निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अबको संसद्

देउवाका विश्वासपात्रलाई रुचाएनन् मतदाताले

देउवाका विश्वासपात्रलाई रुचाएनन् मतदाताले

750
SHARES

काठमाडौं : देशमा गणतन्त्र घोषणा भएको १९ वर्षपछि पूर्वपन्चहरुको संसदीय यात्रामा बलियो उपस्थिति हुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका ७ जनाले प्रत्यक्षतर्फ चुनाव जितेर संसदीय यात्रा तय गरेका छन्। समानुपातिक तर्फको नतिजा सार्वजनिक भइसकेको छैन।

२०७४ मा राजेन्द्र लिंगदेन संसद्मा राप्रपाका एक्लो सांसद थिए। संसद्को कुनै अभ्यास नभएका लिंगदेन गणतन्त्र संस्थागत गर्ने मुख्य भूमिकामा रहेका पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरेर निर्वाचित भएका थिए। यो पटक पनि लिंगदेनले सिटौलालाई नै पराजित गरेर संसदीय अनुभवसहित दोहोरिन सफल भएका छन्।

पाँच वर्षे संसद्को कार्यकाल सकेर बिदा हुँदै गर्दा लिंगदेनले अबको संसद्मा बलियो पार्टीको रूपमा उपस्थित हुने सुनाएका थिए। ‘संसद्मा पहिलो दिन प्रवेश गर्दा संसद्को कुनै अभ्यास थिएन। बोल्नलाई यसै दलीय आधारमा पालो आइहाल्छ होला भन्ने लाग्यो,’उनले २०७९ भदौ १९ गतेको संसद् बैठकमा भनेका थिए,‘लेखाउने चलन रैछ थाहा थिएन। मैले झगडा गरेर समय लिएको थिए।’

गलत निर्णय हुन नदिने भूमिका निर्वाह गर्ने सङ्कल्प र अठोटका साथ जनताकोबीच जादैछु भनेका लिंगदेनको बोली चुनावी नतिजाले प्रमाणित गरेको छ। राप्रपा अबको संसद्मा ड्यापड्याप गर्ने होइन, दलीय आधारमा खबरदारी गर्ने हैसियतमै उभिने छ। लिंगदेनसहित निर्वाचित दीपक बहादुर सिंहले पूर्वगृहमन्त्री एवं राप्रपाको अध्यक्षमा पराजित भएपछि राप्रपा नेपाल खोलेर अध्यक्ष बनेका कमल थापालाई पराजित गरेर संसद्को यात्रा तय गरेका छन्।

रुपन्देही ३ मा राप्रपाका दीपक बोहराले वर्तमान गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेर निर्वाचित भएका छन्। प्रत्यक्ष चुनाव लडेका प्रधानमन्त्री शेरबहादुर देउवाका भित्रिया मध्येका एक गृहमन्त्री खाँण अब संसद् बाहिर रहनेछन्।

२०७४ को चुनावमा समानुपातिकतर्फ रहेर सांसद पद सुरक्षित गरेका खाँण श्रीमती मञ्जु खाँणलाई समानुपातिक सूचिमा राख्दा पार्टी भित्रै आलोचित भएका थिए। खाँण आफ्ना परिवारका सदस्यको व्यवस्थापन गर्न माहिर बने। कार्यकर्तालाई भने खाँणले त्यागको राजनीति सिकाएकाले पराजय भोग्नु परेको जिल्लाका काँग्रेस नेताहरू बताउँछन्।

गृहमन्त्री खाँणले जबरजस्ती भाइ रामकृष्ण खाँणलाई काँग्रेस जिल्ला सभापति बनाए। तिलोत्तमा नगरपालिकाको मेयरमा भाइ रामकृष्ण खाँणलाई टिकट दिलाए। उनी नगरपालिकाको मेयरमा निर्वाचित भइसकेका छन्। भाइलाई सभापति र मेयर तथा श्रीमतीलाई समानुपातिकमा राखेर अरूलाई त्याग गर्न सिकाएकै कारण मन्त्री खाँण पराजित भएका काँग्रेसका एक जिल्ला नेताले बताए।

राप्रपाका अर्का उम्मेदवार ध्रुवबहादुर प्रधानले पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गरेका छन्। नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा प्रधान ३४ हजार ७६४ मत ल्याएर विजयी हुँदा काँग्रेसका उम्मेदवार पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल १५ हजार १७० मतान्तरले पराजित भएका हुन्।

समाचार शेयर गर्नुहोस्
750
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.