ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीले बैङ्किङ क्षेत्र त्रसित

ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीले बैङ्किङ क्षेत्र त्रसित

काठमाडौं : ब्याजदरको विषयलाई अतिरञ्जित नबनाउन बैङ्क तथा वित्तीय संस्था परिसंघले आग्रह गरेको छ। विगत केही समयदेखि बैङ्क तथा वित्तीय संस्थाहरूलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैङ्किङ क्षेत्र त्रसित र तरङ्गित बनेको परिसंघले बताएको छ।

कानुन हातमा लिएर आफ्ना अभीष्ट पुरा गर्न खोज्नेहरूलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारबाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरूको परिसंघका सचिव कुश प्रसाद मल्लीले विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण गराएका छन्।

देशको अर्थतन्त्रको रक्तसञ्चारको रूपमा रहेको बैङ्किङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्थाको सृजना गर्न/गराउन परिसंघले अपिल समेत गरेको छ।

प्रेस विज्ञप्ति

कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध र अन्य विविध विश्व परिघटनाहरूको कारण उत्पादन, माग तथा आपूर्ति शृङ्खला बिथोलिँदा अहिले विश्व अर्थतन्त्रमै शिथिलता छाएको छ। आन्तरिक तथा बाह्य कारणबाट नेपालको अर्थतन्त्र समेत प्रभावित बनिरहँदा साधारण मानिसदेखि राजनीतिज्ञ, नीति निर्माता, अर्थशास्त्री र समग्र लगानीकर्ताहरूमा समेत चासो र चिन्ता बढाएको छ। यस्तो विषम परिस्थितिलाई सहज बनाउँदै अर्थतन्त्रलाई लयमा फर्काउने सम्भावित उपायहरूका बारेमा नेपाल सरकार, मातहतका नियामक निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरू सचेत र जिम्मेवार हुँदै आर्थिक सुधारको मार्गमा सामूहिकरुपमा लागि पर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता बनेको छ।

अत्यन्तै पारदर्शी र संवेदनशील क्षेत्रकोरुपमा परिचित नेपालको बैङ्किङ क्षेत्रले नियामक निकायहरूमार्फत जारी नीति नियमको प्रभावकारी कार्यान्वयन, नेपाल राष्ट्र बैङ्कबाट भएका स्थलगत/गैरस्थलगत निरीक्षणका आधारमा दिइएका सुझाव र बजारको वस्तुगत अवस्थालाई मध्यनजर गर्दै अपनाएका सजगतापूर्ण कार्यहरूको कारण अहिले नेपालको आर्थिक क्षेत्रका केही महत्त्वपूर्ण सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख हुँदै गरेको आँकडा हालै जारी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले नै प्रस्ट पारेको छ।

देशको अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेको बैङ्किङ क्षेत्रले आम जीवनस्तर, आर्थिक/सामाजिक क्षेत्रको विकास एवं विस्तार, रूपान्तरण र समग्रतामा देशको दिगो आर्थिक विकासमा पुर्‍याएको योगदान कहीँ कतै छिपेको छैन। नेपालमा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाहरूले प्रत्यक्ष/परोक्षरुपमा लाखौँको सङ्ख्यामा रोजगारीका अवसरहरूको सृजना, अरबौँ रकम राजस्व परिचालनसहित संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै मोफसलदेखि दुदराजसम्म आफ्ना शाखा कार्यालयमार्फत सामाजिक–आर्थिक रूपान्तरणका लागि अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। आफ्नै देशभित्र मौद्रिक/बौद्धिक लगानी गरी/गराइ राष्ट्रको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने पवित्र मनसायसहित दशकौँदेखि बैङ्किङ क्षेत्रको विकासमा जीवन अर्पेका र बैङ्किङ क्षेत्रबाटै सुनौलो भविष्यको जीवन रेखा कोरिरहेका लाखौँ संस्थापक/सर्वसाधारण लगानीकर्ता, प्रतिबद्ध कर्मचारीहरूको योगदानलाई नजरअन्दाज गरिनु हुँदैन।

अतिविकसित देशदेखि विकासोन्मुख अधिकांश देशहरूले तरलता, ब्याजदर र मुद्रास्फीति जस्ता चुनौती भोगिरहेको तथ्य जगजाहेरै छ। राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्ति जस्ता विषयहरूले ब्याजदर निर्धारण हुने विषय पनि घाम जत्तिकै छर्लङ्ग छ । स्वयं नेपाल सरकार, आम उद्यम/व्यवसाय र सर्वसाधारण समेतले अनपेक्षितरुपमा भोगिरहेका समस्याहरूको उचित समाधानका लागि सबै जना एकजुट भएर लाग्नुपर्ने वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैङ्क तथा वित्तीय संस्थाहरूलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैङ्किङ क्षेत्र त्रसित र तरङ्गित बनेको छ।

बैङ्किङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका यस्ता उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरू सदाका लागि रोक्नका लागि कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभीष्ट पुरा गर्न खोज्नेहरूलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारबाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ।

देशको अर्थव्यवस्था नै धराशायी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलापहरू यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आकलन नै गर्न नसकिने हुने हुँदा यसप्रति सचेत रहँदै देशको अर्थतन्त्रको रक्तसंचारकोरुपमा रहेको बैङ्किङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्थाको सृजना गर्न/गराउन नेपाल सरकार, मातहतका निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरूमा हार्दिक अपिल गर्दछौँ।

कुश प्रसाद मल्ली
सचिव

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading