काठमाडौं : २०७९ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो।
राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको सात महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.७८ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरूको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ। समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैङ्कले जनाएको छ।
२०७८ माघ महिनामा यी क्षेत्रहरूमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मुद्रास्फीति रहेको थियो। २०७९ माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.६७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १०.३४ प्रतिशत रहेको थियो। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ३.४९ प्रतिशत, १४.०२ प्रतिशत र ५.४४ प्रतिशत रहेको छ।
निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२.०७ प्रतिशत रहेका छ। माघ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १०.२७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.७२ प्रतिशतले बढेको थियो। तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ९.६४ प्रतिशतले बढेको छ।
वैदेशिक व्यापार
आर्थिक वर्ष २०७९/८० को सात महिनामा कुल वस्तु निर्यात २९.० प्रतिशतले कमी आई ९३ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.३ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.७ प्रतिशत र १३.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ८.० प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा जिङ्क सिट, अलैँची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ। कुल वस्तु आयात १९.९ प्रतिशतले कमी आई ९१९ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८.० प्रतिशत, २४.३ प्रतिशत र २२.० प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ।
निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगन्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ। सात महिनामा कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले कमी आई ८२५ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८.४ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.५ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ७१ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएका छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२८ अर्ब १७ करोड रुपैयाँ बराबरको भएको थियो। वृहत् आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५३.९ प्रतिशत र ४५.५ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगण्य अर्थात् ०.५३ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४८.२ प्रतिशत, ०.०२ प्रतिशत र ५१.७ प्रतिशत रहेको थियो।
विप्रेषण आप्रवाह
समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भई ६८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७.३ प्रतिशतले वृद्धि भई ३,१४,७६७ पुगेको छ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १,६७,७०८ पुगेको राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २६५.९ प्रतिशतले बढेको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.