समानुपातिक सांसद

सात दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’, समाजवादी बनेन राष्ट्रिय दल

सात दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’, समाजवादी बनेन राष्ट्रिय दल

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिक तर्फको मतगणना सकिएको जनाएको छ। प्रतिनिधिसभाको समानुपातिक तर्फ थ्रेस होल्ड कटाउने सात दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने आयोगले जनाएको छ।
२ लाख ९८ हजार मत पाएको एकीकृत समाजवादीले थ्रेस होल्ड नकटाएका कारण राष्ट्रिय दलको मान्यता नपाउने भएको छ।

समानुपातिकको १ करोड ५ लाख ६० हजार ६७ सदर मत गणना हुँदा नेकपा एमाले लोकप्रिय मत पाएर पहिलो दल बनेको छ। एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ।

२७ लाख १५ हजार २२५ मत पाएर नेपाली काँग्रेस दोस्रो दल बनेको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत पाएको छ।

राप्रपाले ५ लाख ८८ हजार ८४९, जसपाले ४ लाख २१ हजार ३१३ र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मत पाएको छ। २ लाख ९८ हजार ३९१ मत पाएको एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन नसकेको आयोगले जनाएको छ।
आयोगका अनुसार सात राजनीतिक दलले मात्रै राष्ट्रिय मान्यता पाएका छन्। प्रतिनिधिसभामा समानुपातिकबाट १ सय १० जना सांसद निर्वाचित हुनेछन्।

कुन दलको कति सांसद?

दलहरूले प्राप्त गरेको मतका आधारमा नेकपा एमालेले ३४, नेपाली काँग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ७, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले ५/५ सिट प्राप्त गर्ने आयोग स्रोतले जनाएको छ।

समानुपातिकको नतिजासँगै प्रत्यक्षमा ५७ सिट जितेको काँग्रेस २७५ सदस्यीय प्रतिनिधिसभामा कूल ८९ सिटसहित पहिलो दल बनेको छ। प्रत्यक्षमा ४४ सिट जितेको नेकपा एमाले ७८ सिटसहित दोस्रो बनेको छ।

तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले प्रत्यक्षको १८ सहित ३२ सिट प्राप्त गरेको छ। पहिलो पटक संसद् प्रवेश गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षको ७ सहित कूल २० सांसदसहित संसद्मा बलियो उपस्थिति जनाउने भएको छ।

यसअघि एक सिटमा सीमित राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकबाट ७ गरी १४ सिट पुर्‍याएको छ। जनता समाजवादी पार्टीको प्रत्यक्षबाट ७ र समानुपातिकबाट ५ गरी १२ सिटमा सीमित हुँदा मधेसबाट उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्ष एक र समानुपातिकबाट ५ गरी ६ सिट प्राप्त गर्ने भएको छ।

थ्रेसहोल्ड कटाउन नसकेका एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १०, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक एक सिट जित्दा ५ सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

थ्रेस होल्ड कटाएका दलबाट निर्वाचित हुने सांसदको यकिन सङ्ख्या निकाल्ने काम भइरहेको आयोगका सहायक प्रवक्ता रिसी भुसालले बताए। ‘सङ्ख्या यकिन भएपछि सम्बन्धित दललाई निर्वाचित सङ्ख्याको क्लष्टर मिलाएर ल्याउन आयोगले पत्राचार गर्छ,’उनले भने,‘आयोगले बढीमा दलहरूलाई तीन दिनको समय दिन्छ।’

आयोगले यसअघि सात दिनको समय दिँदै आएकोमा यो पटक कानुन संशोधन गरेर तीन दिन भित्र बुझाउनु पर्ने व्यवस्था गरेको छ। दलहरूको क्लष्टर नमिले थप एक दिनको समय दिने सहायक प्रवक्ता भुसालले बताए। उनले मङ्सिर मसान्तसम्म राष्ट्रपति समक्ष चुनावको परिणाम बुझाउने तयारी आयोगले गरेको जानकारी दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.