राष्ट्रपतिमा सबै दलको समर्थन लिने काँग्रेसको प्रयास

राष्ट्रपतिमा सबै दलको समर्थन लिने काँग्रेसको प्रयास

काठमाडौं : नेपाली काँग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने भएको छ। चुनावको मिति नतोकिँदै काँग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने विषयमा पार्टीभित्र छलफल गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा सोमबार बसेको पदाधिकारी बैठकपछि काँग्रेसले राष्ट्रपति चयनका लागि चुनावको मिति तोक्न माग गर्ने र उम्मेदवारीबारे अरू दलहरूसँग सहयोग माग्ने जानकारी दिएको हो।

काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संसद्मा रहेका अन्य दलहरूसँग छलफल गरेर राष्ट्रपतिको निर्वाचनमा काँग्रेसले उम्मेदवार दिने जानकारी दिए। सत्तारूढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरूसँग पनि छलफल गर्ने उनले बताए।

काँग्रेसले माघ २८ भित्र राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग र सरकारसँग माग गरेको छ। सत्तारूढ दलले कानुनमा व्यवस्था भए भन्दा फरक ढङ्गले व्याख्या गरेर निर्वाचन सार्ने तयारी गरेको आरोप समेत काँग्रेसले लगाएको छ।

राष्ट्रपतिको कार्यकाल पाँच वर्ष पुग्दै गर्दा त्यही दिन अर्को राष्ट्रपतिको पदवहाली गर्न मिल्ने गरी चुनाव सम्पन्न गर्न माग गरेको काँग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। ‘संविधान र कानुन अनुसार अर्को राष्ट्रपति त्यो ठाउँमा पुर्‍याउने गरी निर्वाचन गर्नुपर्छ भन्ने हो,’पाण्डेले भने,‘फागुन २८ भित्र अर्को राष्ट्रपति तयार भएर पुरानो राष्ट्रपति बिदा हुने र नयाँ राष्ट्रपति बहाली हुने अवस्था सिर्जना गर्नुपर्छ र त्यसका लागि निर्वाचन आयोग र नेपाल सरकारले त्यो तत्परता देखाउनु पर्छ।’

संसद्को ठुलो दल काँग्रेसले प्रधानमन्त्री, सभामुख र उपसभामुख गुमाइसकेको छ। चुनाव अघिको गठबन्धन भत्किएपछि सात वटै प्रदेशमा काँग्रेसले सत्ता विहीन बनेको छ।

प्रमुख प्रतिपक्षी दलको मान्यता

प्रतिनिधि सभाको ठुलो दल नेपाली काँग्रेसले हारगुहार गरेर प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ। सङ्घीय संसद् सचिवालयले काँग्रेसको प्रमुख प्रतिपक्षी दल बन्ने पत्र अनुसार सोमबार मान्यता दिएको जनाएको छ।

नेपाल मजदुर किसान पार्टीले सरकारलाई विश्वासको मत दिएर काँग्रेसले प्रमुख प्रतिपक्षी दल बन्ने कानुनी हैसियत गुमाएको दाबी गरेको थियो। नेमकिपाको दाबी पछि काँग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाउन सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएर प्रमुख विपक्षी दलको मान्यता दिन माग गरेको थियो।

संसद् सचिवालयले सोमबार पत्र पठाएर काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधाबारे जानकारी गराएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.