अबको संसद्

संसद्को पहिलो बैठकमा सभामुख चयनको मिति तोक्ने तयारी

संसद्को पहिलो बैठकमा सभामुख चयनको मिति तोक्ने तयारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को अधिवेशन पुस २५ गतेका आव्हान गरेकी छन्। सरकारको सिफारिस अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक २५ गते दिउँसो १ बजे बस्ने गरी आव्हान भएको हो।

राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

पहिलो बैठकमा प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीका विषयमा छलफल हुने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए। बैठकका लागि भौतिक व्यवस्थापनको तयारी सबै सकिएको र अहिले जनशक्ति र सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको पहिलो बैठक अगाडि सर्वदलीय छलफल हुने पाण्डेले बताए। सर्वदलीय छलफलका आधारमा सभामुख चयनको मिति तोक्ने पाण्डेले बताए। संसद्को पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख चयन भइसक्नु पर्ने भएकाले पहिलो बैठकमै सभामुख चयनको मिति तोकिने पाण्डेले बताए।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने छ। नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहे पनि प्रधानमन्त्री प्रचण्डले पहिलो बैठकमै विश्वासको मत लिनका लागि प्रस्ताव गर्न सक्ने प्रवक्ता पाण्डेले बताए।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने सम्बन्धमा गठबन्धन दलमा छलफल गर्नुहुने प्रचण्डको निजी सचिवालयले जनाएको छ। विश्वासको मत लिने प्रधानमन्त्रीविरुद्ध दुई वर्ष अविश्वासको प्रस्ताव पेस गर्न नपाइने संवैधानिक व्यवस्था छ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र गरी कूल १ सय ६९ सांसदको समर्थन गरेको पत्र राष्ट्रपति कार्यालयमा बुझाइसकेका छन्। अब प्रतिनिधि सभाबाट विश्वासको मत लिन मात्रै बाँकी छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.