प्रधानमन्त्रीलाई भने, बाध्य भएर सडकमा आउने परिस्थिति नबनोस्

प्रधानमन्त्रीलाई भने, बाध्य भएर सडकमा आउने परिस्थिति नबनोस्

काठमाडौं : उद्योगी व्यवसायीले बाध्य भएर सडकमा आउने परिस्थिति बनेको बताएका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका उद्योगी व्यवसायीले सडकमा आउने परिस्थिति अन्त्य गर्न आग्रह गरेका छन्।

देशको मौद्रिक नीतिको समीक्षा मार्फत अर्थतन्त्रमा परेको वहुुआयामिक असर सम्बोधन हुन नसकेको उद्योगी व्यवसायीले गुनासो गरे। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डको निजी निवास खुमलटारमा भेटेर ध्यानाकर्षण गराएका महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार प्रधानमन्त्री प्रचण्डले भने, ‘महासङ्घ अर्थतन्त्र जोगाऔँ भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनु भयो, त्यही विषयमा तपाईँहरू चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ, सरकारले यसलाई गम्भीर रूपमा लिन्छ।’

प्रधानमन्त्री प्रचण्डले महासङ्घका तर्फबाट यसअघि दिइएको सुझाव अध्ययन गरिरहेको बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई महासङ्घले अर्थतन्त्रमा परेको असरबारे जानकारी गराएको थियो।

प्रधानमन्त्री नियुक्त भएपछि बधाई तथा शुभकामना दिने निवासमै पुगेको महासङ्घको टोलीलाई प्रचण्डले अर्थमन्त्रालय, राष्ट्र बैङ्क र निजी क्षेत्रलाई राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने आश्वासन दिएका छन्।

महासङ्घका अध्यक्ष शेखर गोल्छाले चालू पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न माग गरे। हाल देखिएको तरलता सङ्कुचनको समस्या समाधान गर्न केन्द्रीय बैङ्कले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव महासङ्घका अध्यक्ष गोल्छाले प्रधानमन्त्री प्रचण्डसँग राखेका हुन्।

यतिखेर अरुकुरा भन्दा पनि मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्ने अध्यक्ष गोल्छाले बताए।

राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै अहिले सङ्कुचित हुँदै गएको प्रधानमन्त्री प्रचण्डलाई बताएको महासङ्घले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट विशेष निर्णय समेत भैसकेको बताए। विशेष निर्णय के हो? त्यो भने महासङ्घले विज्ञप्तिमा खुलाएको छैन।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.