क्विन्टल सुन बरामद : तस्करलाई प्रमाण नष्ट गर्ने मौका

क्विन्टल सुन बरामद : तस्करलाई प्रमाण नष्ट गर्ने मौका

काठमाडौं : देशको राज्य संयन्त्र सेटिङमा चलेको पाइएको छ। पटकपटक राज्य सत्तामा पुगेकाहरूले नै सिस्टम भत्काएका छन्। सेटिङमा चलेको गतिलो प्रमाण आठ दिन अगाडी विमानस्थल भन्सार पास भएर बाहिरिएपछि बरामद भएको क्विन्टल सुनलाई लिन सकिने टिप्पणी हुन थालेको छ।

सुन बरामद भएको साता दिन बित्न लागेपछि सरकारका गृहमन्त्री र अर्थमन्त्री अन्तर्राष्ट्रिय विमानस्थल भन्सार अनुगमन गरेर निर्देशन दिन थालेका छन्।

राजीनामा माग भएको भोलि पल्टै बिहीबार अर्थमन्त्री डा.प्रकाशशरण महत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको निरीक्षणमा पुगे।

नेपाली काँग्रेसका सांसद सुनिल शर्माले संसद्बाट राजीनामा माग गरेको भोलिपल्टै मन्त्री महतले विमानस्थल भन्सारमा आधिकारिक व्यक्तिबाहेक जोसुकै व्यक्ति भए पनि निश्चित प्रक्रिया पूरा गरेर मात्रै प्रवेश दिन निर्देशन दिए।

संसदमा सुन काण्ड : काँग्रेस सांसदले मागे अर्थ र गृहमन्त्रीको राजीनामा

उनले एउटा मात्रैको भूमिकाले राम्रो परिणाम आउन नसक्ने बताए। करिब एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको मन्त्री महतले उल्लेख गरे। ‘अपराध र तस्करी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्ष अपग्रेड गर्नुपर्ने हुन्छ’उनले भने।

मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा के कस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिक रूपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएका अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

‘अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ’, उनले भने,‘सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ।’

बल्ल छापा

राजश्व अनुसन्धान विभागमाथि शङ्कास्पद गोदाममा बल्ल छापा मारेर नाटक मञ्चन गरिरहेको आरोप लागेको छ। तत्कालै एक्सन लिनु पर्ने निकायहरू तस्करलाई उम्कन समय दिइरहेका छन्। सुन बरामद भएको एक साता पुगेकै दिन बुधवार रेडी ट्रेडको गोदाममा खानतलासी गरेको राजस्व अनुसन्धान विभागले बिहीबार चिनियाँ नागरिकले भाडामा लिएको घर शील गरेको छ।

साउन ४ गते पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित भाडाको घरमा खानतलासी गरिएको विभाग स्रोतले बताएको छ। स्रोतका अनुसार लाजिम्पाटबाट अनुसन्धान अधिकृतको टोलीले केही महत्त्वपूर्ण कागजात र सामग्री हुनसक्ने आशङ्कामा खानतलासी गर्दा केही बाकसहरू भेटिएको छ। तर, त्यसमा सुन भने नभेटिएको एक अधिकारीले बताए।

भेटियोस् पनि कसरी? लुकाउने र प्रमाण नष्ट गर्ने पर्याप्त समय पाएका तस्करहरू खुलेआम उम्कन पाइरहेका छन्।

रेडी ट्रेडको सोह्रखुट्टे गोदामबाट बरामद गरेको ६६ वटा कार्टुन अधिकांश खोलेको अवस्थामा भेटिएको विभागले बताएको छ। बरामद भएका कार्टुनमध्ये एक दर्जन बाहेक सबै खोलेको अवस्थामा रहेको विभाग स्रोतले जानकारी दिएको हो।

विभागले रेडी ट्रेडले सुन भित्र्याउने क्रममा ती सामान ल्याएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएको छ। त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयबाट क्विन्टल सुन बरामद भएको घटनाको छानबिनका क्रममा एक चिनियाँ, एक भारतीय, भन्सार कर्मचारी, भन्सार एजेन्टसहित १७ जना पक्राउ परेका छन्।

उनीहरूमाथि अनुसन्धानका लागि विभागले ९० दिनको समय पाउने छ। बरामद ब्रेक सु सहित १५५ केजी सुन भने केन्द्रीय बैङ्कको टक्सार महाशाखामा राखिएको छ। बरामद सुनको तौल लिने काम भएको छैन।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.