"/>
भुटानी शरणार्थी

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

काठमाडौं : दक्षिण एसियाली देश हो भुटान। दक्षिण एसियाली सहयोग सङ्गठन सार्कको सदस्य राष्ट्र हो भुटान। नेपाली भाषी भुटानीहरू देश निकालिएका छन्।

भुटान भित्र रहेका नागरिक पनि बन्दी बनेका छन्। मानवअधिकार र लोकतन्त्रका लागि सङ्घर्षरत भुटानी नागरिक दमनकारी शासकको आदेश मान्न बाध्य छन्।

नेपालको शरणमा आएका नेपाली भाषी भुटानी १ लाख ३ हजार तेस्रो देश पुनर्वास भएका छन्। उनीहरू परिवार भेट्न पाएका छैनन्। भुटान प्रवेश निषेध गरिएको छ। भुटान भित्र परिवार मिलन गर्न बन्देज लगाउने शासकले ७८ जनालाई जेल भित्र कोचेको छ। दक्षिण एसियाली देशहरू भुटानी शरणार्थीलाई स्वदेश फर्काउनुको साटो तेस्रो देश पुनर्वास गराएर पन्छिएका छन्।

कोरोना सङ्क्रमण सुरु हुनुअघि सम्म भुटानी शासकले आफ्ना नागरिकलाई देश निकाला गरिरहेको थियो। पूर्वी नेपालका झापा र मोरङमा मात्रै नभएर पोखरा, बागलुङसम्म भुटानी शरणार्थीको बसोबास रहेको बताउँछन् भुटानका तत्कालीन राज्य परिषद् सल्लाहकार समिति सदस्य एवं आस्थाका बन्दी टेकनाथ रिजाल।

३० वर्षदेखि स्वदेश फर्कन पाउनुपर्ने मानवअधिकारवादी नेता रिजालको माग भुटानी शासकले सुनेन। दक्षिण एसियाली देशमध्ये नेपाल र भारतले सहयोग गरे आफ्नै देश फर्कन पाइने आशा नेपालमै कपाल फुलाएका रिजालको छ।

नेपालबाट विदेश पुगेका भुटानी परिवार सम्झेर रोइरहेका छन्। विदेश नगई भुटान नै फर्कन पाउनुपर्ने माग गरेका भुटानी भाेकभाेकै परेका छन्।

संयुक्त राष्ट्र सङ्घीय शरणार्थी उच्च आयोगले नेपालबाट तेस्रो देश जान नमानेलाई हेर्नै छोडेको छ।

मानवअधिकार र लोकतन्त्रको आन्दोलनमा रिजाल नेपाल र भारतको सहयोग भए भुटानी शासकले आफ्ना नागरिकलाई स्वदेश फर्काउने विश्वास सुनाउँछन्।

नेपाली भाषी भुटानीका परिवार कोही भुटानका जेलमा, कोही नेपालमा त कोही क्यानडा, अमेरिका लगायत आठ पश्चिमी देश पुगेका छन्। परिवार छिन्नभिन्न बनेको छ।

‘राजाको एकतन्त्रीय शासनले गर्ने दमन सहेर भुटानभित्रै बसेकाहरूले परिवार भेट्न समेत पाएका छैनन्,’तत्कालीन राज्य परिषद् सदस्य समेत रहेका रिजालले पहिचानसँग भने,‘नेपाल सरकारले भुटान सरकारसँग कुरा गरेर भुटान फर्कने वातावरण तयार गरिदियोस् भनेर निवेदन दिएको छु।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निवेदन पठाएर, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालासँग भेटेर स्वदेश फर्कन पाउने मानवअधिकारको पक्षमा आवाज उठाउन आग्रह गरेका छन् रिजालले।

नेपालको संसद्मा भुटानी शरणार्थी स्वदेश फिर्ता हुन पाउने वातावरण बनाउन भुटान सरकारको ध्यानाकर्षण गराउन रिजालले सभामुख घिमिरेसँग सहयोग मागेका छन्।

काँग्रेस नेता एवं सांसद कोइरालाले जायज मागमा सकारात्मक सहयोग हुने आश्वासन रिजाललाई दिएका कोइरालाका स्वकीय सचिव दिनेश थपलिया बताउँछन्।

