नयाँ सरकार

सत्ता गठबन्धन प्याकेजमै भागबन्डा गर्ने छलफलमा

सत्ता गठबन्धन प्याकेजमै भागबन्डा गर्ने छलफलमा

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री समक्ष पेस गरेको छ।

आयोगले प्रतिवेदन पेस गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सकाउनुपर्ने संवैधानिक व्यवस्था छ।

आयोगले प्रतिवेदन बुझाएपछि राष्ट्रपति कार्यालयले सङ्घीय संसद् सचिवालयलाई नवनिर्वाचित सांसदहरूको विवरण पठाउने छ। सरकारले संसद् बैठक आव्हानका लागि मिति तोक्दै राष्ट्रपतिलाई सिफारिस गरेपछि संसद् बैठक आह्वान हुने कानुनी व्यवस्था छ।

बैठक आह्वानपछि संसद् बैठकमा जानुअघि नै नवनिर्वाचित सांसदको शपथ गराउनुपर्छ। निर्वाचित भएर आएका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने व्यवस्था छ।

उमेरले ज्येष्ठताको आधारमा राप्रपाको समानुपातिकतर्फबाट सांसद बनेका पशुपतिशमशेर जबराले सांसदहरूको शपथ गराउनेछन्। शपथपछि मात्रै सांसदहरूलाई प्रतिनिधिसभा सदस्यको लोगो दिइनेछ।

सांसदले शपथ लिएपछि ज्येष्ठ सदस्यले बैठक आह्वान गर्ने र त्यसपछि सरकार गठनको प्रक्रिया अघि बढ्छ। प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख चयन गर्ने कानुनी व्यवस्था छ।

सत्ता गठबन्धनले प्याकेजमै

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएसँगै सत्ता गठबन्धनमा रहेका दलहरू प्याकेजमै सहमति खोज्ने छलफलमा जुटेका छन्। गठबन्धन दलहरूबिच प्याकेजमै खोज्ने छलफल भइरहेको नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

महतका अनुसार राष्ट्रपतिमा विभिन्न व्यक्तिको नाम चर्चा भए पनि गठबन्धनले एकमुस्ट नाम तय गर्नेछ। ‘कुन जिम्मेवारी कसले लिने भन्ने टुङ्गो लागेको छैन,’प्रवक्ता महतले भने,‘प्रदेश र सङ्घको जिम्मेवारीबारे छलफल हुन्छ।’

माओवादीका नेता लीलामणि पोखरेलले एउटा मात्रै नभएर सबै पदको प्याकेजमै सहमति खोज्न छलफल भइरहेको बताउँछन्। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखदेखि संवैधानिक परिषद्का सदस्य सहितका पद बाँडफाँड प्याकेजमै हुने उनले बताए।

नेता पोखरेलले एमालेसँग पनि अनौपचारिक छलफल भइरहेको बताए। ‘ढोका बन्द कहीँ पनि छैन,’उनले भने,‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने एमालेको अफर औपचारिक होइन।’

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने पहिला काँग्रेस संसदीय दलको नेता चयन भए पछि मात्र सरकार गठनबारे गठबन्धन दलमा छलफल सुरु हुने बताए।

उनले समाजवादीमा माधवकुमार नेपाल सर्वसम्मत संसदीय दलको नेता चयन हुने बताउँदै काँग्रेसले दलको नेता चयन गरेपछि सरकार गठनबारे छलफल हुने बताए।

एमालेले प्रतिपक्षमा बस्ने तयारी गरेको बताएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रचण्डलाई प्रधानमन्त्रीमा अफर गरेको कुरा गलत भएको बताए। ‘हामी प्रधानमन्त्रीमा कसैलाई समर्थन गर्दैनौ,’पौडेलले भने,‘सरकार गठनको कुरा गठबन्धनले गर्दै होला नि,हामी प्रतिपक्षमा बस्ने तयारीमा छौ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.