चुनाव

मतदानको तयारी पूरा, बिथोल्न खोज्नेलाई गोली हान्ने आदेश

मतदानको तयारी पूरा, बिथोल्न खोज्नेलाई गोली हान्ने आदेश

काठमाडौं : मङ्सिर ४ गते आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुँदै छ। मतदान साँझ ५ बजेसम्म चल्ने छ।देशभरका १० हजार ८ सय ९२ मतदान स्थलका २२ हजार २ सय २७ मतदान केन्द्रमा मत प्रकट हुनेछ। १ करोड ८९ लाख ८८ हजार ५ सय ७० मतदातालाई प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुन्न उत्साहका साथ मताधिकार प्रयोग गर्न निर्वाचन आयोगले आव्हान गरेको छ।

नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

निर्वाचनमा उत्साहका साथ मताधिकार प्रयोग गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख आयुक्त थपलियाले आव्हान गरेका छन्।
मतदाताले चार वटा मतपत्रमा स्वस्तिक छाप लगाउनु पर्नेछ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पहिलो मतपत्रमा छाप लगाएर अर्को चिन्हमा नपर्ने गरी पट्याएर बाकसमा खसाउनु पर्नेछ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ अर्को मतपत्र लिएर राजनीतिक दलको चुनाव चिन्हमा मत प्रकट गर्नुपर्नेछ। यसपछि प्रदेश सभा सदस्यको लागि पनि प्रतिनिधि सभाको जस्तै प्रक्रियामा मतदान गर्नुपर्नेछ। मतदान सकिएपछि मतपेटिका सङ्कलन हुने र गणना सुरु हुनेछ।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको परिणाम मङ्सिर २२ मा राष्ट्रपतिलाई बुझाउने बताएको छ। पाँच वर्षका लागि चुनिएका सदस्यले पहिलो काम सरकार निर्माण गर्नेछन्।

चुनावमा बहुमत ल्याउने दलको नेतृत्वमा सरकार गठन गर्ने संविधानमा व्यवस्था छ। धारा ७६ को उपधारा १ अनुसार सरकार बन्न नसके उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि राष्ट्रपतिले आव्हान गर्नुपर्नेछ। एकै दलको सरकार बन्न बहुमत सदस्य आवश्यक पर्छ। २७५ सदस्यीय प्रतिनिधि सभाले प्रधानमन्त्री निर्वाचित गर्नेछ। प्रधानमन्त्रीकाे सिफारिसमा आफूसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन हुनेछ।

निर्वाचित सदस्यले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गर्नेछन्। प्रतिनिधि सभामा सभामुख र उपसभामुख तथा प्रदेश सभामा मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुख नयाँ चयन हुनेछन्। प्रदेश सभामा सरकार गठनमा प्रतिनिधि सभाको जस्तै प्रक्रिया अपनाउनु पर्नेछ। दुवै सभाले पाँच वर्ष आवश्यक नीति र विधि बनाउनेछन्।

नीति र विधि बनाउने सदस्य चुन्नका लागि आइतबार हुने मतदानमा निर्धक्क भएर मताधिकार प्रयोग गर्न आयोगले भनेको छ। आफ्नो मत अरूलाई हाल्न दिनुहुँदैन। मतदान केन्द्रको सुरक्षा तयारी पूरा भएको नेपाल प्रहरीले जनाएको छ।

मतदान केन्द्रमा हुलदङ्गा गर्ने, मतदान बिथोल्न खोज्ने र मतपेटिकाको सुरक्षामा अवरोध गर्नेलाई गोलीसम्म हान्ने अधिकार दिइएको प्रहरीले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.