रिजालले नेपालको संसद्मा नेपाली भाषी भुटानीलाई भुटान नै फर्कने वातावरणका लागि पहल गरिदिन आग्रह गरेका हुन्। ‘नेपालले भुटानसँग वार्ता गरेर आफ्नै देश फर्कन पाउने भुटानी नागरिकको अधिकारमा बल पुर्‍याउनु पर्थ्यो,’उनले भने,‘तर, भुटानी शरणार्थीलाई तेस्रो देश पठाउने काम भयो।’

अमेरिका लगायत ८ पश्चिमी देशमा १ लाख १३ हजार भुटानी शरणार्थी पुनर्वास भएका छन्। पुनर्वास भएका मध्ये ९६ हजार अमेरिका र बाँकी बेलायत, क्यानडा नर्वे, डेनमार्क, अस्ट्रेलिया, न्यूजिल्याण्ड र नेदरल्याण्ड पुगेका छन्।
सन् १९९० आसपासका वर्षमा दक्षिण भुटानमा भएको सरकारी दमनका कारण १ लाख भन्दा बढी नेपाली भाषी भुटानी विस्थापित भएका थिए। उनीहरू नेपालमा आएर शरणार्थी बनेका थिए।

शरणार्थी समस्या समाधानको लागि सन् १९९३ देखि सन् २००० सम्ममा १५ पटक नेपाल र भुटानका अधिकारीहरू वार्तामा बसे। वार्तामा भुटान आफ्ना नागरिकको फिर्तीका लागि तयार नभएपछि शरणार्थी पुनर्वास सुरु भएको हो।

प्रदेश नं १ को झापामा अहिले पनि ८ हजार भन्दा बढी शरणार्थी स्वदेश फिर्तीको आसमा रहेको बताउँछन् रिजाल।

भुटान नै फर्कन पाउनु पर्ने मागमा अडिग रहेर नेपालमै शरणार्थी बनेर बसेका रिजालका आफ्नै सन्तान क्यानडामा बसोबास गर्छन्। ‘नेपालमा थोरै मात्रै भुटानी शरणार्थी छौ,’ रिजालले भने,‘हाम्रो माग भनेकै भुटान नै फर्कन पाउनु पर्छ भन्ने हो।’

भुटानबाट देश निकाला गरिएकाहरू अहिले पनि नेपाल र भारतका विभिन्न ठाउँमा आश्रय लिएर बसिरहेका उनले बताए। ‘उनीहरूसँग परिचयपत्र समेत छैन,’उनले भने,‘उनीहरू पहिचान विहीन छन्।’ उनले भुटानबाट लखेटिएकाहरूलाई भुटानमै फर्कने वातावरण बनाउन नेपाल र भारत दुवैको पहल हुन आवश्यक रहेको बताए।

उनले अवरुद्ध वार्ता सुरु गर्न नेपाल सरकारसँग आग्रह गरे। वार्ताबाट आफ्नो देश फर्कने वातावरण बनाउनु पर्ने उनले बताए। ‘भुटान फर्काउने भन्दा नेपाली नागरिक बनाएर राख्ने कुरा पनि सुनिएको छ,’नेता रिजालले भने,‘हामीले नेपाली नागरिकता मागेका छैनौ,हामी आफ्नै देश फर्कन चाहन्छौ।’

विभिन्न देशमा पुगेका भुटानी शरणार्थी भुटान नै फर्कने रिजालले दाबी पनि गरे। भुटान फर्कने मागमा एक्लै परे जस्तो लाग्दैन? भन्ने पहिचानको प्रश्नमा रिजालले भने,‘भुटानमा मानवअधिकार र प्रजातन्त्रको माग गर्दा १० वर्ष जेल परे,भागेर नेपालको शरणमा आए,’उनले भने,‘हाम्रो श्रीसम्पत्ति उतै (भुटान) छ,यहाँ शरणार्थी जीवन बिताउनु परेको छ, आफ्नो देश फर्कन पनि नेपाल सहित विश्व समुदायसँग अपिल गर्नु परेको छ।’

उनले नेपालबाट अर्को देश पुगेका भुटानी शरणार्थीलाई उनले नेपालबाट अर्को देश पुगेका भुटानी शरणार्थीलाई भुटानभित्र प्रवेश निषेध गरिएको बताए। ‘विदेश त पुगेका छन्,सन्तुष्ट पनि होलान्,’उनले भने,‘भुटानमा रहेका आफ्ना परिवार भेट्ने गरी आउन पाएका छैनन्। आफ्ना नागरिकलाई आफ्नै देश प्रवेश गर्न नदिएर भुटानी राजाले निरङ्कुश शासन चलाइरहेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.