नक्कली शरणार्थी : कानुन व्यवसायीसहित बालकृष्णसँग शेखरको भेट

नक्कली शरणार्थी : कानुन व्यवसायीसहित बालकृष्णसँग शेखरको भेट

काठमाडौं : नक्कली भुटानी शरणार्थी मुद्दामा केन्द्रीय कारागार चलान भएका हाइप्रोफाइलहरुलाई भेट्न नेताहरूको ताती लाग्ने गरेको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न कारागारमा नेताहरूको ताती लाग्ने गरेको हो।

रायमाझी र खाँणलाई दैनिक भेट्न जानेहरू धेरै नै रहेको कारागार प्रशासनले जनाएको छ। ‘जिल्ला, प्रदेश र केन्द्रीय नेताहरू भेट्न आइरहनु भएको छ,’कारागार प्रशासनले पहिचानसँग भन्यो,‘रायमाझीको भन्दा पनि खाँणलाई भेट्न आउनेहरू धेरै छन्।’

बुधवार मात्रै काँग्रेस नेता शेखर कोइरालाले खाँणलाई भेटेका छन्। चिरञ्जीवी उपाध्याय सहित चार जना कानुन व्यवसायी लिएर गएका कोइरालाले झन्डै १ घण्टा खाँणसँग कुरा गरेका छन्। नेता कोइरालाले पनि खाँणलाई भेटेको स्वीकार गरेका छन्। कानुन व्यवसायीसहित भेट गरेका कोइरालाले खाँणसँग भएको कुराकानीबारे भने केही खुलाएनन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको राज्यविरुद्धको अपराधमा रायमाझी, खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, ईन्द्रजित राई, आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी सहित भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल पुर्पक्षका लागि कारागार चलान भएका छन्।

नक्कली शरणार्थी : कैफियत प्रतिवेदनमा बिहीबार सुनुवाइ

कारागार चलान भएका १६ जना र काठमाडौं जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका दुई गरी १८ जना नै उच्च अदालत पाटन पुगेका छन्। उच्चले बिहीबार १० जनाको कैफियत प्रतिवेदनमाथि सुनुवाइ गर्दै छ।

नक्कली भुटानी शरणार्थी पछि फाइल खोलिएको ललिता निवास प्रकरणमा पक्राउ परेका दुई आरोपी भने काठमाडौं जिल्ला अदालतको आदेशमा रिहा भएका छन्।

समरजङ्ग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र मालपोत कर्मचारी धर्म गौतम काठमाडौं जिल्ला अदालतको आदेशानुसार रिहा भएका सीआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनीहरू उमेर र स्वास्थ्यको कारण देखाएर रिहा भए। हिरासतमुक्त भए पनि अन्य आरोपीलाई अदालत लैजाँदा उनीहरूलाई समेत उपस्थित गराउन अदालतले भनेको छ। अन्य आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले म्याद थप गरेको छ।

सरकारी जग्गा अनियमितता प्रकरणमा सीआइबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।

यसै प्रकरणमा अन्य व्यक्तिहरूमाथि पनि आवश्यक प्रमाण खोजिरहेको सीआइबीले पूर्व प्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग पनि बयान लिने तयारी गरेको जनाएको छ। पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग भने सीआइबीले बयान लिइसकेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.