स्थिर अवधि

प्रचारप्रसार गर्नेलाई २५ हजार रुपैयाँसम्म जरिवाना

प्रचारप्रसार गर्नेलाई २५ हजार रुपैयाँसम्म जरिवाना

काठमाडौं : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ। बिहीबार राति १२ बजेदेखि सुरु हुने ४८ घण्टाको समयावधिलाई आयोगले स्थिर अवधि भनेको छ। 

यसअघि ‘मौन अवधि’ भन्ने गरिएकोमा अहिले स्थिर अवधि भनेको आयोगले तयारी पुरा भएको जानकारी दिएको हो। आयोगका अनुसार यो समयमा चुनावी प्रचारप्रसार गर्न पाइने छैन। 

मध्यरातदेखि राजनीतिक दलहरूको सम्पूर्ण प्रचारप्रसारमा निषेध गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए। स्थिर अवधि अगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्विटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ। 

आयोगले आचारसंहिता विपरीतका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको जानकारी गराएको छ। 

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने र सोही दफाको उपदफा (७) मा सो विपरितका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको आयोगले जानकारी गराएको छ।

राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई लेखी पठाउने निर्णय गरेको आयोगले जनाएको छ। 

मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मस्तिष्क मन्थन लगायतका निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन तथा फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालनमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दल लगायत सम्पूर्ण सरोकारवालाहरूलाई निर्देशन दिने निर्णय आयोगले गरेको छ। 

आयोगले कसैले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३  को दफा २४  को उपदफा (५) विपरीत निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गरेमा सोही दफाको उपदफा (७) बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ। 

मतदानको दिन मतदान केन्द्रको वरिपरि कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्केतिक अर्थ जनिने पोसाक, लोगो, ब्याज, झन्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टिकर लगायतका पहिरन र चीज वस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई आयोगले निर्देशन  दिएको छ। 

अन्तिम नजित मङ्सिर १२ भित्रै  

आयोगले मङ्सिर २२ गते निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान भएको १८ दिन पछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको सम्पूर्ण विवरण बुझाउने बताए। 

आयोगको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले ४ गतेको मतदानपछि प्रत्यक्षतर्फको मतगणना ७ गते बेलुकीसम्म सकिने र त्यसको पाँच दिनपछि १२ गतेभित्र समानुपातिकतर्फका मतगणना सकिने जानकारी दिए। पर्सामा भेटिएको १५ हजार मतपत्र नक्कली भएको उनले बताए। 

बिदा दिन निर्देशन  

सरकारले निर्वाचनका दिन मङ्सिर ४ र भोलिपल्ट ५ गते बिदा दिन निजी क्षेत्रलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले विज्ञप्ति निकालेर सरकारले मङ्सिर ४ र ५ गते सार्वजनिक बिदा दिएकोले सो कार्यान्वयन गर्न परिपत्र गरेको जनाएको हो। 

मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रै, वायुसेवा सञ्चालक सङ्घ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र निजी क्षेत्रका सबै छाता सङ्गठनहरूलाई पत्राचार गरी निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूमा समेत सार्वजनिक बिदा दिन निर्देशन दिएको हो। 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.