इन्जा पत्रकारिता अवार्डका लागि आवेदन आह्वान

इन्जा पत्रकारिता अवार्डका लागि आवेदन आह्वान

काठमाडौँ : इञ्जा पत्रकारिता अवार्ड २०२३ का लागि आवेदन आह्वान भएको छ। नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाले एक/एक लाख रुपैयाँ राशिको खोजी पत्रकारिता पुरस्कार, सामुदायिक पत्रकारिता पुरस्कार र विद्वत पत्रकारिता पुरस्कारका लागि आवेदन आव्हान गरेको जनाएको छ।

इञ्जा खोजी पत्रकारिता पुरस्कार र इञ्जा सामुदायिक पुरस्कारका लागि सन २०२२ भरी प्रकाशित वा प्रसारित आफ्नो समाचार र आलेखको एक प्रति समेत संलग्न गरी फेब्रुअरी १ सम्ममा पठाउन इञ्जाले आग्रह गरेको छ।

अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जाले लामो समयसम्म विश्ववैंकमा काम गरेका विद्वान डा शुकदेव साहको परिवारद्वारा प्रायोजन गरिने इञ्जा विद्वत पत्रकारिता पुरस्कार पत्रकारितामा एमफिल वा पिएचडी गर्दै गरेका विद्यार्थीहरूलाई प्रदान गरिने जनाएको छ।

यसको छनोट त्रिवि पत्रकारिता तथा आमसञ्चार विभाग समेतको सहभागितामा गठन हुने समितिमार्फत हुने इन्जाका सचिव दीपक रिजालले निकालेको विज्ञप्तिमा लेखिएको छ। इञ्जा विद्वत पत्रकारिता पुरस्कारका लागि आफैँले आवेदन गर्न वा अरूले सिफारिस समेत गर्न सक्ने व्यवस्था गरिएको इञ्जाले जनाएको छ।

इञ्जाले खोजी पत्रकारिता पुरस्कार छनोटका लागि नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष, वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा नेपाल समाचारपत्र दैनिकका समाचार सम्पादक दीपक रिजाल र राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपाने रहेको समिति गठन गरेको जनाएको छ।

इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारका लागि जनता प्रसारण तथा प्रकाशन लिमिटेडका प्रधान सम्पादक, लेखनकुञ्जका सम्पादक, वरिष्ठ पत्रकार टंक पन्तको संयोजकत्वमा पत्रकारद्वय दीपेन्द्र दोङ र दीपु पोखरेल ज्ञवाली रहेको समिति गठन गरेको छ।

इञ्जा विद्वत पत्रकारिता पुरस्कारका लागि त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा चिरञ्जीवी खनालको संयोजकत्वमा सोही विभागका उपप्राध्यापकहरू घमराज लुइँटेल र देवराज अर्याल रहेको समिति गठन गरिएको विज्ञप्तिमा लेखिएको छ।

फेब्रुअरी १ सम्ममा प्राप्त आवेदनहरुहरुमाथि छनोट गरी तोकिएका समितिहरूले फेब्रुअरी १५ मा पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूको नाम सार्वजनिक गरिने र मार्च १ मा आयोजना हुने इञ्जा वार्षिकोत्सवको उपलक्ष्यमा पुरस्कार वितरण गरिने इन्जाले जनाएको छ।

इञ्जा खोजी पत्रकारिता पुरस्कारबाट अहिलेसम्ममा पत्रकारहरू अजयवावु सिवाकोटी, टपेन्द्र कार्की, सुशील पन्त र गजेन्द्र बुढाथोकी पुरस्कृत भएका छन्। इञ्जा ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकारहरू मेनुका ढुङ्गाना, प्रकाश सिंह, दीपा कर्ण एवं सरोज ढुङ्गाना पुरस्कृत भएका छन्।

इञ्जा विद्वत पत्रकारिता पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार कपिल काफ्ले र त्रिवि पत्रकारिता विभागका उपप्राध्यापक देवराज अर्याल पुरस्कृत भएका थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.