निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

उपनिर्वाचनमा उम्मेदवारको खर्च : चितवन र बारामा २९, तनहुँमा ३१ लाख

उपनिर्वाचनमा उम्मेदवारको खर्च : चितवन र बारामा २९, तनहुँमा ३१ लाख

698
SHARES

काठमाडौं : निर्वाचन आयोगले वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद तोकेको छ।

चितवन–२ र बारा–२ मा उम्मेदवारले २९ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा आयोगले तोकेको हो। यस्तै तनहुँ–१ मा उम्मेदवारले ३१ लाख रुपैयाँ खर्च गर्न पाउने निर्णय गरेको आयोगले जनाएको छ।

उपनिर्वाचनका उम्मेदवारहरूलाई तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न आयोगले भनेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नु पर्ने समेत आयोगले निर्णय गरेको प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए।

तनहुँ–१ मा ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ जनाको उम्मेदवार मनोनयन दर्ता भएको छ। दलको तर्फबाट ३३ र स्वतन्त्रबाट ३६ जना उम्मेदवार रहेका आयोगले जनाएको छ।

तनहुँ–१ मा नेपाली काँग्रेसका रामचन्द्र पौडेल विजयी भएका थिए। पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त प्रतिनिधिसभा सदस्यमा काँग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. स्वर्णिम वाग्लेसहित ९ जनाको उम्मेदवारी परेको छ।

चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने, एमालेका रामप्रसाद न्यौपाने, नेपाली काँग्रेसका जितनारायण श्रेष्ठ सहित २४ जना चुनावी मैदानमा छन्। मङ्सिर ४ को निर्वाचनमा रास्वपा सभापति लामिछाने विजयी भएका थिए। नागरिकता विवादमा सांसद पद गुमेपछि लामिछाने पाँच महिनाकै अन्तरमा दोस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन्।

जनता समाजवादी पार्टीबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै रिक्त रहेको बारा–२ मा जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, नागरिक उन्मुक्ति पार्टीका डा कमरुल्लाह अन्सारी, आम जनता पार्टीबाट अरुणकुमार ज्ञवाली उम्मेदवार छन्।

समाचार शेयर गर्नुहोस्
698
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.