गठबन्धनलाई उदाङ्गो पार्दै परास्त गर्ने दाबी गरेका छन्। अपिलमा गठबन्धनको विजय सुनिश्चित रहेको दाबी गरिएको छ।

यो अभियानलाई निरन्तरता दिँदै आम मतदातालाई मतदानमा सहभागी गराउन गठबन्धनले अपिल गरेको छ। देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लङ्घन गरी दुई दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुँदै अनेकन् स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकार विरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको शीर्ष नेताहरूले जारी गरेको अपिलमा लेखिएको छ।

यो गठबन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएको संयुक्त अपिलमा लेखिएको छ। पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रूपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन शीर्ष नेताहरूले आव्हान गरेका छन्।

चुनावी सभाको अन्तिम दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर ४ गतेको चुनाव नेपाली जनताका लागि प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा रहेको बताएका छन्। प्रचण्डले नेपाली जनताले यो अवसरलाई सही सदुपयोग गरी प्रतिगमनलाई सधैँका लागि परास्त गर्नुपर्ने उल्लेख गरे। प्रचण्डले अग्रगमनलाई रोज्ने या प्रतिगमनलाई ? असली न्यायाधीश जनता नै रहेको बताए।

२०७४ को चुनावमा दुई तिहाइ नजिक रहेको तत्कालीन नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भने यो चुनावमा पनि स्थिर सरकारको पुरानै नारा सुनाएका छन्। ओलीले यही गठबन्धन कायम रहे देश वर्वादीमा जाने बताए। दुईदुई पटक असंवैधानिक संसद् विघटन गरेका कारण ४१ महिनामै प्रधानमन्त्रीबाट पद मुक्त भएका ओलीले भिडियो सन्देश जारी गदै राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र पाँच वर्ष टिक्ने स्थिर सरकारका लागि एमालेलाई भोट दिन आव्हान गरे।

ओलीको असंवैधानिक कदमको विरोध गरेर छुट्टै पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओली एन्ड कम्पनीको पार्टीले चुनाव जिते देशै डुब्ने बताए। उनले ओलीको प्रतिगामी गठबन्धनलाई पराजय गराएर गठबन्धनलाई विजयी गराउन आव्हान गरे।

रबीको धम्की

राजनीतिक दलको विकल्प बन्ने भनेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चेतावनी र धम्कीको भाषा प्रयोग गरेर भोट मागेको छ। सभापति रबी लामिछानेले घण्टीको विरोध गर्नेलाई नाङ्गेझार पार्ने चेतावनी दिएका छन्।

चितवनमा गरेको चुनावी सभामा भाषणको अधिकांश समय घण्टीको प्रचार गरेका लामिछानेले चुनावमा चलखेल गरे नाङ्गेझार पार्ने चेतावनी दिएका हुन्। चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका लामिछाने नागरिकता विवादमा फसेका छन्। नेपाली नागरिकता नै कायम रहने प्रक्रिया पुरा नगर्दा लामिछाने विवादमा परेका हुन्।

कानुन अनुसार पुरानै मिति राखेर नयाँ नागरिकता ननिकाली पुरानै नागरिकता चलाएको तर सो नागरिकता सक्रिय नै नभएको दाबी सहित चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलवार उजुरी परेपछि लामिछानेको नागरिकता विवाद ब्युँतिएको हो। पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा भने अमेरिकाको नागरिकता लिँदा अन्य देशको नागरिकता परित्याग गर्नु नपर्ने भन्दै नेपालको पनि कायमै रहन सक्ने बताउँछन्।

पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले भने नागरिकता त्यागेको मुखले बोलेर मात्रै नहुने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल भने लामिछानेको २०७५ सालको शालिग्राम पुडासैनी हत्या प्रकरणमा यो विषय समाधान भइसकेको दाबी गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.