निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

शेखर-गगनको चेतावनी, देउवा एक्लै गर्ने सहमतिको जिम्मा लिँदैनौ

शेखर-गगनको चेतावनी, देउवा एक्लै गर्ने सहमतिको जिम्मा लिँदैनौ

578
SHARES

काठमाडौं : नेपाली काँग्रेसको शेखर–गगन समूहले संस्थापन पक्षले गर्ने गोप्य सहमतिको जिम्मा सिङ्गो पार्टीले नलिने चेतावनी दिएको छ।

संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि शेखर–गगन समूहले सत्ता गठबन्धनका दलहरूबिच अँध्यारो कोठाभित्र गरिने पद बाँडफाँडको जिम्मेवारी पार्टीले नलिने चेतावनी दिएको हो।

अँध्यारो कोठाभित्र हुने सहमतिमा पार्टीले धोका दिएको भन्न नपाउने महामन्त्री गगन थापाले बताए। ‘हामी त्यो निर्णयसँग बाँधिँदैनौ,’संसदीय दलको नेतामा देउवासँग पराजित थापाले भने,‘वैधानिक ढङ्गले भएको छलफलमा मात्रै बाँधिन्छौ।’

अबको सरकार काँग्रेसकै नेतृत्वमा बन्ने बताएका थापाले प्रधानमन्त्री आलोपालो गर्ने यसअघिका जस्ता सहमति पार्टीले नबोक्ने प्रतिक्रिया दिएका हुन्।

काँग्रेस संसदीय दलको नेतामा निर्वाचित देउवाले ६४ मत ल्याए भने प्रतिस्पर्धी थापाले २५ मत मात्रै पाए। मतदानमा सबै ८९ सांसद सहभागी थिए। सांसद माया राईले अस्पतालबाटै मतदान गर्नुभएको छ। सुत्केरी भएर ओम अस्पताल भर्ना भएकी राईको मत सङ्कलन गर्न निर्वाचन समितिका प्रतिनिधि अस्पतालमै पुगेका थिए।

दलको नेता चुनिएसँगै देउवालाई पार्टीका तर्फबाट फेरि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। थापाले आफ्नै समूहको भोट नपाएको देखिएको छ।

दलको नेतामा चुनिएका देउवा सरकार गठनको छलफलमा जुटेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर देउवाले कुराकानी गरेका छन्।

देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै अस्पताल पुगेका हुन्। पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

अस्पताल जानुअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको शपथग्रहण कार्यक्रम शितलनिवासमा प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच जम्काभेट भएको थियो।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्सेर जबराको शपथग्रहण समारोहमा ओली र प्रचण्डबिच जम्काभेट भएको हो। चुनावी नतिजासँगै फोन गरेर बधाई दिएका ओलीले प्रचण्ड र पूर्वसहयात्री खनालसँग कानेखुसी गर्न भ्याएका छन्।

समाचार शेयर गर्नुहोस्
578
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.