निर्वाचन आचारसंहिता

उम्केनन् मनाङे, परे २५ हजार जरिवानामा

उम्केनन् मनाङे, परे २५ हजार जरिवानामा

काठमाडौं : निर्वाचन आयोगले गण्डकी प्रदेश सभा सदस्य मनाङ (२) का निर्विरोध निर्वाचित उम्मेदवार राजीव गुरुङ (दिपक मनाङे)लाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ। गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री गुरुङले दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता प्रतिकुल भएकोले २५ हजार रुपैयाँ जरिवाना गरेको आयोगले जनाएको छ। गुरुङले निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ ..३० लाखमा नेपालमा चुनाव जित्छ यार…. मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाइदिन्छ भन्ने अभिव्यक्ति दिएका थिए।

गुरुङले एक अन्तर्वाताको क्रममा यस्तो बोलेको भिडियो यसअघि विभिन्न माध्यममार्फत सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको थियो।
गुरुङले आचार संहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको अभिव्यक्तिको श्रव्यदृष्य सामग्री सार्वजनिक भई निज प्रत्यर्थीबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने सूचना आएपछि स्पष्टीकरण सोधिएको आयोगले उल्लेख गरेको छ।

आयोगमा प्राप्त सूचनाको आधारमा निज प्रत्यर्थी राजीव गुरुङलाई के कसो भएको हो? भनी स्पष्टीकरण सोधिएकोमा निज प्रत्यर्थीबाट प्रेषित स्पष्टीकरण जवाफ हेर्दा केही दिन अगाडि अनलाइन मिडियामा अन्तर्वार्ता दिएको, सो कुरा उम्मेदवारी दर्ता गर्दा निर्वाचनमा हुने खर्चको कुरा स्थानीय निर्वाचन, २०७९ मा विभिन्न दलका उम्मेदवारहरूले गरेको तड्क भडकलाई देखेर व्यक्त गरेको भनेका छन्। उनले अन्तर्वाताको क्रममा अभिव्यक्त गरेको कुरा निर्वाचनको समयमा रक्सी उपर आयोगले प्रतिबन्ध लगाउनु पर्छ भन्ने सम्म हो, अन्यथा उम्मेदवारलाई मर्का पर्छ भन्ने आशय हो, आफू मंगोलियन समुदायको सदस्य त्यही संस्कार, सभ्यतामा हुर्केको, सो अन्तर्वार्तामा व्यक्त भएका शब्दहरूले राष्ट्रिय रूपमा आयोग, आयुक्तहरू तथा निर्वाचन आयोगमा खटिनु भएका कर्मचारीले नमिठो महसुस गर्नु भएको भए यस प्रति क्षमा याचना गर्दछु भन्ने बेहोरा उल्लेख गरेर गुरुङले स्पष्टीकरण बुझाएको आयोगले जनाएको छ।

गुरुङले निर्वाचन आचार संहिता प्रतिकूल हुने गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा भएको निर्वाचन खर्च सम्बन्धी आचरणको खण्ड (क), (ख), (ङ), (ज), (झ) र (ट) तथा ऐ.को दफा ४, मा भएको सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (न) र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची-५ र ६ को खण्ड (त) र (थ) को प्रतिकुल हुने गरी मनाङमा मनोनयन गर्दाको एक दिन मात्रै रक्सी खुवाउँदा १५ लाख खर्च लाग्ने भन्ने समेतको अभिव्यक्ति दिएको हो वा होइन? र दिएको भए सो अभिव्यक्ति दिएबाट निज प्रत्यर्थी गुरुङले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको ठहर्छ, ठहर्दैन? ठहर्छ भने निजलाई के- कस्तो सजाय हुनुपर्ने हो? भन्ने सम्बन्धमा निर्णय गरेको आयोगले जनाएको छ।

प्रस्तुत तथ्यसँग सान्दर्भिक कानुनी व्यवस्था हेर्दा, निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नु पर्ने आचरण सम्बन्धी प्रावधान रहेको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड(न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था रहेको छ। निर्वाचन आचारसंहिता, २०७९को दफा १६ को खण्ड (क)देखी खण्ड(ट) सम्म राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्च बारे पालना गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था छ। साथै प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका,२०७९को अनुसूची ५मा उम्मेदवारले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने भनी प्रतिबद्धता व्यक्त गर्ने र ऐ. अनुसूची ६ मा स्वघोषणा गर्ने समेतका कानुनी व्यवस्था रहेको छ। तसर्थ, आयोगमा प्राप्त सूचनामा र सञ्चार माध्यममा प्रकाशित भएको बेहोरा बमोजिम निर्वाचन खर्चको सीमा उल्लङ्घन हुने किसिमका सार्वजनिक अभिव्यक्ति गुरुङले दिएको हो भन्ने तथ्यमा विवाद नभएको आयोगले उल्लेख गरेको छ।

`मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि सबै राजनैतिक दलहरूको साझा प्रतिबद्धता सहित जारी भएको निर्वाचन आचारसंहिता २०७९, मिति २०७९ असोज १२ गतेदेखि लागू भइसकेको अवस्थामा निज प्रत्यर्थी राजीव गुरुङले मनोनयन दर्ताको एक दिन मात्रै रक्सी खुवाउँदा १५ लाख खर्च लाग्ने भनी दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता, २०७९ को (क), (ख), (ङ), (ज), (झ) र (ट) तथा सोही ऐनको दफा ४, को सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) को र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची-५, ६को खण्ड (त) र (थ) को प्रतिकूल भई निजले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पुष्टि हुन आएकोले गुरुङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम रु, २५000।- (अक्षरूपी पच्चीस हजार रुपैयाँ) जरिबाना हुने ठहर्छ´आयोगले निर्णय गरेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.