प्रतिनिधि सभा

प्रेम आलेसहित ४ निर्वाचित सांसदले लिएनन् शपथ

प्रेम आलेसहित ४ निर्वाचित सांसदले लिएनन् शपथ

काठमाडौं : प्रतिनिधि सभामा निर्वाचित सदस्यले शपथ लिएका छन्। संविधान जारी गरेको बैठक कक्षमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित सदस्यहरूलाई शपथ गराए।

संसद्का महासचिव भरतराज गौतमले प्रतिनिधि सभाको नयाँ भवन निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए। निलम्बनमै रहँदा अवकाश पाएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई निलम्बन फुकुवाको पत्र दिएका कारण महासचिव गौतम सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका छन्।

महासचिव गौतमले अर्का राणालाई निर्वाचित सदस्यको शपथ गराउन लगाए। निर्वाचन आयोगले निर्वाचित सदस्यको विवरणमा उमेर प्रस्ट नखुलेको भन्दै शङ्का गरेर आयोगलाई पत्राचार गरेको थियो संसद्ले।

संवैधानिक निकाय निर्वाचन आयोगको विवरणमा शङ्का गरेर संसद्ले ज्येष्ठ सदस्यमा दोस्रो नम्बरका चित्र बहादुर केसीको ठाउँमा राणाको नाम राखेर राणालाई शपथ गराउन राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो।

बुधवार राष्ट्रपति कार्यालयमा शपथ लिएका राणाले बिहीबार संसद् भवन नयाँ बानेश्वरको बैठक कक्षमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित केसीसँगै निर्वाचित सदस्यहरूलाई शपथ गराए। मुलुक र जनता प्रति पूर्ण वफादार रही सत्य निष्ठा पूर्वक प्रतिज्ञा गरेर ईश्वरको नाममा शपथ लिएका छन् निर्वाचित सदस्यहरूले।

शपथमा लेखिएको छ,‘नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदारीका साथ गर्नेछु।’
शपथ लिएसँगै निर्वाचित सदस्यहरूलाई महासचिव गौतमले सङ्घीय संसद्को प्रतीक लोगो लगाउन अनुरोध गरे।

शपथ र लोगो लगाउने कार्यक्रममा ४ जना सांसद अनुपस्थित भएका छन्। संसद् सचिवालयले महेन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राई शपथ लिने कार्यक्रममा उपस्थित नभएको जनाएको छ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो अस्पतालमै गएर भेटेका माधवकुमार नेपाल आज शपथ लिन आउनु भयो,’संसद् सचिवालयले भन्यो,‘महिन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राई उपस्थित भएनन्।

महिन्द्र राय २०७४ को संसद् सदस्यलाई शपथ गराउने दिन उपस्थित थिएनन्। नागरिकता अनुसार उनको उमेर ८५ वर्ष छ। उनले नै जन्म मिति अनुसार नागरिकता नमिल्ने भन्दै अघिल्लो पटक ज्येष्ठ सदस्यको रूपमा शपथ गराएका थिएनन् भने आफूले पनि शपथ लिएनन्। प्रतिनिधि सभाको दोस्रो कार्यकालमा पनि उनी उपस्थित भएनन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.