निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ट्रेकिङ गाइड तालिम : रोजगारीको नयाँ अवसर

ट्रेकिङ गाइड तालिम : रोजगारीको नयाँ अवसर

448
SHARES

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई पर्यटन क्षेत्रमा आबद्ध गराई आर्थिक तथा सामाजिक रूपमा सबल तुल्याउने उद्देश्यले पथप्रदर्शक (ट्रेकिङ गाइड) तालिम दिइएको छ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)द्वारा संयुक्त रूपमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको आयोजनामा नेपालमै पहिलोपटक यस्तो तालिम भएको दाबी गरिएको छ।

पैँतीस दिने तालिममा २५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ। तालिमका सहभागीलाई बिहीबार प्रमाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि सञ्चालित यो कार्यक्रम आफैँमा ठुलो सन्देश भएको बताए।

समाजमा हरेक खालका मानिसका लागि रोजगारी आवश्यक रहेको बताउँदै मन्त्री किरातीले तालिमले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकलाई पर्यटन क्षेत्रमा काम गर्न तथा स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘यो हेर्दा सानो काम देखिन सक्छ तर यसले दिने सन्देश ठुलो’, उनले भने,‘यसबाट हामीले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकलाई नेपाल आउन सहयोग पुग्नेछ।’

बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको जानकारी दिँदै विश्वमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूहका सदस्यलाई नेपालमा आकर्षित गर्न पनि यो तालिम कोशेढुंगा साबित हुने बताए।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक अर्जुन राईले यो तालिमले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि रोजगारीको नयाँ अवसर खोल्ने अपेक्षा गरिएको बताए।

राष्ट्रिय समाचार समितिका अनुसार तालिममा सहभागी सुलभ मोक्तानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि आयोजना गरेको तालिमले आफूहरूमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको बताएका।

समाचार शेयर गर्नुहोस्
448
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.